३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

म्याद थप्दा थप्दै ७ वर्ष !

२ वर्षमा सक्नुपर्ने पुल ठेकेदारको लापरबाहीले ७ वर्ष बितिसक्दा पनि अधुरै रह्यो
आश गुरुङ

दोर्दी (लमजुङ) — दोर्दीखोलामा निर्माणाधीन मोटरेबल पुल ७ वर्ष पुग्दा पनि अझै सम्पन्न हुन सकेको छैन । २ वर्षमा निर्माण सक्ने गरी बेंसीसहर ११, चितीको चित्रे र दोर्दी गाउँपालिका–४, नौथरको शेरा जोड्न निर्माणाधीन पुल अलपत्र पर्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । 

म्याद थप्दा थप्दै ७ वर्ष !

डिभिजन सडक कार्यालय दमौलीका अनुसार २०६८ चैतमा शिलान्यास गरिएको पुल २०७० असार मसान्तसम्म निर्माण पूरा गर्ने गरी हेटौडाको सपना निर्माण सेवा र धादिङको जयबाबा निर्माण सेवाले ठेक्का सम्झौता गरेका थिए । सम्झौतापछि लामो समयसम्म काम नगरेको, गरेजस्तो गरी ठेकेदार भाग्ने गरेको र ठेकेदार सम्पर्कमा नआएको स्थानीयको भनाइ छ । गत असारबाट काम पुन: सुरु भए पनि भदौ पहिलो साताबाट निर्माणस्थलमा कामदार छैनन् ।


ठेकेदारले ज्याला नदिएको भन्दै उनीहरू काम छाडेर भागेको दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताए । भन्छन्, ‘चित्रे र नौथरको शेरा जोड्न निर्माण हुनुपर्ने पुल पूरा नहुँदा सिंगो गाउँपालिकाका बासिन्दालाई समस्या परेको छ ।’ कामदारले पैसा नपाएको भन्दै गाउँपालिकामा गुनासो गर्न आएको र भदौ पहिलो साताबाट काम काम छाडेर गएको उनले बताए । ‘सीडीओ, एलडीओ, नेता, सांसद, मन्त्री सबैलाई भनियो,’ उनले भने, ‘ठेकेदारकै पावर ठूलो हुने रहेछ कि क्या हो । ७ बर्षअघि सुरु गरेको पुल अझै पूरा भएको छैन ।’


७५ मिटर लम्बाइ र ६ दशमलव २५ मिटर चौडाइको पुल भ्याटसहित करिब ४ करोड रुपैयाँमा निर्माण गर्ने सम्झौता भएको थियो । छेउमा २ फाउन्डेसनसहितको पिलर र बीचमा २ पिलर गाडेर ३ वटा स्ल्याब बनाउनुपर्ने थियो । अहिले २ स्ल्याब बनिसकेको छ भने एउटा निर्माण अलपत्र परि बसेको छ । ‘हामीले ०६३/६४ देखि पुलको माग गरेका थियौं । ०६८ को अन्तिममा सुरु भयो । तर, अहिलेसम्म बनेन,’ दोर्दी गाउँपालिका उपाध्यक्ष दिलबहादुर घलेले भने, ‘पहिले ठेकेदार सम्पर्कमा आउन चाहेन । को–हो भनेरै चिनिएन । अहिले आएर काम गरेको थियो । फेरि रोकियो ।’


७ वर्षसम्म पनि पुल बनाउने ठेकेदारलाई सरकारले कारबाही गर्न नसकेको उनले आरोप लगाए । पुल नबन्दा दोर्दी खोलामा निर्माणाधीन ४ जलविद्युत् आयोजनाको काम पनि प्रभावित भएको छ । सामान ढुवानीलगायत सामग्री निर्माणस्थलसम्म पुर्‍याउन नसकिएको आयोजनाका इन्जिनियर दीपक ज्ञवालीले बताए । ‘हिउँदमा हयुम पाइप राखेर सवारी वारपारि गरियो । बर्खा लागेपछि सबै डुब्यो । ढुवानी रोकियो, आयोजना निर्माणमै समस्या आयो,’ उनले भने ।


