२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

वैदेशिक रोजगारीको पीडा : चार वर्षदेखि कोमामा

होम कार्की

काठमाडौँ — ‘बिरामीलाई छुन–चलाउन पाइँदैन । टाढैबाट हेर्नुहोला ।’ वार्ड छिर्ने बेला नर्सले फेरि सचेत गराइन्, ‘मास्क र पञ्जा लगाएर मात्रै भित्र जानुस् ।’ वार्ड यति सुनसान थियो कि नर्सको सानो स्वर पनि ठूलो सुनिइरहेको छ ।

वैदेशिक रोजगारीको पीडा : चार वर्षदेखि कोमामा

म कोठा नम्बर ४ अगाडि उभिएको छु । यसलाई निकै संवेदनशील कोठा मानिएको छ, भित्र ओछ्यानमा निदाइरहेका एक युवकका कारण । नाम कुमार फगामे, उमेर २५ वर्ष । चार वर्ष भयो, कुमार यो ओछ्यानबाट उठेका छैनन् ।

दुवै हात छातीमा टाँसेर उत्तानो पल्टिएका छन् उनी । खुट्टा खुम्चिएका छन् । दाइने बूढी औंलामा एउटा क्लिप जोडिएको छ । क्लिपसँग एउटा सानो तार पनि गाँसिएको छ । त्यो तार प्रेसर नाप्ने यन्त्रमा जोडिएको छ । बायाँ हातमा सलाइन । सबै खाना यही सुईबाट शरीरभित्र जान्छ ।

यो दृश्य हो, दुबईबाट झन्डै तीन सय किमि पश्चिम, मदिनट जायद सेन्टर फर रिहाबिटेसन एन्ड केयरको । कुमारको शरीरमा कतै चोट लागेको देखिन्न । ‘कसैले पहिलोचोटि झ्वाट्ट देख्दा केही भएको छैन जस्तो लाग्छ,’ मदिनट अस्पतालमा कार्यरत स्याङ्जाका विमल पौडेलले भने, ‘अनुहार यस्तो तेजिलो छ । कोमामा छ भन्दा कसले विश्वास गर्छ ?’

विमलको आवाज निस्कनासाथ कुमारले जोड गरी आवाज निकाले । सायद, कुमार विष्णुको आवाज चिन्छन्, उनको भाषा बुझ्छन् । यो अस्पतालमा कुमारले आफ्नै ठानेका मान्छे विष्णु नै होलान्, जसको एक छिनको उपस्थितिले पनि उनको शरीर चलमलाउँछ । ‘म दिन बिराएर कुमारलाई हेर्न आउँछु । कस्तो छ भनेर बोलाउँछु । उसले हेर्छ मात्रै । मलाई देख्नेबित्तिकै आवाज निकाल्छ । हातखुट्टा बटारिन्छन् । केही भन्न खोजेजस्तो लाग्छ । नबोले पनि कुरा बुझ्न सक्छजस्तो लाग्छ,’ विमलले भने । एक छिन कुमारलाई हेरेर विमलले अन्दाज गरे, ‘घर फर्किएर परिवार भेट्ने इच्छा उसलाई पनि होला ।’

कुमारलाई घर फर्काउन उनकी आमा अतिमा झन् व्यग्र छिन् । ५५ वर्षीया उनी जेठो छोरो बिरामी भएको खबर पाएदेखि नै छटपटीमा छिन् । ‘दाइको चिन्ताले आमाको बेहाल भइसक्यो,’ बहिनी धनमाया भन्छिन्, ‘सधैँ दाइ ल्याइदे, ल्याइदे मात्रै भन्नुहुन्छ ।’ अतिमा पर्वतको मोदी गाउँपालिका–४ क्याङ गाउँबाट बाहिर निस्केकी छैनन् । कुमार यूएईमा बिरामी पर्दा उनका भाइ भीम कतारमा थिए । ‘आमा र म काठमाडौं जान सकेनौं, म्यानपावरमा कुरा गर्न आमाले मामालाई पठाउनुभयो,’ धनमायाले सुनाइन्, ‘मामालाई म्यानपावरले अहिले कम्पनीले नै उपचार गरिरहेको बताएपछि फर्किनुभयो ।’

