२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

खडेरी पीडितको माग- 'अरु केही चाहिँदैन, पानी भए पुग्छ'

चन्द्र कार्की

तेह्रथुम — खडेरी पीडित क्षेत्रको स्थलगत निरीक्षणमा पुगेका प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो र तेह्रथुमबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद लक्ष्मण तिवारी सहितका सरकारी कर्मचारी समक्ष स्थानीय लाखबहादुर लिम्बुले एउटै मात्र माग पटक पटक राखे, ‘पेट भरी पानी दिनुस, सडक, बिजुली, विद्यालय अरु केही विकास नभए पनि हुन्छ’ । 

खडेरी पीडितको माग- 'अरु केही चाहिँदैन, पानी भए पुग्छ'

उमेरले साढे तीन दशक टेक्दै गरेका अर्का युवा चिन कुमार लिम्बुको पनि माग उस्तै थियो । 'खडेरीले अन्नपात सबै सुक्यो, गाउँले धमाधम बसाइँ सरिरहेका छन्, पर्याप्त पानी खान पाए सबै ठिक हुन्थ्यो,' उनले भने ।


तेह्रथुको छथर गाउँपालिकाको पञ्चकन्या र फाक्चामारा र पाँचथरको तुम्बेवा र कुम्मायक गाउँपालिकाका अधिकांश वडा मध्य वर्खामा पनि खडेरीको चपेटमा परेका छन् । लामो समयदेखि पानी नपर्दा यहाँका पाँच बढी गाउँमा अन्न बाली सुकेर पराल जस्तै भएको छ ।


यिनै खडेरी क्षेत्रको स्थलगत निरीक्षणमा पुगेका सांसद र मन्त्री समेतको टोलीलाई स्थानीयले पिउने र सिँचाइका लागि पानी मागिरहेका छन् । मन्त्री सहितको टोली यतिबेला खडेरी क्षेत्रको स्थलगत निरीक्षणको लागि तेह्रथुमको पञ्चकन्या र फाक्चामारा क्षेत्रमा छ । टोली लगत्तै पाँचथर तर्फ तर्ने तयारीमा छ । टोलीले दुई दिन लगाएर छथर गाउँपालिकाको सुख्खा क्षेत्रको स्थलगत निरीक्षण गरी पीडितसँग छलफल गरेको हो ।


खडेरीले अन्न बाली सुकेर भोकमारी लाग्ने अवस्था आएपछि प्रदेश सरकार पीडित किसानका खेतबारीमै आएर स्थलगत निरीक्षण गरेको मन्त्री आङबोले बताए । प्रदेश मन्त्रिपरिषद बैठकले गत भदौ ७ गते मन्त्री आङबोको नेतृत्वमा तेह्रथुमका सांसद लक्ष्मण तिवारी, पाँचथरका सांसद प्रताप प्रकाश हाङगाम, आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपत माहाशाखा प्रमुख रविन्द्र आचार्य र मुख्यमन्त्री कार्यालयबाट एकजना प्रतिनिधी रहने गरी पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिले १५ दिन भित्र स्थलगत अनुगमन निरीक्षण गरी विस्तृत अध्ययन प्रतिवेदन प्रस्तुत गर्ने जिम्मेवारी पाएको सांसद तिवारीले बताए ।


मध्य बर्खामा समेत खडेरी लागेर अन्न बाली, फलफुल र पशु वस्तुको घाँसपात समेत सुकेपछि किसानको विचल्ली भएको गाउँपालिका प्रमुख सन्तविर लिम्बुले बताए । खडेरी पीडित किसानले राहत सहित पिउने र सिंचाईका लागि पानी मागेपछि साता अघि मात्र गाउँपालिका आफैंले प्रभावित क्षेत्रको स्थलगत अनुगमन निरीक्षण गरी क्षतीको बिवरण संकलन गरेको थियो ।


