१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

उपसभामुख तुम्बाहाम्फे भन्छिन्, 'फाँसीको कानुन बनाउन सकिँदैन'

दमक — प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले बलात्कारीलाई फाँसीको सजाय दिने कानुन निर्माण गर्न नसकिने बताएकी छन् । उनले देशमा बलात्कार तथा यौनजन्य हिंसाका घटना बढे पनि त्यसमा संलग्नलाई फाँसीको सजाय दिने कानुन बनाउन नसकिने बताइन् । 

उपसभामुख तुम्बाहाम्फे भन्छिन्, 'फाँसीको कानुन बनाउन सकिँदैन'

झापाको दमकस्थित मेची सहकारी संस्थाको २२ औं वार्षिकोत्सव तथा २४ औं साधारणसभालाई सम्बोधन गर्दै उपसभामुख तुम्बाहाम्फेले फाँसीको कानुन बनाउन नसके पनि बाँचुञ्जेल जेलमा बस्ने कानुन निर्माण गरेको बताइन् । उनले अन्तर्राष्ट्रिय महासन्धिमा जस्तोसुकै अपराध भए पनि आफ्नो मुलुकमा फाँसीको सजाय नदिने भनी नेपालले हस्ताक्षर गरेकाले उक्त कानुन निर्माण गर्न नसकिने बताएकी हुन् । ‘देशमा बढेको बलात्कार र यौन हिंसाका घटनाका दोषीलाई फाँसीको सजायको माग उठिरहेको छ । तर, हामी अन्तर्राष्ट्रिय महासन्धिका कारण फाँसीको सजाय दिने कानुन बनाउन सक्ने अवस्थामा छैनौं’ तुम्बाहाम्फेले बताइन् ।


उनले अवोध बालिकादेखि वृद्धा हजुरआमाहरु बलात्कृत हुनुपर्ने अवस्था समग्र देशवासीका लागि दुखद् भएको टिप्पणी गरिन् । उनले कानुनसँगै यौनजन्य घटनाप्रति हाम्रो सामाजिक क्रियाकलापलाई परिवर्तन गर्नुपर्नेमा जोड दिइन् । उनले यौनजन्य शिक्षा र जनचेतनाका कार्यक्रमहरुलाई गाउँगाउँसम्म पुर्‍याउन आग्रह समेत गरिन् । ‘यौनजन्य शिक्षा र जनचेतनाको कमीले पनि यस्ता घटनाहरु बढ्दै गएका छन् । युवा पुस्तालाई सानै उमेरमा यसबारे सावधान गराउन जरुरी बनेको छ’ उनले भनिन् ।

प्रकाशित : भाद्र १२, २०७५ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?