१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

भुटानी शरणार्थीको वार्ता चाहना

नेपाल–भुटान दुवै मुलुकले वास्ता नगर्दा शरणार्थीको अवस्था अन्योल
अर्जुन राजवंशी

दमक — शरणार्थीले भुटानसँगको अवरुद्ध वार्ता सुचारु गर्न नेपाल सरकारसित आग्रह गरेका छन् । उनीहरूले राजधानीमा सुरु बिमस्टेक शिखर सम्मेलनबाट अवरुद्ध वार्ता सुरु गराउन आग्रह गरेका हुन् ।

भुटानी शरणार्थीको वार्ता चाहना

करिब डेढ दशकदेखि यसबारे वार्ता नहुँदा अन्योलपूर्ण अवस्थामा कष्टकर जीवन बिताउन बाध्य भएको उनीहरूले बताए । मोरङको पथरीशनिश्चरेस्थित भुटानी शरणार्थी शिविरका सचिव चम्पासिंह राईले नेपाल–भुटान अवरुद्ध वार्ता गर्न धेरै ढिला भएको बताए ।


उनले दुवै मुलुकका पदाधिकारीका तर्फबाट वार्ता सुचारु गर्न पहल हुनुपर्नेमा जोड दिए । उनले नेपाल–भुटान दुवै मुलुकले वास्ता नगर्दा आफूहरूको अवस्था झन् अन्योलपूर्ण बनेको बताए ।
आफूहरू कहिलेसम्म शरणार्थी भएर यसरी बस्नुपर्ने भन्ने प्रश्न उनको छ । उनले भने, ‘डेढ दशकदेखि दुवै मुलुक यस विषयमा संवादविहीन हुँदा हामीले विभिन्न हन्डर खेपेर जंगलभित्र २७ वर्ष बिताउन बाध्य भयौं । अहिले त बुबाआमा, छोराछोरी, आफन्त, छिमेकी पनि विभिन्न देश पुनर्वास भइसके । अब पनि हाम्रो निकाश निस्किएन भने कसरी बाँच्नु ?’


उनले बिमस्टेक सम्मेलनमा सहभागी हुन काठमाडौं आएका भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङचुकसँग आफूहरूबारे नेपाल सरकारले छलफल गर्नुपर्ने माग गरे ।


उनले स्वदेश फिर्तीको माग २७ वर्षदेखि गर्दै आए पनि सफल नभएकोप्रति नेपालका प्रधानमन्त्री केपी ओली राम्ररी जानकार रहेको बताए । उनले सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्री मोदीसमेत रहेकाले उनकै रोहबरमा नेपाल–भुटान अवरुद्ध वार्ता सुरु हुनुपर्ने माग गरेका छन् ।


झापाको दमकस्थित बेलडाँगी शिविरका पूर्वसचिव डीबी सुब्बाले पनि नेपाल–भुटान अवरुद्ध वार्ता तत्काल सुरु गर्न माग गरे । उनले बाँकी भुटानी शरणार्थीबारे नेपाल सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । ‘अहिले त हामी थोरै छौं । तर, अब हाम्रो निकास के त ? यो विषयमा नेपाल सरकार गम्भीर हुन जरुरी छ,’ सुब्बाले भने, ‘यस कारण पनि नेपालले भुटानसँगको अवरुद्ध वार्ता सुरु गर्नुपर्छ ।’


सन् १९९० को दशकमा तत्कालीन भुटानी सरकारले दक्षिण भुटानका नेपाली भाषी नागरिकलाई बलजफ्ती देश निकाला गरेको थियो । उनीहरू भारतीय बाटो हुँदै नेपाल पसेका थिए । ठूलो संख्यामा भुटानी नागरिक नेपाली भूमिमा प्रवेश गरेपछि समस्या समाधानका लागि नेपाल र भुटान १५ औं चरणसम्म वार्ता भएको थियो ।


तर, लगातारको वार्तामा ठोस सहमति जुट्न नसकेपछि सन् २००३ यता कुनै पहल भएको छैन । १० वर्षअघि शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय संस्था (यूएनएचसीआर) को पहलमा विभिन्न ८ पश्चिमा मुलुकमा तेस्रो देश पुनर्वास कार्यक्रम सुरु भएको थियो ।


उक्त कार्यक्रमअन्तर्गत अहिलेसम्म एक लाख १२ हजारभन्दा बढी भुटानी शरणार्थी अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, डेनमार्क, नर्वे, बेलायत र नेदरल्यान्ड्स पुनर्वास भएका छन् । दमकस्थित बेलडाँगी र मोरङको पथरी शनिश्चरे शिविरमा दर्ता भएका/नभएका गरी ८ हजारभन्दा बढीको बसोबास छ ।


शिविरमा सक्रिय भुटान इन्डिपेन्डेन्ट पिपुल्स फोरमले विज्ञप्ति जारी गरी सम्मेलनमा शरणार्थी मुद्दा उठाइदिन प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र पठाएको छ । फोरमले सम्मेलनमार्फत भुटानी शरणार्थीको स्वदेश फिर्तीको पहल गरिदिन आग्रह गरेको हो ।

प्रकाशित : भाद्र १५, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?