आत्मरक्षा सिक्दै किशोरी

नवीन पौडेल

परासी — बालिका र किशोरीले आफूमाथि आक्रमण भए कसरी प्रतिरक्षा गर्ने ? पश्चिम र पूर्वी नवलपरासीमा प्रतिरक्षा तालिम नै सुरु हुन थालेको छ । दिनदिनै बढेका हिंसा र बलात्कारका घटनाबाट जोगिन टोल–टोलमै यस्तो अभियान थालिएको हो ।

पश्चिम नवलपरासीमा आयोजित किशोरी आत्मरक्षा तालिममा सहभागीहरू । तस्बिर : नवीन

महिला हिंसाबारे चेतना जगाउने र परिआए प्रतिकार गर्न सक्ने बनाउने उद्देश्यले सञ्चालित तालिममा कुन संवेदनशील अंगमा प्रहार गर्दा आफू उम्किन सकिन्छ र गोप्य अंगको सुरक्षाका लागि के गर्ने भन्ने सिकाउने गरिएको छ ।

सरकारी सहकार्यमा सञ्चालित पहुँच कार्यक्रमअन्तर्गत नवलपरासीका बाल क्लब प्रतिनिधि र युवा क्लबमा आबद्ध किशोरीलाई आत्मरक्षा तालिम दिइएको हो । तालिम लिइसकेका किशोरीले अहिले गाउँघरमा अभियान नै चलाएका छन् । उनीहरूलाई गल्र्स किकका अध्यक्ष नीरज न्यौपानेसहितको विज्ञ टोलीले प्रशिक्षण दिएको छ ।

तालिममार्फत शारीरिक प्रतिरक्षाका साथै महिला हिंसाका कारण, कानुनी उपचार र अन्यायमा परे कसरी न्यायका लागि लड्न सकिन्छ भन्ने विषयमा पनि परामर्श दिइएको छ । धम्क्याएर बलात्कार प्रयास भए प्रतिरक्षाका लागि किशोरीको मनोबल उच्च पार्न के–कस्ता उपाय अपनाउन सकिन्छ भन्नेबारे किशोरीलाई सिकाइएको छ । आत्मबल उच्च राखेर तत्काल उम्कन सकिने गरी आक्रमण गर्ने तरिकाका विषयमा शारीरिक प्रशिक्षण दिइएको न्यौपानेले बताए ।

आफ्नो क्षमता आफूले पहिचान गर्ने, हिंसाका किसिम के–के हुन्, परिस्थितिजन्य अवस्थामा आफूलाई कसरी सुरक्षित गर्न सकिन्छ र कानुनी उपचारका लागि कहाँ जाने भन्ने विषय प्रशिक्षणका मूल सिकाइ भएको उनले जनाए । तालिममा सहभागी किशोरीले आफ्नो विद्यालय, कलेज, क्लब तथा समुदायमा गएर आ–आफ्नो क्षेत्रका बालिका, किशोरी तथा महिलालाई प्रशिक्षण दिने गरेका छन् ।


रामग्राम नगरपालिका–१ की २२ वर्षीया रेनुका चौधरी दुई पटक आत्मरक्षा तालिममा सहभागी भइन् । महिला हिंसा नबुझेकी उनी अहिले अभिभावकलाई महिला हिंसा, किशोरी सुरक्षा र मनोवैज्ञानिक परामर्श दिन सक्ने भएकी छन् । उनीसहित १५ जनाले किशोरी आत्मरक्षा समूह नै गठन गरेका छन् ।

उनीहरूले बलात्कारबाट कसरी बच्न सकिन्छ, प्रतिरोध कसरी गर्ने र यो जघन्य अपराध हो भन्ने गाउँ–गाउँमा बुझाइरहेका छन् । आफ्नो समूहले यस्ता अमानवीय कार्य कसैले पनि गर्नु हँ‘दैन भन्ने सन्देश दिइरहेको रेनुले बताइन् । ‘पहिलेपहिले एक्लै हिँडदा कसैले दुव्र्यवहार गर्छ कि भन्ने डर लाग्थ्यो, प्रतिरोध गर्ने आत्मविश्वास थिएन,’ उनले भनिन्, ‘अहिले यस्ता घटना रोक्न समाजमा कस्तो सचेतना फैलाउनुपर्छ भन्ने जानकारी भएको छ ।’ कसरी सुरक्षित हुने भन्ने शारीरिक र मानसिक उपायबारे पनि सिकाइरहेको उनले बताइन् ।

उनीजस्तै यस क्षेत्रका किशोरीले अभिभावक, महिला अधिकारकर्मी र पुरुषको सहायतामा बलात्कार र महिला हिंसाविरुद्ध अभियान चलाउनुका साथै शारीरिक प्रशिक्षणसमेत दिइरहेका छन् । बालअधिकार र युवा सचेतना अभियानकर्ता दीपक शर्माले किशोरीको अभियान प्रभावकारी भएको बताए । विभिन्न संघसंस्था, सुरक्षा निकाय र स्थानीय सरकारले पनि यस अभियानलाई साथ दिएका कारण स्थानीयमा सचेतना फैलिएको छ ।

