श्रमदानबाट ७ किमि बाटो

भीमबहादुर सिंह

जाजरकोट — नलगाड नगरपालिका ८, हलचौरवासीले ७ किलोमिटर गोरेटो बाटो खनेका छन् । उनीहरूले नगरपालिकाको बगरादेखि हल्चौरगाउँ पुग्ने उक्त बाटो निर्माण गरेका हुन् ।

श्रमदानबाट ७ किमि बाटो

बतासे चिउरी बर्मा सामुदायिक वन उपभोक्ता समूहको नेतृत्वमा हलचौरवासी पाँच सय जनाले श्रमदानस्वरूप बाटो खनेका थिए । स्थानीयले एक साता लगाएर बाटो खनेका हुन् ।

गत असार/साउनको बाढीपहिरोले दर्जनौं ठाउँमा बाटो भत्किन गई आवजावतमै समस्या हुँदा सबै मिलेर निर्माण गरेको स्थानीय नारायणबहादुर खत्रीले बताए । ‘बाटो निर्माणमा हलचौरवासी निकै उत्साहित थिए,’ उनले भने, ‘सरकारको मुख ताकेर बस्नुभन्दा तत्काल आवतजावत सुचारु गर्नेतर्फ लागेका हौं ।’ बाढीपहिरोका कारण पुरानो बाटो हिँड्नै नमिल्ने भएकाले श्रमदान गरेर नयाँ बाटो बनाएको खत्रीले बताए ।

गत आव बगरा–हलचौर सडक निर्माणका क्रममा डोजर प्रयोग गरेर अन्धाधुन्ध खन्दा गोरेटो बाटो भत्किएको थियो । डोजरले बाटो खन्दा छिटो मोटर चढ्न पाइएला भन्ने आस गरेका गाउँले गोरेटोमै नियमित हिँड्न नपाउँदा निराश थिए ।

दर्जनौं पहिरोले अधिकांश बाटो भत्काएपछि स्थानीयलाई आवतजावतका साथै खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु ओसारपसारमै समस्या थियो । ‘भत्किएको बाटोमा हिँडडुल गर्न नमिल्ने भएपछि गाउँ नै नाकाबन्दीमा परेको थियो,’ उनले भने । नलगाड सबैभन्दा बढी जनसंख्या भएको गाउँ हो ।

स्थानीयले कुटो, कोदालो, बेल्चा, गैंती, साबेल चलाएर बाटो बनाएको नगरपालिका कार्यपालिका सदस्य नरबहादुर विकले बताए । बाटो निर्माणपछि स्थानीयलाई आउजाउमा सहज भएको उनी बताउँछन् । सधैं अर्काको मुख ताक्ने चलनको अन्त्य गर्दै जनताले स्वस्फूर्त बाटो खनेको विकले सुनाए ।

उनका अनुसार एक महिनासम्म बाटो नहुँदा बिरामीको उपचार गर्न, घट्ट जान, मृत्यु संस्कार गर्नेलगायतमा बाधा पुगेको थियो । गाउँको एकताले बाटो खन्न सफल भएको उनको भनाइ छ । सरकारी खर्चमा निर्माण गरे २० लाखभन्दा बढी बजेट लागत लाग्ने बाटो स्थानीयले घरकै खाना खर्च खाएर नि:शुल्क खनेको उनले सुनाए ।

सरकारले यो गरेन, त्यो गरेन भनेर समय खेर फाल्नुभन्दा सबैले साथ दिए कुनै पनि काम सम्भव हुने स्थानीय समाजसेवी हरिबहादुर खत्रीले बताए । जनताले यति धेरै परिश्रम गरेर खनेको बाटो कसैको कारणले भत्किए सम्बन्धित पक्षलाई कारबाहीको भागी बनाउने उनको धारणा छ । जनताको सहभागिताबिना पूर्वाधार निर्माण दिगो नहुने देखियो,’ उनले भने, ‘सडकले भत्काएको बाटोको छेउछाउमा तत्काल बिरुवा रोप्ने निर्णयसमेत गरिएको छ ।’

प्रकाशित : भाद्र १९, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?