सशस्त्र प्रहरी काठ तस्करी प्रकरण : अनुसन्धान अन्तिम चरणमा 

चार मध्ये तीन जना नियन्त्रणमा 
रमेशचन्द्र अधिकारी

धनकुटा — तत्कालीन सशस्त्र प्रहरी बल अरुण गुल्म (हालको ४ नम्बर गुल्म) संखुवासभा चैनपुरको सवारी साधनमा सखुवाको काठ तस्करी प्रकरणकाे अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

सशस्त्र प्रहरी काठ तस्करी प्रकरण : अनुसन्धान अन्तिम चरणमा 

गत जेठमा सशस्त्रको बा १ ग १६६९ नम्बरको ट्रकमा राखेर लैँजादै गरेको सखुवाको काठ तस्करी प्रकरण तीन महिनाको अनुसन्धानपछि अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ ।


हालसम्म वन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सशस्त्र प्रहरीको छानबिन समिति र गृह मन्त्रालय गरी चार निकायबाट घटनाबारे अनुसन्धान तथा छानबिन समिति गठन गरिएका छन् । जसमध्ये डिभिजन बन कार्यालय धनकुटाले शिवशंकर ठाकुरको नेतृत्वमा गठन गरेको अनुसन्धान टोलीले गहिराइमा पुगेर घटनाबारे छानविन गरिरहेको जनाइएको छ ।


घटनामा संलग्न ‘मुख्य व्यक्ति’ भनिएका सशस्त्र प्रहरी चैनपुरका तत्कालीन डिएसपी रामप्रसाद भण्डारीलाई निलम्बन गरिएको थियो । यसैबिच उनलाई गृह मन्त्रालयले सरकारी सेवामा भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्त गरेको स्रोतले जनाएको छ ।


घटनामा संलग्न भएको भनिएका चार जना मध्ये तीन जना सम्पर्कमा आइसकेको वन कार्यालय स्रोतले जनाएको छ । ती मध्ये चालक प्रहरी जवान दिपेन्द्रकुमार कर्मकार गत साउन २३ मा पक्राउ परेका छन् । प्रहरी जवान विनोद कट्टेल र मिलनकुमार राई सोमबार (भदौ ११) मा वन कार्यालयमा हाजिर भएका छन् ।


मुख्य अभियुक्त भनिएका सशस्त्र प्रहरी नायब उपरीक्षक भण्डारी वनको अनुसन्धान टोलीको सम्पर्कमा आएका छैनन् । उनलाई हाजिर हुन सात दिनको म्यादसहित पत्राचार गरिएपनि हालसम्म सम्पर्कमा नआएको जनाइएको छ । यसैबिच गत भदौ ५ गते सशस्त्र प्रहरीको बाहिनी तथा गृह मन्त्रालयमा इमेलमार्फत भण्डारीलाई हाजिर हुन पत्रचार गरिएको अनुसन्धान अधिकृत ठाकुरले जानकारी दिए ।

‘हामी घटनाको अनुसन्धानको अन्तिम अवस्थामा पुगेका छौं,’ उनले भने, ‘एउटै घटनामा चार वटा निकायबाट छानबिन समिति गठन गरिएकाले किनारामा पुग्न केही ढिलाई भएको हो ।’ सोमबार सम्पर्कमा आएका राई र कट्टेलले घर बिदामा जानेक्रममा तस्करीमा प्रयोग गरिएको सवारी साधनमा रहेको बयान दिएका छन् ।


यसैगरी डिभिजन वनका प्रमुख कृष्णप्रसाद वस्तीले पनि अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएका छन् । उक्त घटनामा संलग्न चार मध्ये तीन जना सम्पर्कमा आएको र मुख्य व्यक्ति डिएसपी भण्डारीमात्र हाजिर हुन बाँकी रहेको उनले बताए । तस्करीमा प्रयोग गरिएको बा १ ग १६६९ नंबरको ट्रक डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ ।


उनले चैनपुरको सिस्ने सामुदायिक वनले सशस्त्रको टहरा बनाउन उपलब्ध गराएको भनिएको काठ संखुवासभा, तेह्रथुम र धनकुटाका सुरक्षा पोष्ट पार गर्दै धनकुटाको मुलघाट पुग्नेक्रममा गत जेठमा नियन्त्रणमा लिइएको थियो ।


सशस्त्रको ट्रकमा राखेर धनकुटाहुँदै विराटनगरतर्फ करिब सात लाख मुल्य पर्ने एक सय क्वीविक फिट बढी सखुवाका काठ तस्करी गरिएको थियो । अन्य जिल्लामा निकासी प्रतिबन्धित सखुवाको काठ भेटिएपछि सशस्त्रको मुलघाटस्थित चेक पोष्टले नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरी बल अरुण गुल्मको सवारी साधनमा अवैध रुपमा सखुवाको काठ तस्करी गरिएकोबारे तत्काल सशस्त्र प्रहरी बल पकलीस्थित वाहिनीका एसपी गुणाकर खनालको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको थियो ।

प्रकाशित : भाद्र १२, २०७५ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?