प्रकाशित : आश्विन ४, २०७५ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्

डराउँछन् निर्मलाका साथी

भवानी भट्ट

कञ्चनपुर — निर्मला पन्तको हत्या भएको दुई महिना पुग्न लाग्यो । घटनापछि उनका सहपाठीसमेत भयभीत छन् । कक्षाकोठामा बसे पनि पढ्न सकिरहेका छैनन् । स्कुल आउँदा, जाँदा र कक्षाकोठामा बस्दा सोही घटना मनमा खेल्ने गरेको उनीहरू बताउँछन् ।

भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । उनी सरस्वती उच्च मावि, खोल्टीमा कक्षा ९ मा पढ्थिन् ।

‘हामी सानैदेखि सँगै पढ्थ्यौं, सँगै खेल्थ्यौं,’ ९ कक्षामै अध्ययनरत जानकी भट्टले भनिन्, ‘उनी नहुँदा पढ्न मनै लागिरहेको छैन, स्कुल पनि नआउँm जस्तो लाग्छ ।’ जानकी र निर्मला एउटै बेन्चमा बस्ने २ कक्षादेखिका साथी हुन् । कक्षाकोठा अगाडि निर्मलाले बनाएका केही चित्र छन् । भित्र पस्नेबित्तिकै ती चित्र देख्दा उनकै यादले सताउने सहपाठीको भनाइ छ । निर्मला र जानकीले शिक्षिका वा नर्स बन्ने सोच बनाएका थिए । त्यही भएर उनीहरू दुवैको कुरा मिल्थ्यो ।

कतिपय विद्यार्थी निर्मलाको शव भेटिएको उखुबारी छेउको बाटो हिँड्नै डराउँछन् । ‘त्यहाँ पुग्नेबित्तिकै झसंग भइन्छ,’ भीमदत्त नगरपालिका–१८ भगतपुरबाट त्यही बाटो स्कुल आउने लक्ष्मी बडुले भनिन्, ‘एक्लै आउन डर लागेर साथीहरू समूहमा मात्रै आउँछौं ।’ निर्मला मिलनसार थिइन् । शिक्षकमाझ पनि उनी अनुशासित र लगनशील विद्यार्थी थिइन् । ‘एक महिनासम्म त सरहरूले पढाउनै सक्नुभएन,’ लक्ष्मीले भनिन्, ‘जतिबेला पनि त्यही झल्को आएर उत्तरपुस्तिकासमेत जाँच गर्न सक्नुभएन ।’

कक्षा ९ मा ६४ विद्यार्थी छन् । छात्र र छात्राको संख्या आधा–आधा छ । छात्रभन्दा पनि छात्रामा यो घटनाले बढी असर पारेको शिक्षिका तृप्ति विष्ट बताउँछिन् । उनका अनुसार विद्यार्थीमा एक किसिमको त्रास कायमै छ । ‘एक/दुई जना छात्रा त सधैं ढिला हुन्छन्,’ उनले भनिन्, ‘बिहान एक्लै आउन डर लागेर अलि ढिला आउने गरेको कुरा खुल्यो ।’ अहिले विद्यालय ७ बजे लाग्ने गरेको छ ।

घटना भएको डेढ महिनाभन्दा बढी बितिसक्यो । अझै पनि वास्तविक अपराधी पत्ता नलाग्दा छात्रछात्रा त्रासमा रहेको शिक्षिका विष्टले बताइन् । अनुसन्धानका क्रममा प्रहरीले छात्रछात्रालाई पटकपटक बोलाउँदा उनीहरूमा मनोवैज्ञानिक असर परेको उनको भनाइ छ । ‘हामीलाई पनि विद्यालयबाट ड्रेसमै प्रहरीसँग विद्यार्थी पठाउन निकै समस्या हुन्छ,’ उनले भनिन्, ‘अभिभावकसँग कुरा गरेर मात्रै पठाउने गरेका छौं ।’ एक जनालाई प्रहरीले लगेपछि अरू विद्यार्थी पनि आफ्नो पालो आउने डरले विद्यालय नै नआउने समस्या बढेको छ ।

अनुसन्धानका लागि भन्दै प्रहरी पटकपटक विद्यालयमा आउँदा पढाइको वातावरण बिग्रिएको शिक्षकहरू बताउँछन् । चाँडो अनुसन्धान सके समस्या समाधान हुने उनीहरूको बुझाइ छ । ‘दोषी पत्ता लागेर कारबाही नहुँदासम्म निर्धक्क भएर छात्रछात्रालाई सम्हाल्न सकिने अवस्था छैन,’ प्रधानाध्यापक जगन्नाथ पाण्डेयले भने, ‘२५ प्रतिशत विद्यार्थी त्यही बाटो भएर स्कुल आउजाउ गर्छन् ।’ उनले घटनायता बालबालिकालाई कसरी त्रासबाट मुक्त गराउने भन्ने चिन्ता रहेको बताए ।

प्रकाशित : आश्विन ४, २०७५ ०७:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्