डिभिजन सडक कार्यालय दमौलीका डिभिजन इन्जिनियर भानु जोशीले २ कम्पनीको ज्वाइन्ट भेन्चर (जेभी) मा निर्माण भए पनि यसको जिम्मा जयबाबा निर्माण सेवाका प्रमुख श्याम श्रेष्ठले लिएका थिए । काम गर्छु र सक्छु भनेपछि म्याद थप्दै गरेको र कार्यालयले पछिल्लो समय म्याद थपेको थिएन । ‘ठेकेदारलाई खोज्दैमा हैरान थियौं । बल्ल–बल्ल भेटेर श्यामजीले ६ महिनामा सक्छु भनी गत वर्षको साउनमा हस्ताक्षर गरेका थिए । तर, काम भएन । अहिले सपना निर्माण सेवाका प्रमुख हरिजी (हरिप्रसाद ढकाल) को जिम्मामा छ ।’


साउन र भदौ महिना वर्षा हुने भएकाले काम रोकिएको र असोजबाट सुरु हुने जोशीले बताए । उनका अनुसार सम्झौताको आधा रकम निर्माण कम्पनीलाई दिइसकिएको छ । अब पुरै काम सकेर मात्रै दिने उनले बताए ।


सपना निर्माणका निर्देशक ढकालले भदौभित्रै पुलको निर्माण सकिने दाबी गरे । डिभिजन इन्जिनियरले बर्खामा काम नहुने र असोजबाट काम सुरु हुने बताए पनि निर्माण कम्पनीका निर्देशक ढकालले भने केही दिनमै काम सुरु हुने र भदौमै सक्ने बताएका छन् । अहिले काम रोकिएको निर्माण कम्पनीका ढकालले पनि स्वीकारेका छन् ।


‘अब १/२ दिनमै काम सुरु हुन्छ । भदौभित्र काम सक्छौं । दसैंअगावै मोटर गुडाउँछौं,’ उनले भने । यसअघि जयबाबालाई निर्माणको जिम्मा लगाएकामा काम नभएपछि आफैंले निर्माणको जिम्मा लिएको उनले बताए । ‘मैले जिम्मा लिएको ३ महिना जति भयो । ३ महिनामा काम अघि बढेको छ,’ उनले भने । उनले पुल निर्माणको ७० प्रतिशत सकिएको र ३० प्रतिशत मात्र काम बाँकी रहेको बताए ।


यो पुल निर्माणाधीन अवस्थामा डिभिजन सडक कार्यालय दमौलीमा ३ जना प्रमुख फेरिए । स्थानीयले ठेकेदार कम्पनी र सडक कार्यालयका प्रमुखको मिलेमतोमा काम रोकिएको बताएका छन् । काम नगर्ने ठेकेदारलाई कारबाहीको माग लिएर प्रशासन र डिभिजन सडकमा स्थानीय बासिन्दा पटक–पटक डेलिगेसन गए पनि सुनुवाइ भएको थिएन । इन्जिनियर जोशीका अनुसार सपना–जयबाबा जेभीका नामबाट काम सुरु गरिए पनि यसको नेतृत्व जयबाबा निर्माण सेवाले लिँदै आएको थियो ।


गत वर्ष साउनमा पुल निर्माणको ठेक्का तोडेर कम्पनीलाई कालोसूचिमा राख्ने चेतावनी दिएपछि जयबाबाका प्रमुख श्याम श्रेष्ठले ६ महिनामा काम सक्ने बाचा गरेको उनले बताएका थिए । तर, समयमा काम नगरेका ठेकेदार उम्किएको र अहिले सपनालाई जिम्मा लगाएको स्थानीयले बताएका छन् । अहिले ज्वाइन्ट भेन्चरमा रहेको सपनाले निर्माणको जिम्मा लिएपछि जयबाबालाई केही गर्न नपर्ने जोशीले बताएका छन् ।


‘काम गर्ने जिम्मा दुवैको हो । एउटाले गर्छु भनेपछि अर्को कम्पनीलाई केही गर्न मिल्दैन,’ उनले भने । डिभिजन सडक कार्यालयले छुट्टै कुरा गर्ने र ठेकेदारले अर्कै कुरा गर्ने गरेपछि स्थानीय बासिन्दा पुल तत्काल बन्नेमा ढुक्क हुन सकेका छैनन् ।



प्रकाशित : भाद्र १८, २०७५ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?