२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

इराकमा बेचिएका नेपाली चेलीहरुको यसरी गरियो उद्धार

गाउँका चेलीहरुलाई दलालले गरिबी,अशिक्षाको फाइदा उठाएर भारतको बाटो हुँदै विदेशी भूमी पुर्‍याउँछन् । 
विद्या राई

काठमाडौँ — विदेशमा चरम यातना खेप्दै आएका तीनजना नेपाली चेलीहरुको सकुशल उद्धार भएको छ । पैसा कमाउन विदेशी भूमिमा पुगेका उनीहरुले नसोचेको यातना खेप्दै आएका थिए ।

इराकमा बेचिएका नेपाली चेलीहरुको यसरी गरियो उद्धार

सिन्धुपाल्चोक र सिन्धुलीका उनीहरुलाई वर्क फर नेपालको सक्रियतामा उद्धार गरिएको थियो । शुक्रबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको थियो । दलालले किर्गिस्तान र दुबई पठाउने भनी झुक्काएर उनीहरुलाई इराकको राजधानी बग्दाद पुर्‍याएका थिए ।


कसरी पुर्‍याइयो इराक ?

सिन्धुपाल्चोक, सताङ्की रञ्जना तामाङ (परिवर्तित नाम) को १७ वर्षको उमेरमा गाउँमा बिवाह भयो । छाेरी जन्मिइन् । उनका पति काठमाडौंमा सुरक्षा गार्डको काम गर्थे । उनीसँग हातमा सीप थिएन । पतिकै कमाइले घरव्यवहार धान्न कठिन भएपछि एकाएक विदेश जाने सपना बुनिन् । पतिसँग सल्लाह पनि भयो ।


गाउँकै आफन्त पर्ने एकजना दलालसँग चिनजान पछि ती एजेण्टले किर्गिस्तान पठाइदिने, घरायसी सामान्य काम गरेबापत तलब, सेवासुविधा र हरेक साता आफन्तहरुसँग भेटघाट गर्न पाउने भन्दै ललाइफकाइ गऱ्यो ।

तामाङ पतिपत्नी मक्ख भए । कति तलब पाउने, जाँदा के कति खर्च लाग्छ भन्ने कुरा उनलाई थाहा थिएन । त्यो कुरा दलालले पतिसँगमात्रै भनेका थिए । पतिकै सल्लाह पाएकाले त्यति चासो पनि लिइनन् ।


सपना ठूलै थियो । काखकी छोरी र परिवारलाई खुसी राख्ने । डेढवर्षकी छोरीलाई पतिको जिम्मा लगाएर हिड्दाको पिडा घरको आर्थिक अवस्था भन्दा पनि गुणौ पिडादायी बनेको थियो त्यो क्षण ।

उनी गाउँबाट काठमाडौं आइपुगिन् । जोरपाटीमा गाडी चढेपछि उनको विदेश यात्रा सुरु भयो । कलंकीमा पुगेपछि गाडी फेरियो । त्यसपछि भारतको बाटो हुँदै सात समुन्द्र पारी पुगिन् ।

नेपालबाट जानेबेला किर्गिस्तान पुर्‍याउने सपना देखाइएको भएपनि उनी पुगिन् इराकको बक्दाद । त्यतिबेला मात्रै उनलाई थाहा भयो कि एजेण्टले आफ्नो कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको रहेछ ।


सिन्धुपाल्चोक बाह्रबिसेकी २० वर्षीय साइली तामाङ र सिन्धुलीकी २४ वर्षीय अर्चना थापामगरको पिडा पनि रञ्जनाको जस्तै छ । भुकम्पले गर्दा उठिबास भएपछि जागिर खोज्दै काठमाडौं आइपुगेकी उनलाई पनि छिमेकीले नै विदेश पुर्‍याउने सपना देखायो ।

७० हजार खर्च लाग्ने भयो । काठमाडौं गलैँचा बुन्ने काम गर्दै बसेकी उनले सानीआमाको कानमा लगाएको सुन फुकालेर एजेण्ट नुर्बु तामाङलाई थमाइन् । नुर्बुले किर्गिस्तान पठाउने भनेका भएपनि भारत हुँदै इराकको बक्दाद पुगिन् ।


