२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

‘असारे विकास’ रोक्न ताते जनप्रतिनिधि

प्रकाश अधिकारी

सुर्खेत — माघ पहिलो सातादेखि उपभोक्ता समिति गठन । मसान्तसम्म सम्झौता र फागुनबाट विकास निर्माणको काम सुरु गरिन्थ्यो । समय अभावले असारसम्म योजना अधुरै रहन्थे ।

‘असारे विकास’ रोक्न ताते जनप्रतिनिधि

बजेट सक्नलाई हतार–हतारमा गुणस्तरहीन काम हुने गथ्र्यो । त्यही भएर ‘असारे विकास’ ले थुपै्र स्थानीय तह बदनाम कहलिएका छन् ।


बर्खामा हतारहतार बजेट सक्ने प्रवृत्तिलाई निरुत्साहित पार्न यहाँको लेकबेंसी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू यतिबेला टोल–टोलमा उपभोक्ता समिति गठन गर्न व्यस्त छन् । नगरपालिकाले १० वटै वडामा दसैंअगावै समिति गठन गरिसक्ने लक्ष्य लिएको छ । वडा नम्बर ५ का अध्यक्ष खडबहादुर रास्कोटी र वडा सदस्य पर्शुराम मस्र्यांगी मंगलबार बिहान फालिकोट डाँडामा भेटिए ।


स्थानीयलाई खबर गर्दै यहाँ पुगेका उनीहरूले उपभोक्ता समिति गठन गरेर दसैं अगावै सम्झौता गरिसक्ने कार्ययोजना सुनाए । ‘असारे विकास रोक्न अहिल्यैदेखि काम थालनी गर्ने कार्यपालिकाको निर्णय छ,’ वडाध्यक्ष रास्कोटीले भने, ‘टोलमा जति योजना छन् ती सबैको एउटै उपभोक्ता समिति बन्छ, त्यही समितिकै अगुवाइबाट टोलमा आएको बजेट खर्च गर्दै छौं ।’


योजनापिच्छे उपभोक्ता समिति गठन हुँदा प्रशासनिक खर्च बढ्ने भएकाले टोलमा एउटा मात्रै समिति गठन गर्न लागिएको हो । ५ नम्बर वडामा दुई टोल छन्– फालिकोट र डाँडागाउँ ।

फालिकोटमा प्राथमिक विद्यालयको फिल्ड निर्माण, सिंचाई, खानेपानी र सडक तथा डाँडागाउँमा मेला स्थल निर्माण, दुईवटा सडक र विद्यालय भवन योजना छन् । वडापालिकाले आयोजना निर्माण सम्पन्न गर्न मंगलबार दुई वटा उपभोक्ता समिति गठन गर्‍यो । फालिकोट आयोजनाको अध्यक्ष प्रेमबहादुर पौडेल र डाँडागाउँको अध्यक्षमा खगीसरा पंगाली । उनीहरूकै नेतृत्वका दुई अलग(अलग समितिले वडापालिकासंग योजनाको सम्झौता, बजेट/उपभोक्ता परिचालन गरेर समयमै आयोजना सम्पन्न गर्नेछ ।


वडाध्यक्ष रास्कोटीले यसपटकदेखि वडा कार्यालयमै योजनाहरूको सम्झौता हुने बताए । स(साना योजनाको सम्झौता गर्न नगरपालिकाकै कार्यालयमा पुग्दा उपभोक्ताले अनावश्यक दु:ख भोग्नुपरेको थियो । ‘समय र पैसा पनि बढी खर्च हुन्थ्यो, यसपटकदेखि यहाँ (वडा) बाटै सम्झौता गर्दैछौं’ उनल भने । वडा सदस्य पर्शुराम मस्र्यांगीले दसैं अगाडिसम्म सम्झौतालगायत आधारभूत तयारी सबै पुरा गरेर कात्तिकबाट निर्माणको काम सुरु गरिने बताए ।


उपभोक्ताले योजनाको भुक्तानी लिन अघिल्ला वर्षहरूजस्तो सदरमुकाम वीरेन्द्रनगर धाउनुपर्दैन । लेकवेशी नगरपालिकाकै दशरथपुरमा प्राइम कर्मशियल बैंक छ । प्राविधिकको कार्य सम्पन्न प्रतिवेदनका आधारमा फाष्ट ट्रयाकबाट भुक्तानीको व्यवस्था मिलाइएको छ ।


कार्यवाहक नगरप्रमुख शान्ति छन्तेलले पहिलो चौमासिकबाटै आयोजना निर्माणको काम सुरु गरिसक्ने बताइन् । ‘यसपटक समयमै योजना सम्पन्न हुन्छन्, विगतमा जस्तो असार( साउनमा विकास निर्माणको भुक्तानी गर्नुपर्ने अवस्था आउनेछैन्, उनले भनिन्, ‘सडक पहिलो प्राथमिकता भएकाले त्यसको गुणस्तरलाई विशेष ध्यान दिएका छौं ।’ समिति गठन भएर दसैं अगावै कार्य सञ्चालन सम्झौता भइसक्ने उनको दाबी छ ।

प्रकाशित : आश्विन १२, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?