नेपाल–श्रीलङ्का द्विपक्षीय वार्ता

रासस

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेनाबीच शनिबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा द्विपक्षीय वार्ता भयो । त्यस अवसरमा नेपाल–श्रीलङ्का सम्बन्धका सबै पक्षमा सङ्क्षिप्त विचारविमर्श हुनाका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको थियो ।

नेपाल–श्रीलङ्का द्विपक्षीय वार्ता

राष्ट्रपतिद्वयको उपस्थितिमा दुवै देशका अधिकारीले आपसी सहयोग अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।


नेपालको परराष्ट्र अध्ययन प्रतिष्ठान र श्रीलङ्काको बन्दरानायके अन्तर्राष्ट्रिय कूटनीतिक प्रशिक्षण प्रतिष्ठानबीच सहकार्यको समझदारी भएको छ । उक्त समझदारीपत्रमा परराष्ट्र सचिव शङ्करदास वैरागी र नेपालका लागि श्रीलङ्काली राजदूत डब्ल्यू एस परेराले हस्ताक्षर गरे ।


त्यसैगरी दुई देशबीच युवा विकाससम्बन्धी समझदारी भएको छ । आपसी सहयोगसम्बन्धी समझदारीपत्रमा युवा तथा खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले हस्ताक्षर गरे ।


दुई पक्षीय वार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रीलङ्काका विदेश राज्यमन्त्री वसन्ता सेनानायके, परराष्ट्र सचिव शङ्करदास वैरागी, श्रीलङ्काका लागि नेपाली राजदूत विश्वम्भर प्याकुर्‍याल र नेपालका लागि श्रीलङ्काका राजदूत डब्ल्यू एस परेरा तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।


राष्ट्रपति भण्डारीले आफ्ना श्रीलङ्काली समकक्षीको सम्मानमा आजै साँझ रात्रिभोजको आयोजना गरेकी छिन् ।


राष्ट्रपति सिरिसेनासँग प्रधानमन्त्रीको भेट


प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनासँग शनिबार अपराह्न शिष्टाचार भेट गरेका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका क्रममा राजधानीमा रहेका राष्ट्रपति सिरिसेनासँग प्रधानमन्त्रीले शिष्टाचार भेट गरेका हुन् ।


भेटका अवसरमा उनीहरुबीच नेपाल, श्रीलङ्का सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रीलङ्काका विदेश राज्यमन्त्री वसन्ता सेनानायके, परराष्ट्र सचिव शङ्करदास वैरागी, श्रीलङ्काका लागि नेपाली राजदूत विश्वम्भर प्याकु¥याल र नेपालका लागि श्रीलङ्काका राजदूत डब्ल्यू एस परेराको उपस्थिति थियो ।

प्रकाशित : भाद्र १६, २०७५ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?