२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

टिपरले दाजुभाइको लियो ज्यान

अजित तिवारी

जनकपुर — बालुवा बोकेको अनियन्त्रित टिपरले हिर्काउँदा पूर्वपश्चिम राजमार्गको धारापानीमा दाजुभाइको मृत्यु भएको छ । मोटरसाइकलमा यात्रारत दाजुभाइलाई तीव्र गतिमा रहेका टिपरले किचेको थियो ।

टिपरले दाजुभाइको लियो ज्यान

उदयपुरको त्रियुगा नगरपालिका–४ बस्ने २५ वर्षीय विकास राई र २३ वर्षीय सचिन्द्र राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय, ढल्केवरले जनाएको छ । मृतक विकास र सचिन्द्र दाजुभाइ हुन् । विदेशबाट आएको समान लिन उनीहरू महोत्तरीको बर्दिवाससम्म यात्रारत थिए ।

चारपाङ्ग्रे एउटा गाडीलाई ओभरटेक गरेको स५प ९०४६ मोटरसाइकललाई ढल्केवरबाट पूर्वतर्फ गइरहेको ना१प ६१८९ नम्बरको टिपरले ठक्कर दिएको थियो । ‘टिपर तीव्र गतिमा थियो,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय, धनुषाका इन्स्पेक्टर दीपक साहले कान्तिपुरसँग भने, ‘मोटरसाइकलको गति पनि तीव्र नै थियो ।’ टिपरको ठक्करपछि मोटरसाइकलमा रहेका दुवै दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ ।

टिपर चालक धनुषा लक्ष्मीनिया गाउँपालिका–४ का लक्ष्मण यादवलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीसँगको बयानमा चालक यादवले मोटरसाइकल अचानक अगाडि आउँदा दुर्घटना भएको बताएका छन् । धनुषाको लालभित्तीस्थित औरही खोलामा रहेको क्रसरबाट बालुवा बोकेर पूर्वतर्फ जाँदै गरेको टिपरको गति तीव्र थियो ।

इलाका प्रहरी कार्यालय, ढल्केवरका प्रमुख इन्स्पेक्टर सरोज राईले टिपरको दुर्घटनामा परेका दाजुभाइको शरीर क्षतविक्षत भएको बताए । ‘दुवैको शरीरका विभिन्न भाग टिपरले किचेर सडकभरि छरपस्ट थियो,’ इन्स्पेक्टर राईले भने, ‘मृतकको शरीर बटुल्न निकै समय लाग्यो ।’

टिपर ज्यानमारा बनेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय, धनुषाले जनकपुर–ढल्केवर सडक खण्डमा टाइमकार्ड दिएर उसको गतिलाई नियन्त्रण गर्ने प्रयास गरे । करिब तीन महिनाअघि जनकपुर आउने र फर्किने टिपरलाई मुजेलियामा ट्राफिक प्रहरीले टाइमकार्ड उपलब्ध गराउन थालेको छ । जनकपुर–ढल्केवर रुटमा गुड्ने लोड टिपरलाई १:३० मिनेट र खालीलाई १ घण्टाको समय तोकिएको छ ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख साहले टाइमकार्डलाई चारवटा चेकप्वाइन्टमार्फत कडाइ गरिएको छ । ढल्केवर, महेन्द्रनगर, लक्ष्मीनिया र मुजेलियामा सबै टिपरको समय हेरिन्छ । जनकपुर–ढल्केवर रुटमा टिपरको दुर्घटना बढेपछि ट्राफिक प्रहरीले टाइमकार्ड तोकेको थियो । अहिले यो रुटमा टिपरको दुर्घटनामा कमी आएको छ ।

बुधबार टिपरको ठक्करले राई दाजुभाइको मृत्युपछि धारापानीका स्थानीयले सडक अवरुद्ध गर्दै पूर्वपश्चिम राजमार्गमा पनि टिपरलाई टाइमकार्ड तोक्नुपर्ने माग गरे । ढल्केवरका स्थानीय विजय साहका अनुसार बालुवा–गिट्टी र ढुंगा ओसार्न बढी प्रयोग हुने टिपरको दुर्घटनाले साउनयता मात्रै धनुषामा ३ जनाको ज्यान गइसकेको छ । धनुषामा गतवर्ष टिपरका ५ वटा दुर्घटनामा पनि ३ जनाको मृत्यु भएको थियो ।

टिपरले चालक कतिसम्म लापरबाही गर्छन् भन्ने धनुषाको नक्टाझिझ नजिक भएको दुर्घटनाले देखाउँछ । ना१ख ८३९३ नम्बरको टिपरले सडकछेउको आँपको रूखलाई नै हिर्काएको थियो । रूखलाई दुई चिरा पार्दै ठोक्किएको टिपरका चालक आफैं घाइते भएको थिए ।

प्रकाशित : भाद्र २१, २०७५ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?