कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कार्यकर्ताले ओगटे मन्त्रालयका कोठा, महत्त्वपूर्ण महाशाखा तितरबितर

काठमाडौँ — वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र उनको निजी सचिवालयले मूल भवनका दुइटा फ्लोर ओगटेपछि मन्त्रालयका महाशाखा अन्यत्र सरेका छन् । मन्त्रीले निजी सचिवालयमा कार्यरत पार्टी कार्यकर्ताका लागि कोठा छुटयाउँदा मन्त्रालयका महत्त्वपूर्ण महाशाखा सिंहदरबारभित्रै तीनतिर बाँडिन पुगेका हुन् ।

कार्यकर्ताले ओगटे मन्त्रालयका कोठा, महत्त्वपूर्ण महाशाखा तितरबितर

मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा शरण लिन पुगेको छ भने जैविक विविधता तथा वातावरण महाशाखाका शाखा प्रमुख र अन्य कर्मचारी पर्यटन मन्त्रालयको भुइँतलामा बसेर काम गर्न बाध्य छन् । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) शाखाका प्रमुख उपसचिव ज्वाला श्रेष्ठलगायत पनि पर्यटन मन्त्रालयको भुइँतलामा बसेर काम गरिरहेका छन् ।


जैविक विविधता तथा वातावरण महाशाखा प्रमुख सहसचिव यज्ञनाथ दाहाल भने मूल भवनको चौथो तलामा छन् । महाशाखा र शाखा दुईतिर बाँडिँदा पर्यटन मन्त्रालयबाट वन मन्त्रालयको चौथो तलामा फाइलका चाङ ओसार्न अलग्गै कर्मचारी चाहिने भएको छ । जलवायु परिवर्तन महाशाखा प्रमुखको जिम्मेवारी पाएको करिब तीन सातापछि महेश्वर ढकालले यसै सातादेखि कानुन मन्त्रालयको चौथो तलामा बसेर काम थालेका छन् ।


जलवायु परिवर्तन महाशाखाअन्तर्गत रहेका शाखा पनि कानुन मन्त्रालयकै तलामा छन् । जलवायु परिवर्तन, अनुकूलन, स्वच्छ ऊर्जा विकास शाखा (सीडीएम) र जलवायु परिवर्तन प्रविधि प्रचार शाखा र उत्सर्जन मापन शाखासमेत कानुन मन्त्रालयकै फ्लोरमा छन् । वातावरण मन्त्रालय वनमै गाँसिएपछि यो महाशाखा वन मन्त्रालयमै आएको हो । विगतमा वातावरण मन्त्रालय रहेको भवनमा प्राकृतिक स्रोतसाधन तथा वित्त आयोग र युवा खेलकुद मन्त्रालय बसेको छ ।


वन मन्त्रालय स्रोतका अनुसार मन्त्रालयको पहिलो तलामा रहेको बैठक कक्षसमेत भत्काएर मन्त्री बस्नेतले पूरै फ्लोर प्रयोग गरेका छन् । उनको सचिवालयमा पार्टी कार्यकर्ता र निकट व्यक्तिलाई समेत अलग्गै कोठा व्यवस्थापन गर्नुपर्दा महत्त्वपूर्ण शाखा तितरबितर भएको एक अधिकारीले बताए । मन्त्रालय स्रोतले भन्यो, ‘फाइलका चाङ यता र उता ओसार्दै समय खेर गइरहेको छ, यतातिर ध्यान दिइएको छैन ।’

महाशाखा प्रमुखले फाइल सदरका लागि सचिवसमक्ष पेस गर्नुपर्ने हुन्छ । राज्यमन्त्रीका लागि बनाइएको भुइँतला भत्काएर बैठक कक्ष बनाइएको छ ।

प्रकाशित : भाद्र १२, २०७५ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?