१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

५ रुपैयाँबाट जुट्यो ६३ लाख

विराटनगर — वृद्धाश्रमका लागि एक जनाबाट ५ रुपैयाँ दान संकलन गर्ने अभियानबाट ८ वर्षमा ६३ लाख संकलन भएको छ ।

५ रुपैयाँबाट जुट्यो ६३ लाख

महानगर ८ मा रहेको विराटेश्वर वृद्धाश्रम सञ्चालनका लागि एकजना व्यक्तिले चलाएको यो अभियानका लागि हालसम्म ४ लाख ९२ हजार ९ सय ३ जनाले दान गरिसकेका छन् ।

अभियानकर्ता जगतप्रसाद अर्यालका अनुसार त्यति व्यक्तिबाट संकलित ५/५ रुपैयाँ र त्यो रकम जम्मा गर्दाको ब्याजसमेत जोडा ६३ लाख रुपैयाँ पुगेको हो । संकलित रकमबाट वृद्धाश्रमका लागि पूर्वाधार बनाउने काम भइसकेको छ ।

वृद्धाश्रम परिसरमा लायन्स क्लबले १ करोड रुपैयाँ लागतमा भवन बनाइदिएको छ । वृद्धाश्रममा २७ महिलासहित ५२ जना वृद्धवृद्धाले शरण पाएका छन् । पहिलेदेखि बसेका मध्ये हालसम्म ४९ जनाको मृत्यु भइसकेको छ । दानबाट संकलित रकम र सरकारको ३० प्रतिशत सहयोगमा वृद्धाश्रमले नै ९२ लाख लागतमा १४ कोठा भएको दुईतले भवन बनाएको छ । त्यहाँ कांग्रेस नेता शेखर कोइरालाले कोइराला परिवारकी सहयोगी दिवंगत ‘उमा दिदी’ का नाममा ४ लाख रुपैयाँमा एउटा कोठा बनाइदिएको अर्यालले जनाए ।

चन्दा संकलन गर्ने दिनचर्या नै भएका अर्याल यो क्रममा देशका आधाभन्दा बढी जिल्ला पुगिसकेका छन् । छोराबुहारी र अरू आफन्त भएका भारत, अमेरिका, अस्ट्रेलिया र क्यानाडालगायत देश पुगेर पनि उनले सहयोग जुटाएका छन् ।

अमेरिका बस्ने छोराबुहारी प्रशान्त र सुधारको सहयोगमा अमेरिका, क्यानाडा र अस्ट्रेलियामा रहेका ५ सय जनाबाट ५ डलरका दरले रकम संकलन भएको उनले बताए । ७५ वर्ष नाघेका अर्याल हरेक दिन बिहान साइकलमा ‘मुष्ठी र भूमिदान संकलन’ अभियानमा निस्कन्छन् । डेढ दशकदेखि उनको यो दैनिकी चलिरहेको छ ।

आश्रमका वृद्धवृद्धाको पालनपोषण र थप भौतिक पूर्वाधार बनाउन मुष्ठी र भूमिदान संकलनको काम अझै जारी छ । उनी चढ्ने साइकलको अगाडि ‘अपहेलित, असहाय र अशक्तको पालनपोषणका लागि मुष्ठी दानस्वरूप दैनिक १ रुपैयाँ र भूमिदानका लागि ५ रुपैयाँ इच्छाअनुसार दान गराैं’ लेखिएको बोर्ड छ ।

वृद्धवृद्धाको रेखदेखका लागि उनीबाहेक आश्रममा ७ जना कर्मचारी छन् । आश्रम सञ्चालनका लागि मासिक सरदर १ लाख २५ हजार रुपैयाँ खर्च हुँदै आएको छ । अहिले पनि दैनिक १ हजार १ सय ७९ जनाले दैनिक मुष्ठी दान र अन्य सहयोगी हातहरूले खाद्यान्न, कपडा, औषधि, खानेतेलजस्ता सामग्री सहयोग गर्दै आएका छन् ।

प्रकाशित : भाद्र १८, २०७५ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?