आमाको अवस्था बिग्रँदै गएपछि कतारबाट कान्छा छोरा भीम फर्के । अहिले उनी घरै बसेर आमाको रेखदेख गरिरहेका छन् । ‘कमाउने एउटा दाइको अरबमा सास मात्रै बाँकी छ, अर्को दाइ गाउँमै आमालाई हेरेर बस्नुपरेको छ,’ धनमायाले टेलिफोनमा दु:ख व्यक्त गरिन्, ‘गरिबलाई अरबले झन् गरिब बनायो ।’ गाँउको घर पनि भत्किएकाले आफूहरू ठूलीआमाको घरमा बसिरहेको धनमायाले बताइन् । कुमार के कारण कोमामा पुगे, कसैलाई थाहा छैन । १ जुलाई २०१५ । उनी यूएई गएको २२ महिना पुग्दै थियो । अघिल्लो दिनमात्रै आमालाई फोन गरी दुई महिनापछि घर आउने बताएका थिए । परिवारलाई कुमार खसेर बेहोस भएको मात्रै खबर आयो । कहाँबाट, के कारण खसे, जानकारी छैन । ‘काम गर्ने ठाउँमा ढलेका हुन् कि क्याम्पमा, केही थाहा छैन,’ भीमले भने ।

कुमारलाई नेपाल ल्याउन धेरै कोसिस गरे पनि नसकेको धनमाया र भीम बताउँछन् । ‘हामी सानै छँदा बुबा बित्नुभयो, उहाँ बुबा भइदिए दाइलाई झिकाइसक्नुहुन्थ्यो होला,’ धनमायाले भनिन्, ‘जहाँ पुगे पनि सबैले चाँडै हुन्छ, कोसिस गर्छौं मात्रै भन्छन् ।’ यूएई पुगेका बेला खानेपानीमन्त्री बिना मगरले पनि कुमारलाई भेटेकी थिइन् । उनले परिवारलाई सम्पर्क गरी उनलाई ल्याउन सहयोग गर्ने आश्वासन दिइन् । ‘यसबाट हामीलाई केही आशा जागेको छ,’ धनमायाले भनिन् ।

मदिनट अस्पताल पनि कुमारलाई घर पठाउन चाहन्छ । तर कोमामा रहेका बिरामीलाई नेपाल ल्याउन सजिलो छैन । यूएईका कार्यवाहक राजदूत सागर फुयाल भन्छन्, ‘मेडिकल स्कर्टिङमा एयर एम्बुलेन्समा लैजाने खर्च र नेपालको कुन अस्पतालले उपचार गर्ने हो, यसको जिम्मेवारी लिनुपर्छ ।’ परिवारसँग आफ्नै खर्चमा ल्याउने हैसियत छैन । क्याङ गाउँमा कोदो र भटमास फल्ने बारी बेच्दा टिकट खर्च पनि जुटदैन । कुमारले काम गर्ने सियोङ कन्स्ट्रक्सन कम्पनी उपचारमै धेरै खर्च भइसकेकाले एयर एम्बुलेन्सको खर्च धान्न नसक्ने भन्दै पन्छिएको छ ।

दूतावासले खर्च बन्दोबस्त गरिदिन वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई अनुरोध गरेको छ । तर, बोर्डले जवाफ दिएको छैन । बोर्डमा कामदारको कल्याणकारी कोष छ । ‘खाडीमा कोमामा रहेका बिरामीलाई नेपाल ल्याई उपचार गर्न स्वास्थ्य मन्त्रालयले एउटा निर्देशिका बनाएको छ’, बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले भने, ‘निर्देशिका बनिसकेपछि कोमाको बिरामी ल्याउन सरकारले रकम उपलब्ध गराउँछ ।’

प्रकाशित : आश्विन ६, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?