२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

६७ लाख ब्लड मनी तिरेपछि फर्के दिलबहादुर

काठमाडौँ — ६७ लाख रुपैयाँ ब्लड मनी (क्षतिपूर्ति रकम) तिरेपछि साउदी अरेबियामा जेलजीवन बिताएका दिलबहादुर घर्ती स्वदेश फर्केका छन् । 

६७ लाख ब्लड मनी तिरेपछि फर्के दिलबहादुर

रोल्पा जिल्लाको रोल्पा नगरपालिका–१० धबाङ पेवा गाउँका ३० वर्षीय दिलबहादुर दुई वर्षअघि साउदीको राजधानी रियादमा जेल परेका थिए । दिलबहादुर यसै सेप्टेम्बर ५ तारिख (भदौ २१ गते) जेलमुक्त भएका हुन् । ब्लड मनी तिरेको ३७ दिनपछि उनी नेपाल आइपुगेका हुन् ।


शनिबार बिहान १० बजे दिलबहादुरकी श्रीमती मनिका, दुई छोराछोरी, आफन्तलगायत दिलबहादुर बचाउ अभियानमा जुटेका अभियन्ताहरुले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुष्पगुच्छा, फूलमाला र खादा ओढाएर स्वागत गरे । शुक्रबार रोल्पाबाट रात्रि बसको लामो यात्रा गरी शनिबार बिहान काठमाडौं आएका मनिका र उनका छोराछोरी थकाइका बीच पनि निकै खुसी देखिएका थिए ।


साउदीस्थित नेपाली दूतावासको प्रतिनिधिको रोहबरमा दिलबहादुर रिहा भएका हुन् । दिलबहादुर रियादस्थित मजेद अलदियाबही कन्ट्राक्टिङ एण्ड इस्ट नामक कम्पनीमा ट्रकचालकको रुपमा कार्यरत थिए । साउदी छिरेको ३ महिनामै २०१६ जुन १३ तारिखका दिन दिलबहादुरले चलाउँदै गरेको ट्रकले साउदी नागरिक मोटेबबिन अतिखबिन दअफाको कारलाई ठक्कर दिँदा ती साउदी नागरिकको मृत्यु भएपछि उनी जेल चलान भएका थिए ।


साउदी नागरिक मृत्यु अभियोगमा त्यहाँको अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाएको थियो । अदालती फैसलाबमोजिम उनीरियादमा बन्दी जीवन बिताइरहेका थिए । अदालतले तोकेको ब्लड मनी साउदी रियाल २ लाख २५ हजार सम्बन्धित मृतकको परिवारलाई तिरे मात्र रिहाइ हुने अवस्था थियो । यति धेरै रकम उनी र उनको परिवारले केही गरी पनि तिर्न सक्ने ल्याकत थिएन । आर्थिक अवस्था कमजोरका कारण नेपाली रकम ६७ लाख रुपैयाँ तिर्न नसक्दा जेलमै रहनु परिरहेको समाचार सार्वजनिक भएपछि उनलाई कैदमुक्त गर्न ब्लड मनी संकलन सुरु गरिएको थियो ।


उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेश पुनको संयोजकत्वमा ४१ सदस्यीय दिलबहादुर बचाउन ब्लड मनी संकलन अभियान समिति गठन गरी स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग रकम संकलन गरिएको थियो । उनका लागि १ करोड ४ लाख २६ हजार रुपैयाँ ब्लड मनी संकलन भएको थियो । आवश्यकता भन्दा ३७ लाख २६ हजार रुपैयाँ बढी रकम उठेको हो । बाँकी रहेको रकमका सवालमा सोमबार दिउँसो पत्रकार सम्मेलन गरी जानकारी गराइने समितिका सचिव जीवनप्रवेश रोकामगरले बताए ।


जेल जीवनबाट छुटकारा भएपछि दिलबहादुरले नयाँ जीवन पाएको बताए ।

प्रकाशित : आश्विन ७, २०७५ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?