घरको आर्थिक अवस्था नाजुक भएकै कारण सिन्धुलीकी २४ वर्षीया रचना पनि एसएलसी पास गरेर ज्यामी काम गर्न काठमाडौं आइपुगिन् । दलाल सुर्य लामाले विदेशको सपना देखाए । आफ्नी पत्नी दक्षिण अफ्रिकामा रहेको मासिक ४०/५० हजार कमाइ हुने लालच देखाए । उनी पनि फुरुक्क परिन् । ज्यामी गर्नुभन्दा विदेशै बेस लाग्यो । घरकी जेठो सन्तान भएकाले आफू र परिवारको भविश्य उज्यालो पार्ने सपना बोकेर विदेश जान तयार भइन् ।


उनी नेपालबाट २०७४ फागुनमा भारत हुँदै गएकी थिइन् । दलालले सुरुमा नै सिधै जान नपाउने हुँदा भारतको बाटो हुदै जानुपर्ने भनेका थिए । उनी लगायत थुप्रै चेलीहरु भारत पुगे । त्यहाँ बसेका नेपालीहरुले उनीहरुलाई बेचेको संकेत दिएपछि उनले फर्कन चाहिन् ।


दलालले चार / पाँच लाख खर्च लागेको, फर्कने भए त्यो तिरेर मात्रै फर्कन पाउने भने । तिर्नसक्ने अवस्था थिएन । बाध्य भएरै जाने निधो गरिन् । यहाँबाट दुबई लैजाने भनिएको भएपनि इराक पुर्‍याइएको थियो ।


यातनाको सिकार

साइली भारत पुगेपछि दलाल सम्पर्कविहीन भयो । इराक पुगेको एक महिनामा घरमा बुवा बिते । फर्कन चाहिन् । मालिकले दिएनन् । दलालले कार्यालयमा काम पाउने, मासिक तलब पाँच सय डलर हुने भनेका थिए ।

उता पुगेपछि कथा बेग्लै भयो । ‘कमाउछु, परिवार पाल्छु भनेर विदेश गएको थिएँ तर बन्द कोठामा पुगेछु, न त भनेजस्तो तलब भयो, दु:ख र यातनाको कुरा त भनिसाध्य छैन ।’ उनले भनिन् । अफिसको नभएर घरायसी काम गर्नुपर्ने भयो । सुरुका १५ दिनजति काम सहजै थियो । त्यसपछि परिस्थिती फेरिदै गयो । महिलाले निर्वाह गर्नुपर्ने सबै काम गर्नुपथ्र्यो । जुन उनका लागि असह्य भयो ।

एक दिनमा दुई घरको काम गर्नुपथ्र्यो । तलब पाँच सय डलर भनिएपनि उनले तीन सय डलरको दरले मात्रै पाइन् । काम गरेको जस नपाएपछि नेपाली साथीहरुलाई आफ्नो दु:ख शेयर गरेकी थिइन् । यसबारे समाचारहरु आएपछि त्यो कुरा मालिकले थाहा पाएछन् । मोबाइल चलाउन नदिने, दिएपनि खोसिहाल्ने, पिट्ने, कुट्ने गर्थे ।


रञ्जनाले मुस्लिम समुदायको एक घरमा काम पाइन् । घरकोठा पुछ्ने, भाडा माझ्ने देखि महिलाले निर्वाह गर्नुपर्ने सबै काम गर्नुपथ्र्यो । नेपालमा जसरी फकाइएको थियो उता काम गर्न सजिलो थिएन । मालिककी पत्नीले अनेक आरोप लगाएर कुटपिट गर्ने, यातना दिने गर्थिन् । जुन असह्य भयो । उता जाँदा दुईवर्षभित्रै फर्कने सहमति भएको थियो ।

त्यतिन्जेल सहेर काम गर्ने र नेपाल फर्किहाल्ने निर्णय लिइन् । दुई वर्ष भएपछि फर्कन खोजिन् । मालिकले दिएनन् । तीन वर्षका लागि किनेर ल्याएको भन्दै थप तनाव दिए । र, त्यतिबेला मात्रै उनले आफू बेचिएको कुरा थाहा पाइन ।


यता गाउँमा झैभगडाको क्रममा पतिले ज्यान गुमाए । त्यसबेला पनि आउन खोजेकी थिइन । मालिकले जान दिएनन् । नेपालबाट पठाउने एजेण्ट सम्पर्क विहीन थिए । मालिकले परिवारसँग सम्पर्क गर्न दिदैनथे ।

