१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

मेलम्ची खानेपानी आयोजना तोकिएकै समयमै सकाउन निर्देशन 

काठमाडौँ — संसदको विकास समितिले मेलम्ची मेलम्ची खानेपानी आयोजनाले निर्धारण गरिएको समयमै काम सकाउन निर्देशन दिएको छ ।

मेलम्ची खानेपानी आयोजना तोकिएकै समयमै सकाउन निर्देशन 

आयोजनाले विभिन्न कारण देखाउदै यसअघि चार पटक म्याद थपेर पुरा गर्ने समय थप गरेपछि समितिले अब निर्धारित समयमै सकाउन निर्देशन दिएको हो । आयोजनाले आउँदो फागुनभित्र काठमाडौं उपत्यकावासीलाई पानी वितरण गर्ने घोषणा गरेको छ ।


हेडवक्र्स, सुरुङभित्रको फिनिसिङको कार्य अझै बाँकी छ । निर्माण व्यवसायीको सुस्त कार्यसम्पादन र कमजोर व्यवस्थापनलाई तत्काल सम्बोधन गरी तोकिएकै समयका पुरा गर्न समितिले खानेपानी मन्त्रालयलाई मंगलबार बसेको बैठकले निर्देशन दिएको हो ।


‘तिथि मिति बारम्बार परिवर्तन हुने (सरेको सरै गर्ने) कार्यबाट सम्बन्धित निकायको विश्वसनीयता एवम् कार्यसम्पादन प्रति गम्भीर प्रश्न उठ्न पुगेको देखिन्छ,’निर्देशनमा भनिएको छ,‘पूर्वनिर्धारित समयभित्रै आयोजना सम्पन्न गरी पानी वितरणको व्यवस्थापन गर्न गराउन समिति खानेपानी मन्त्रालयलाई निर्देश गर्दछ ।’ समितिको बैठकमा खानेपानी मन्त्रालयबाट सम्पादित कार्यहरु, भावी कार्ययोजना, कार्यान्वयनका क्रममा देखिएका समस्या र चुनौतीका बारेमा छलफल भएको थियो ।

मेलम्चीको पानी काठमाडौं ल्याइसकेपछि ढलको व्यवस्थापन कसरी हुन्छ ? भन्ने योजना पेश गर्न समेत समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । अहिले भएका ढल प्रणालीको क्षमताले पानी आइसकेपछि व्यवस्थापन गर्ने क्षमता राख्ने वा नराख्ने अध्ययन नभएको भन्दै ढलको क्षमता लगायत कार्ययोजना पेश गर्न समितिले भनिएको छ ।


‘कतिपय विज्ञहरुले मेलम्चीको पानीको प्राप्तिपछि काठमाडौंको पानीको ढल अस्तव्यस्त हुने प्रारम्भिक अनुमान गरेको छ,,’समितिको निर्देशनमा भनिएको छ, ‘यस विषयमा गरेका कार्यहरु, वर्तमान ढलको क्षमता लगायत मन्त्रालयको वार्षिक कार्यक्रम एवम् दिर्घकालीन कार्ययोजना सम्बन्धी जानकारी यस समितिलाई १५ दिन भित्र उपलब्ध निर्देश गर्दछ ।’


काठमाडौं उपत्यकामा वितरण गरिने खानेपानी पिउन योग्य नभएको गुनासो छ । संविधानको धारा ३५(४) मा स्वच्छ खानेपानीलाई मौलिक हकको रुपमा राखिएको छ । समितिले काठमाडौं उपत्यकाका धारामा आउने पानी गुणस्तरहीन भएको आरोप लगाएको छ ।


‘गुणस्तरहीन भएकोमा कुनै दुविधा छैन,’समितिको निर्देशनमा भनिएको छ,‘तसर्थ, स्वच्छ पिउनयोग्य पानी भनी मापदण्ड निर्धारण गर्न वा नेपाल गुणस्तर चिन्ह प्राप्त गर्ने व्यवस्था मिलाउन निर्देश गर्दछ ।’


काठमाडौं मेलम्ची खानेपानी प्रणालीमा एङग्री र लार्के खोलाबाट थप १८ करोड लिटर पानी थप गर्ने डीपीआरलाई प्राथमिकता दिन पनि पनि समितिले निर्देशन दिएको छ ।

प्रकाशित : भाद्र १२, २०७५ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?