मध्य वर्खामा समेत पानी नपरेपछि ओख्रे, फाक्चामारा, हमरजुङ लगायत गाउँका किसान समस्यामा परेका छन् । खेतबारीमा लगाएको धान, मकै, कोदो, जुनेलो लगायतका अन्न बाली सुकेर डँडेलो लाग्ने अवस्थामा पुगेको पञ्चकन्याका किसान समेत रहेका वडा अध्यक्ष तुलसीजंग थापाले बताए । दुःख गरेर लगाएको बाली पाक्न नपाउँदै सुकेपछि अनीकाल लाग्ने डरले किसान चिन्तित छन् ।


खेती किसानी बाट मात्र जीवन गुजरा गर्दै आएका पीडित किसानलाई तत्काल राहात उपलव्ध गराउने र ती क्षेत्रमा खडेरीको दिर्घकालीन समाधानका उपाय समेतको खोजी गरीने गरी स्थानीय र प्रदेश सरकार विच छलफल भैरहेको सांसद तिवारीले बताए ।


त्यस्तै अन्य पेशा, व्यवसाय र रोजगारीमा समेत रहेका किसानका परिवारलाई पनि कसरी राहत दिने भन्ने विषयमा छलफल भैरहेको गाउँपालिकाले जनाएको छ । मकै, कोदो, फापर, गहत, जुनेलो, बदाम, धान लगायतका खाद्यान्न बालीको खेती गर्दै आएका किसानको यो वर्ष पानी नपरे पछि विजोग भएको छ । गत वर्ष पनि पानी नपर्दा यहाँका किसानले प्रयाप्त खाद्यान्न फलाउन पाएका थिएनन् । गत वर्ष देखी नै खाद्यान्न अभाव झेल्दै आएका यहाका किसान यो वर्ष अनिकाल नै लाग्ने चिन्तामा परेको छथर गाउँपालिका ४ का वडाअध्यक्ष उपेन्द्र बहादुर लिम्बुले बताए ।


खडेरीले खेतबारी र जंगलमा रहेको घाँस समेत सबै सुकेपछि पशु चौपायालाई खुवाउन समेत समस्या भएको किसानको भनाई छ । पानी अभावमा खाद्यान्न बाली सबै सुकेर दैनिक जीवन यापनमा समेत समस्या भएको निरीक्षणको क्रममा आफूले पाएको मन्त्री आङबोले बताए । स्थलगत अध्ययन निरीक्षण पछि तत्कालीन र दिर्घकालिन समाधानको उपाय खोजी राहतको कार्यक्रम समेत ल्याईने उनको भनाई थियो ।


सुख्खा क्षेत्रमा पिउने पानीका लागि तत्कालै स्थानीय अंधेरी खोला र तेलीया खोला बाट खानेपानी बस्ती सम्म लैजान योजना संचालन गरीने टोली सदस्य सांसद तिवारीले बताए । दिर्घकालीन समाधानका लागि भने छरिएर रहेका बस्ती स्थानतरण गरी एकिकृत गर्ने र तमोर नदीको पानी लिफ्टीङ प्रविधि मार्फत वस्ती सम्म ल्याउने विषयमा समेत छलफल भैरहेको उनले बताए ।

मध्य वर्षादमा परेको खडेरीका कारण वडा नम्बर ३, ४ र ५ का ८ सय ५४ घरधुरी प्रभावित भएको गाउँपालिकाले निकालेको क्षती बिवरणमा उल्लेख छ । खडेरीका कारण वडा नम्बर ३ पञ्चकन्यामा ५ हजार ७ सय २५ मुरी मकै, वडा नम्बर ४ फाक्चामारामा १२ हजार ९ सय ७० मुरी मकै र वडा नम्बर ५ ओख्रेमा २ हजार ५ सय ८० मुरी मकै क्षती भएको गाउँपालिका अध्यक्ष लिम्बुले बताए । खडेरीले यतीकै परिमाणमा अन्य अन्नबालीमा पनि क्षती पुगेको किसानको भनाई छ । खडेरीले खाद्यान्न अभाव भएपछि यी तीन वडाका ४ हजार ९ सय २८ जनसंख्या भोकमरीको चपेटामा परेका छन् ।

प्रकाशित : भाद्र १३, २०७५ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?