दिनहरु यसरी नै बित्दै गए । तलब मासिक नेरु ३५ हजार पाउथिन् । तलब भन्दा धेरै उनले पीडा र यातना पाउथिन् । चार वर्ष पछि त्यहाँकै एजेन्टले उनलाई अर्को घरमा बेच्यो । त्यहाँ पनि यातना उत्तिकै थियो ।


रचनालाई दलालले वेटरको काम पाउने भनी फकाएको भएपनि घरायसी काम लगाइएको थियो । रातदिन गरेर छ वटा परिवारको काम गर्नुपथ्र्यो । कुटपिट र यातना त सामान्य भइसकेका थिए । विरामी हुँदा पनि आराम गर्न पाउनुको साटो तातो तेलले खन्याएर जिउमा डाम्नेसम्मको सजाय भोग्नुपथ्र्यो । दाग अझै पनि देखिन्छ ।


मालिकले १० वर्षका लागि १३ लाख नेपाली रुपैयाँमा किनेर ल्याएको र त्यो तिरे मात्रै फर्कन दिने भनेर यातना दिने गरेको उनले सुनाइन् ।


यसरी पाए नयाँ जिवन

रचनाले उपाय नलागेपछि आफूलाई माया मार्दै आएकी थिइन् । रञ्जनाको पनि पनि परिवारसँग सम्पर्क पातलिदै गएको थियो । परिवारले माया मारिसकेका थिए । चरम यातनाले गर्दा थंथिलो भएकी उनले बाँच्ने, नेपाल फर्किने र नयाँ जीवन पाउने आशा पनि मारिसकेकी थिइन् ।


तीनैजनाले यसबारे नेपालीहरुसँग शेयर गर्थे । यसबारे मालिकले थाहा पाएपछि थप यातना दिन्थे । वर्क फर नेपालले लामो प्रयासपछि तीनैजनालाई छुट्टाछुट्टै समयमा उद्धार गर्न सफल भयो । रञ्जनाले मालिकको स–परिवार विवाह भोजमा बाहिर गएको मौका छोपेर उनी उम्कन सफल भएकी थिइन् ।

‘मुस्लिम पोशाक लगाएर घरबाट बाहिर निस्केँ, इराकमा बस्ने नेपाली दाजुभाइले सहयोग गर्नुभयो ।’ उनी त्यहाँबाट निस्केको एकहप्तामा नेपाल आइपुगिन् । लुकीछिपी इराकमा बस्ने नेपालीबाट पनि सहयोग पाइन् ।


पाँचवर्षसम्म पीडा खपेर गएको असारमा स्वदेश फर्किन् । विमानस्थलमा भव्य स्वागत पनि भयो । तर जीवनसाथीले सधैका लागि छोडेर गइसकेका थिए ।

सात वर्षकी छोरीसँग भक्तपुरमा बसेकी छन् । अस्ताउन लागेको घामजस्तै उमेरकी सासु सिन्धुपाल्चोक छिन् । विगतले उनलाई झस्काउन छाडेको छैन ।


गत वर्षको फागुनमा गएकी साइलीले थुप्रै दु:ख र चोट सहेर केही महिनाअघि नेपाल फर्कन सफल भएकी थिइन् । भाईबहिनीलाई बौद्धमा राखेर गलैचा बुन्ने काममै फर्केकी छन् । उनी भन्छिन्, ‘छोरीचेलीले विदेश नजानु, आर्थिक अवस्था कमजोर भएर जान बाध्य भएपनि सबै प्रष्ट भएर जानू ।’


रचना रित्तो हात भएपनि नेपाल फर्कन सफल भइन् । दलालविरुद्ध उजुरी गरिन् । दलाल २० वर्षको जेल सजाय तोकिएको छ । यातना र ऋणले थिचिएको मन केही हलुका भएपनि विगतले झस्काइरहन्छ ।


वर्क फर नेपालको सम्पर्क र सहयोग नपाएको भए आफूहरुले नयाँ जीवन नपाउने बताउँछन् । सिन्धुपाल्चोक रहेर सामाजिक काम गर्दै आएको यस संस्थाले विदेशमा पुगेर दु:ख भोगेका, बेचिएका उनीहरुजस्ता थुप्रैलाई नेपालीहरुलाई उद्धार गर्दै आएको सह सचिव ईश्वर सुवालले बताए ।

प्रकाशित : भाद्र २५, २०७५ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?