म्याद सकियो, सडक उस्तै

लामोसाँघु–जिरी खण्ड
सडकको जीर्ण अवस्थाकै कारण सर्वसाधारण सिन्धुली खुर्कोट हुँदै मन्थली मार्ग प्रयोग गर्न बाध्य
राजेन्द्र मानन्धर

दोलखा — दोलखाको ‘लाइफ लाइन’ मानिँदै आएको लामोसाँघु–जिरी सडकलाई १० दिनभित्र सुधार्ने प्रतिबद्धताको अवधि सकियो तर सडकको अवस्था नाजुक नै छ ।

म्याद सकियो, सडक उस्तै

स्तरोन्नति गर्ने क्रममा अधकल्चो छाडिएको उक्त सडकमा साना सवारीसाधन चल्न सक्दैन । ठूला सवारीसाधन पनि हिलो र खाल्डाखुल्डीले ठाउँठाउँमा फस्छ । एक वर्षअघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने सडक ठेकेदारको लापरबाहीले ढिलासुस्ती भएपछि दोलखा सदरमुकाम चरिकोटमा भदौ ८ गते प्रदेशसभा सांसदहरूले बैठक राखेका थिए । उक्त बैठकमा ठेकेदारहरूले १० दिनभित्र यातायात सजिलै चल्न सक्ने बनाउने लिखित प्रतिबद्धता गरेका थिए ।

उक्त सडक बिग्रिएर समयमै उद्धार हुन नसक्दा बिरामीको मृत्युसमेत भएको छ । साताको एकपटक हेलिकप्टरबाट बिरामी ओसार्दा ठूलो आर्थिक भार थपिएको छ । ढुवानी रोकिँदा माथिल्लो तामाकोसी आयोजना बेलैमा सम्पन्न हुन नसक्दा लागत बढदै गएको छ ।
दोलखा जिल्लावासीहरू लामो वैकल्पिक मार्ग सिन्धुली खुर्कोट हुँदै मन्थली मार्ग प्रयोग गर्न बाध्य छन् । उक्त मार्गमा पनि पानी परेपछि ठाउँठाउँमा अवरोध हुने गरेको छ ।

तोकिएको समयमा नसुधारेर ठेकेदारले प्रदेश र संघीय सांसदलाई समेत जिल्याएको छ । पटकपटक ठेकेदार कम्पनीले उक्त सडकको कामका बारेमा विभिन्न बहाना झिक्दै ढिलासुस्ती गर्दै आएको छ । निर्माण कम्पनीको एकतर्फी लापरबाहीले सडक निर्माणमा ढिलाइ भइरहेको दाबी आयोजनाको छ ।

संघीय सरकारका संसद्, प्रदेश सरकारका मन्त्री र माननीयहरूको उपस्थितिमा जेजस्तो उपाय प्रयोग गरेर भए पनि सडकको अवस्था सुधार गर्न निर्देशन गरिएको थियो । निर्माण कम्पनीले १० दिनभित्र सडक सुधार्न लिखित प्रतिबद्धता गरेको विषयलाई सामाजिक सञ्जालहरूमा नेताहरूलाई ठेकेदारले फेरि जिल्याए भनेर प्रतिक्रिया लेखेका थिए । ठीक त्यस्तै हुने गरी फेरि पनि निर्माण कम्पनीले सडकको हालतलाई उस्तै राखेका छन् ।

चार दशकअघि स्विस सरकारले निर्माण गरेको लामोसाँघु–जिरी सडक चौडा बढाउन भारतीय एक्जिम बैंकले लगानी गरिरहेको छ । उक्त सडक खण्डको खाडीचौरदेखि मुढेसम्मको २५ किलोमिटर निर्माणको जिम्मा लिएको सुनौलो खिम्ती कालोसूची र मुद्दामालामा फसेपछि सडकको अवस्था नाजुक हुँदै गएको हो । सुनौलो खिम्तीका साझेदार कम्पनीहरू भारतको सीमाञ्चल र नेपालको गौरीपार्वती छन् । मुढेदेखि चरिकोटसम्मको सडक निर्माणको काम सुनौलो खिम्ती, शंकर माली र भारतको सकिल हैदरले लिएका छन् ।

सुनौलो खिम्तीले काम गर्न नसक्ने जनाउँदै हात झिकेपछि अन्य ठेकेदारले कामको जिम्मा लिएका छन् । उनीहरू पनि विभिन्न बहानाबाजी गर्दै कामलाई पछि सार्दै छन् । आयोजना प्रमुख केदार नेपालका अनुसार १० दिनभित्र सडक सुधारेर यातायात सञ्चालन हुन नसक्नुमा नियमित वर्षा कारण बनेको छ ।

प्रकाशित : भाद्र २०, २०७५ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?