१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

किशोरी बलात्कार र हत्या प्रकरण : समिति थपिँदै, अनुसन्धान शून्य 

महेन्द्रनगर — कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ महिना हुनै लाग्यो । साउन १० गते बलात्कारपछि उनको हत्या भएको थियो । साउन ११ गते निर्मलाको शव गाउँनजिकैको उखुबारीमा फेला परेको थियो ।

किशोरी बलात्कार र हत्या प्रकरण : समिति थपिँदै, अनुसन्धान शून्य 

साउन ११ देखि नै अनुसन्धानमा जुटेको कञ्चनपुर प्रहरीले अहिलेसम्म घटनामा संलग्न अपराधीबारे कुनै ठोस प्रमाण जुटाउन सकेको छैन ।


‘अझैसम्म खासै ठोस प्रमाण फेला पर्न सकेन,’ कञ्चनपुरका प्रहरी प्रमुख कुबेर कडायतले भने, ‘गहन ढंगले अनुसन्धान भइरहेको छ तर अपराधी को हुन् भन्ने स्पष्ट भइसकेको छैन ।’ उनले अनुसन्धानमा संलग्न टोलीले घटनाबारे विभिन्न माध्यमबाट प्राप्त हुने सूचनालाई पछ्याउँदै सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको दाबी गरे । ‘पत्रपत्रिका, सामाजिक सञ्जाल, बजारका चर्चासमेतलाई सूचना मानेर प्रहरीले अनुसन्धान गरिरहेको छ,’ उनले भने ।


अपराधी पत्ता लाग्न जति ढिलो हुँदै गएको छ, त्यहीअनुरूप दिनहुँजसो विभिन्न कोणबाट थप आशंका देखा पर्न थालेका छन् । पछिल्लो घटना क्रममा प्रहरी हेडक्वाटरले जसरी एकपछि अर्को उच्च अधिकृत नेतृत्वमा छानबिन समिति गठन गर्दै गएको छ, त्यसबाट घटनाको सुरुको अनुसन्धानमा व्यापक त्रुटि भएको छर्लंग हुँदै गएको देखिन्छ ।


प्रहरी नायब महानिरीक्षक धीरु बस्न्यात नेतृत्व समितिलाई घटनाको प्रारम्भिक अनुसन्धानमा संलग्न सबै दर्जाका प्रहरीमाथि छानबिन गर्ने काम तोकेपछि यतिबेला प्रहरीलाई संगठनभित्रका प्रमाण नष्ट गर्ने दोषी पत्ता लगाउने काम पनि थपिएको छ ।


‘हो, अहिले तत्कालीन एसपीका अंगरक्षक, गाडी चालकदेखि निर्मला घटनाको सुरुको अनुसन्धानमा संलग्न र मुद्दासँग संलग्न रहेका सबै तहका प्रहरीलाई केन्द्रमा झिकाइएको छ,’ एसपी कडायतले भने, ‘उनीहरू केही काठमाडौंमै थिए, केही सोमबारै जाँदैछन् ।’


उनका अनुसार सबै मिलाएर करिब १५ जनाजति केन्द्रमा झिकाइएका हुन् । प्रारम्भिक अनुसन्धानमा प्रहरीले प्रमाण नष्ट गरेको आरोपका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग, गृहका सहसचिव नेतृत्वको उच्चस्तरीय टोली तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वयंले महेन्द्रनगरमा पत्रकार सम्मेलन तथा सार्वजनिक कार्यक्रममै उल्लेख गरेका हुन् ।


घटनाका सम्बन्धमा जनचासोको विषय भने सुरुको अनुसन्धानदेखि नै प्रमाणहरू ढाकछोप र नष्ट गर्ने काम किन र कसलाई जोगाउन गरिएको हो भन्नेतिर नै केन्द्रित रहेको छ । घटनाको वास्तविकता पत्ता लगाउनेभन्दा विभिन्न समिति र उपसमिति गठन गर्नमै समय खेर गइरहेको पनि स्थानीयको आरोप छ ।


