१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

प्रस्तावित प्रधानन्यायाधीश मिश्रको संसदीय सुनुवाइ भदौ २५ गते

मकर श्रेष्ठ

काठमाडौँ — संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि प्रस्ताव गरेका सर्वोच्चका कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संसदीय सुनुवाइ भदौ २५ हुने भएको छ ।

प्रस्तावित प्रधानन्यायाधीश मिश्रको संसदीय सुनुवाइ भदौ २५ गते

प्रतिनिधिसभाको सार्वजनिक सुनुवाई समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णको अध्यक्षतामा शुक्रबार बसेको बैठकले मिश्रविरुद्ध परेका उजुरीहरु खोलेर हेरेपछि भदौ २४ गते उजुरीकर्तासँग छलफल गर्ने र २५ गते सुनुवाई गर्ने मिति तय गरेको छ ।


कामु प्रधानन्यायाधीश मिश्र विरुद्ध विभिन्न व्यक्तिहरुले ५ आरोप लगाउँदै चारवटा उजुरी हालेका छन् । जसमध्ये गम्भिर आरोप लगाइएको एउटा उजुरी भने उजुरीकर्ताले फिर्ता लिएको जानकारी गराइएको छ ।


उनी माथि त्रिभुवन विश्वविद्यालयको गणित विषयको उपप्राध्यापक नियुक्तिको क्रममा लिइको परिक्षाको प्रश्नपत्र आउट गर्ने नन्दकिशोर पुनलाई छुट दिएको, पत्नी हत्याको आरोपमा सजाय काटिरहेका सशस्त्र प्रहरीका पूर्व डिआईजी रञ्जन कोइरालाको मुद्दामा घुस लिएर झगडीया झिकाउने आदेश दिएको र आफ्नो नातेदारलाई जिताएको, कालिकोटमा अभियुक्तलाई सफाई दिएको, एनसेल र सूर्य नेपालको राजश्व तथा कर छलीको मुद्दामा सहयोग गरेको तथा काठमाडौं जिल्ला अदालतको न्यायाधीश रहँदा वैदेशिक न्यायाधिकरणले पीडितलाई १० लाख ५ हजार क्षतिपूर्ति दिने निर्णयलाई उल्टाएर क्षतिपूर्तिको रकम घटाएर ४ लाख ९० हजार कायम गरी बिचको रकम घुस खाएको आरोप लगाइएका छन् ।


यस्तै ललितपुरको सैंबु १ ‘ग’ कित्ता नम्बर ५ को ८ आना २ पैसा र कित्ता नम्बर ६ को ९ आना २ पैसा जग्गा २४ वर्षदेखि रोक्का रहेकोमा २०७३ असारमा फुक्का गर्न र उक्त जग्गा सार्वजनिक हो या होइन भन्ने ३ महिना भित्र टुंग्याउन आदेश दिएको भनि दिएको उजुरी भने उजुरीकर्ताले फिर्ता लिएका छन् ।


संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि सिफारिस गरेसँगै संसदीय समितिले भदौ १० गतेदेखि २० गतेसम्म समय दिएर उनी विरुद्ध उजुरी गर्न सयम तोकेको थियो ।


प्रकाशित : भाद्र २२, २०७५ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?