बिमस्टेक सम्मेलन : दुई राष्ट्रपतिले लुम्बिनी भ्रमण गर्ने

‘गोकर्ण रिसोर्टमा रिट्रिट तयारी’

काठमाडौँ — बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिमस्टेक)को आसन्न शिखर बैठकमा सहभागी हुन काठमाडौं आउनेमध्ये म्यानमार र श्रीलंकाका राष्ट्रपति लुम्बिनी भ्रमणमा जाने भएका छन् ।  

बिमस्टेक सम्मेलन : दुई राष्ट्रपतिले लुम्बिनी भ्रमण गर्ने

भदौ १४–१५ मा हुन लागेको बिम्स्टेक चौथो शिखर सम्मेलनमा भाग लिन म्यानमार राष्ट्रपति विन मिन्ट मंगलबार अपरान्ह काठमाडौं आउँदैछन् । परराष्ट्र अधिकारीका अनुसार, राष्ट्रपति मिन्ट बुधबार लुम्बिनी भ्रमणमा जानेछन् । यसैगरी, सम्मेलन सकिएपछि आगामी शनिबार श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना लुम्बिनी भ्रमणमा जाने भएका छन् । श्रीलंकाली राष्ट्रपति सिरिसेना र भुटानका प्रधानन्यायाधीश बुधबार काठमाडौं आइपुग्नेछन् ।

यसैगरी, शिखर बैठक सुरु हुने दिनमै आगामी बिहिबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्याण्ड प्रधानमन्त्री प्रयुत चान–ओ–चा र बंगालादेशका प्रधानमन्त्री शेख हसिना बाजेद काठमाडौं उत्रनेछन् । होटल सोल्टीमा संचालन हुने शिखर बैठकको अन्तिम दिन गोकर्ण रिसोर्टमा ‘रिट्रिट’ आयोजना गर्ने तयारी भैरहेको परराष्ट्रले जनाएको छ ।

‘तर, गोकर्ण जाने सडकको अवस्था नाजुक रहेकाले विशिष्ठ अतिथीहरुलाई विमानस्थलबाट हेलिकोप्टरमा गोकर्ण लैजानेबारे परामर्श चलिरहेको छ,’ एक अधिकारीले भने ।

सन् १९९७ मा स्थापना भएको बिमस्टेकको पहिलो सम्मेलन सन् २००४ मा बैंककमा भएको थियो । दोस्रो सम्मेलन भारत (२००८) र तेस्रो म्यानमार (२०१४)मा सम्पन्न भएको थियो ।


प्रकाशित : भाद्र ८, २०७५ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?