कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

‘उपचार सुरु नगरी रिफर गर्नु लापरबाही’

चितवन — विषालु सर्पबारे विद्यावारिधि र सर्पदंश उपचारमा अनुसन्धान गरिरहेका देव पाण्डेले सर्पले डसेका बिरामीको उपचार सुरु नै नगरी रिफर गर्नु गम्भीर लापरबाही हुने बताएका छन् ।

‘उपचार सुरु नगरी रिफर गर्नु लापरबाही’

सर्पले डसेर उपचार नपाउँदा बुधबार राति भरतपुर १५ मंगलपुरका ३ वर्षीय सलिन विकको मृत्यु भएको थियो ।


सर्पदंशको उपचार भरतपुरस्थित सरकारी अस्पतालमा हुन्छ । बालकलाई आफन्तले उक्त अस्पताल सुरुमै लगेका थिए । तर बच्चा राख्ने पीआईसीयू अस्पतालमा नभएको र अरू आईसीयूसमेत खाली नभएको भन्दै निजी अस्पतालमा पठाएको थियो । ‘आईसीयू छैन भनेर उपचार नै सुरु नगरेको भए यो सामान्य गल्ती होइन, गम्भीर लापरबाही हो,’ सोमबार भरतपुरमा पत्रकारसँग पाण्डेले भने ।


भरतपुर अस्पतालले निकालेको विज्ञप्तिमा बच्चामा विषालु सर्पको डसाइको लक्षण देखिएको र उपचारमा एन्टी स्नेक भेनम (एएसभी) दिनुपर्ने र स्नायु प्रणालीमा विषले असर गर्दा पक्षघातको लक्षणसमेत आउन सक्ने भएकाले आईसीयू/पीआईसीयूमा राख्नुपर्ने उल्लेख छ । यो विषय बिरामीका आफन्तलाई भनेर नजिकको अस्पताल पठाएको पनि विज्ञप्तिमा जनाइएको छ ।


तर चार अस्पताल डुल्दा पनि आईसीयू वा पीआईसीयू नपाएपछि उनीहरू पुन: भरतपुर अस्पताल फर्केका थिए । त्यसपछि एएसभीसहित अत्यावश्यक सेवा सुरु गरे पनि बचाउन नसकेको मेडिकल सुपेरिटेन्डेन्ट डा. रविन खडकाद्वारा जारी विज्ञप्तिमा छ । अनुसन्धानकर्ता पाण्डे यसो गरेर अस्पतालले सुरुमै गल्ती गरेको बताउँछन् । लक्षण देखेपछि एएसभी दिनुपर्ने दायित्व चिकित्सकले पूरा नगरेको उनी बताउँछन् । ‘पहिला एएसभी दिने हो । त्यसपछि समस्या आउन सक्छ, त्यसको व्यवस्थापन के कसरी गर्ने भनेर तयार रहने हो । एएसभी दिँदा पक्षघातजस्तो लक्षण देखिने भनेको अरू होइन श्वास फेर्ने समस्या पर्छ भन्ने हो । यत्तिका लागि आईसीयू वा पीआईसीयू नै तत्कालै चाहिन्छ भन्ने होइन,’ पाण्डेले भने ।

बाटामै जान्छ प्राण
झापा (कास)– कचनकबल गाउँपालिका २ पथरियाकी सावित्रा भट्टराईको आँखा अझै ओभाएका छैनन् । सर्पले डसेर मृत्यु भएकी १४ वर्षीया साइँली छोरी पूजाको सम्झनाले उनी बेलाबेला भक्कानिन्छन् ।


पूजालाई भदौ १४ गते राति ओछ्यानमै विषालु सर्पले डसेको थियो । डसेको थाहा पाउनासाथ उनी आफैंले कपडाले खुट्टा बाँधेकी थिइन् । आँगनसम्म गाडी नआउने भएपछि बाटोसम्म हिंडेरै उनी पुगिन् । उनलाई तत्काल चारआलीस्थित सर्पदंश उपचार केन्द्र लगियो ।


बाटोको अवस्था खराब भएको र उपचार केन्द्र निकै टाढा भएकाले एकछिन अघिसम्म बोल्दै गरेकी पूजा अचेत भइन् । उपचार केन्द्रसम्म पुर्‍याउँदा उनको मुटुको चाल बन्द भइसकेको थियो । ‘बात मार्दै लगेको दुई घण्टापछि छोरीको शव बोकेर घर फर्किनुपर्‍यो,’ आमा सावित्राले भनिन् । कचनकबल २ पथरियाकै पवित्रा भट्टराईले पनि अढाइ महिनाअघि १५ वर्षीया छोरी तुलसा गुमाइन् । एसईई उत्तीर्ण गरेर नर्सिङ पढ्ने तयारी गरिरहेकी जेठी छोरी गुमाउँदा पवित्रा अहिले साथीविहीन भएकी छन् ।


तुलसालाई असार दोस्रो साता सुतिरहेकै अवस्थामा मध्यरातमा गोमन सर्पले डसेको थियो । तत्काल छिमेकीको मोटरसाइकलमा राखेर चारआलीतर्फ लैजाँदै गर्दा आधा बाटोमै उनको प्राण गएको थियो । जिल्लाको दक्षिण भेक साबिकका केचना, पथरिया, घेराबारी, पाठामारी, बालुबाडी, राजगढ, शरणामति, चकचकी, कुमरखोद, टाघनडुब्बालगायत क्षेत्रमा सर्पले डसेका अधिकांश बिरामीको बाटोमै ज्यान जान्छ । जिल्लामा सर्पदंश उपचार केन्द्रको कमी छैन । चारआली, कन्काई र दमकमा उपचार केन्द्र छन् ।

प्रकाशित : भाद्र २६, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?