१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

१० किलो सुनसहित दुई जना प्रकाउ

हरिराम उप्रेती

गोरखा — प्रहरीले अवैध १० किलाे सुनसहित चुमनुव्री गाउँपालिका–३ सिर्दिवास फिलिमबाट चुमनुव्री–७ छेक्म्पारका ५८ वर्षीय मुटुप लामा भनिने छिरिङ डन्डुप लामा र २८ वर्षीय लोप्चन तेन्वेलाई पक्राउ गरेकाे छ।

१० किलो सुनसहित दुई जना प्रकाउ

बरामद सुनको मूल्य चार करोड ९३ लाख बराबर छ । प्रहरीका अनुसार छिरिङले गलबन्दीभित्र सुन राखी बाहिरबाट सिलाएर कम्मरमा बेल्ट जस्ता बनाएर ५ किलाे सुन र सात तोलाको दुई थान कुन्दरा, १ तोलाको दुई थान टप अवैध रुपमा चीनबाट ल्याउँदै गरेको अवस्थामा बरामद गरेको जनाएको छ ।


छिरिङसँगै रहेका लोप्चनले रातो झोलामा ५ किलाे सुन बोकेको एसपी बिमल बस्नेतले जानकारी दिए । गत शनिबार पक्राउ परेका उनीहरुलाई दुई दिन लगाएर प्रहरीले सिर्दिवासबाट सदरमुकाममा ल्याएपछि सोमबार सार्वजनिक गरेको हाे ।


दैनिक उपभोग्य सामग्री खरिदका लागि तिब्बतको जोङ बजार पुगेका छिरिङ र लोप्चनको स्थानीय व्यापारी च्याङचिनसँग चिनजान भएको थियो ।

च्याङचिनले काठमाडौं सुन पुर्‍याएबापत तीन हजार घुर्मु (नेपाली ५० हजार) दिने सहमति भएपछि उनीहरुले सुन ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


‘काठमाडौंका व्यापारीले फोन गर्छन् भनेर हाम्रो नम्बर राखे, उनीहरुको नम्बर हामीलाई दिएनन्,’ छिरिङ र लोप्चनले प्रहरीसँगको बयानमा भने । सडक सञ्जाल नपुगेको छेकेम्पारका स्थानीय स्यात्ला नाकाबाट तिब्बतीयन बजारमा दैनिक उपभोग्य सामाग्री खरिदका लागि जाने गरेका छन् ।

छड्के चेकजाँचको क्रममा प्रहरी फन्दामा परेका छिरिङ र लोप्चनले प्रहरीलाई प्रलोभन देखाएका थिए । ‘पहिले पाँच किलो दिन्छौँ हामीलाई छाडिदे भनेछन्, पछि हामीलाई छाडिदिनुस् १० किलो नै राख्नुस पनि भनेछन्,’ एसपी बस्नेतले भने ।


संगठनप्रति इमान्दार भएर काम गरेको भन्दै सिर्दिवास चौकीका प्रहरी नायब निरीक्षक तुलबहादुर सेनलाई जिल्ला प्रहरी कार्यालय गोरखाले सोमबार नगद २१ सयसहित सम्मान गरेको छ । ‘संगठनप्रति इमान्दार बनेर कार्यकुशलता प्रर्दशन गरेकाले हामीले उहाँलाई सम्मान गरेका हौँ,’ एसपी बस्नेतले भने ।


खुल्ला सिमानाका कारण अवैध तरिकाले सामान ओसार पसार हुन सक्ने आशंकमा स्थानीय प्रशासनले हेलिकप्टर चेकिङमा कडाइ गरेको छ । हेकिलप्टरमा कडाइ गरेपछि पैदल मार्ग भएर सुन ओसारपोसार हुन थालेको आशंका गरिएको छ ।

प्रकाशित : भाद्र २५, २०७५ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?