घटनाको अनुसन्धान अधिकृत कञ्चनपुर प्रहरीका डीएसपी कृष्णराज ओझा पनि विभिन्न कोणबाट अनुसन्धान भइरहे पनि अझै नजिक पुग्न नसकिएको बताउँछन् । ‘हामीले शंकास्पद व्यक्तिहरूसँग सोधपुछ गर्ने, निगरानी गर्ने काम गरिरहेका छौं,’ डीएसपी ओझाले भने, ‘तर हामी अझै पनि घटना नजिक पुग्न सकेका छैनौं ।’


घटनास्थल नजिकै नेपाली सेनाको ब्यारेक छ । स्थानीयले घटनामा सेनाकै व्यक्तिको हात हुन सक्ने आशंकासमेत गरेका छन् । तर प्रहरीले अहिलेसम्म त्यतातिर अनुसन्धान सुरु नगरिएको जनाएको छ । ‘आवश्यक परे सेनातर्फ पनि अनुसन्धान सुरु गर्न सकिन्छ,’ ओझाले भने, ‘अहिलेसम्मको अनुसन्धानले त्यस्तो आवश्यकता देखाएको छैन ।’


प्रहरीले डीएनए परीक्षणका लागि नमुना लिइएको निलम्बित एसपी डिल्लीराज विष्टका छोरा किरण र महेन्द्रनगरकै स्थानीय आयुष विष्टलाई पनि निगरानीमा राखिएको ओझाले बताए । उनीहरू महेन्द्रनगरमै रहेको र यहींबाट नमुना लिएर प्रहरी प्रधान कार्यालय पठाइएको छ ।


यही घटनाको अनुसन्धानका लागि एसएसपी नेतृत्वको केन्द्रीय अनुसन्धान ब्युरो र प्रहरी प्रधान कार्यालयको टोलीसमेत यहीं काम गरिरहेको छ । यसका साथै आइतबारमात्रै डीआईजी नेतृत्वमा ९ सदस्यीय छानबिन तथा अनुसन्धान टोली गठन भएको छ । तर समिति थपेर पनि अनुसन्धानमा खासै प्रगति भएको विगतमा पनि नदेखिएको स्थानीय बताउँछन् । यद्यपि डीआईजी नेतृत्व टोली भने अनुसन्धानका क्रममा प्रमाण ढाकछोप र नष्ट गर्ने प्रहरीमाथि छानबिन गर्न गठन गरिएको जनाइएको छ ।


‘समिति र टोलीमात्रै थपेर हुँदैन, अनुसन्धान संवेदनशील हुनुपर्‍यो,’ नागरिक समाज कञ्चनपुरका संयोजक भवराज रेग्मीले भने, ‘बलात्कारपछि हत्या गरिएको घटना अनुसन्धानमा पनि यत्तिको लापरबाही हुनु ठूलो कमजोरी हो ।’ उनले प्रशासनिक निकायले सक्षमता देखाउने बेलासमेत भएकाले घटनाको सत्यतथ्य अनुसन्धानसँगै यसमा लापरबाही गर्नेमाथि समेत कारबाही अगाडि बढाउनुपर्ने बताए । लापरबाही गर्नेबाट पनि केही खुल्न सक्ने उनले बताए ।


घटनालगत्तै देखापरेका निर्मलाका मामा नाता पर्ने तीर्थराज भण्डारी दाहसंस्कारपछि बेखबर छन् । सुरुमा हत्यारा पत्ता नलागेसम्म दाहसंस्कार गर्नुहुँदैन भन्ने उनी दोस्रो दिन आफैं एक्लै भए पनि भान्जीको दाहसंस्कार गर्छु भनेर तम्सिएका थिए । दिदी र भिनाजु (निर्मलाका बुवाआमा) छोरीका लागि न्याय माग्न काठमाडौं पुगेका छन्, तीर्थराज भने मोबाइल स्वीचअफ गरेर पहाड घर बुडर पुगेका छन् ।


कञ्चनपुरका प्रहरी प्रमुख एसपी कडायत तीर्थराजसँग सामान्य सोधपुछदेखि टेलिफोन कल डिटेल लिने काम भएको बताउँछन् । ‘शंका लाग्ने आधार चाहियो, आधार देखिए अनुसन्धानको दायरामा ल्याउँछौं,’ उनले भने ।


प्रकाशित : आश्विन १, २०७५ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?