१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बलात्कारको घटनामा संलग्न दोषीलाई नियन्त्रण गरी कानूनी दायरामा ल्याउन सांसदको माग

प्रतिनिधिसभा– शून्य समय
रासस

काठमाडौँ — प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्ने सांसदले निर्वाचन क्षेत्र, जिल्ला र समग्र मुलुकका समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । 

बलात्कारको घटनामा संलग्न दोषीलाई नियन्त्रण गरी कानूनी दायरामा ल्याउन सांसदको माग

बैठकमा सांसद विमला नेपालीले काठमाडौं उपत्यकाका सडक समयमै मर्मत गर्न नसक्दा राजधानीवासीले ठूलो सास्ती व्यहोर्नु परेको धारणा व्यक्त गरिन् ।


सांसद भीमसेनदास प्रधानले महंगी र करका कारण नेपाली जनता मारमा परेकाले जनतालाई राहत दिने हो भने कम्तीमा पनि जन्म र मृत्यु दर्ता निःशुल्क गर्ने व्यवस्था गर्न सुझाव दिए । सांसद भूपेन्द्र थापाले म्याग्दी जिल्लालाई हिमाली जिल्लामा समावेश गर्न माग गरे । सांसद महेश बस्नेतले भक्तपुरको चाँगुनारायणमा रहेको नेपाल इञ्जिनियरिङ कलेजमा भएको घोटालाको छानबिन गरी उक्त कलेज अब स्थानीय निकायले सञ्चालन गर्ने व्यवस्था गर्न आग्रह गरे ।


सांसद महेश्वरराज गहतराजले स्थानीय तहले गरेको करसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्न आवश्यक रहेको बताए । सांसद मायादेवी न्यौपानेले काठमाडौं उपत्यकामा रहेका छाडा भुस्याहा कुकुरलाई नियन्त्रण गर्ने कार्य अविलम्ब सुरु गर्न आग्रह गरिन् ।

सांसद मीनबहादुर विश्वकर्माले कञ्चनपुरमा केही दिनअघि भएको बलात्कारको घटनामा संलग्न दोषीलाई नियन्त्रण गरी कानूनी दायरामा ल्याउन सुझाव दिए ।


सांसद मीना सुब्बाले धरान नगर हेर्दा जति सुन्दर छ, त्यति नै विमानस्थल र सडक समस्या रहेको जनाउँदै सडक, बसपार्क र विमानस्थलको आवश्यक व्यवस्था गर्न माग गरिन् । सांसद डा मीनेन्द्र रिजालले सरकारलाई जनताप्रति उत्तरदायी हुने व्यवस्था मिलाउन सदनको ध्यानाकर्षण गरे ।


सांसद मीना पाण्डेले मुलुकका विभिन्न ठाउँमा भएका बलात्कारका घटनामा संलग्न अपराधीलाई कानूनी दायरामा ल्याउन माग गरिन् । सांसद मैनाकुमारी भण्डारीले कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई कानूनी दायरामा ल्याएर कारबाही चलाउन सुझाव दिइन् ।


सांसद यज्ञराज सुनुवारले मुलुकमा शान्ति र समृद्धि देख्न नचाहनेले हत्या हिंसाका घटना मच्चाएको हुन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए । सांसद रणमती शाहीले कञ्चनपुरमा बलात्कारीलाई पक्राउ गरेको विरोधको कार्यक्रममा भएको प्रहरी हस्तक्षेपको विरोध गरिन् ।


सांसद राजन केसीले सांसद निरुपालमाथि भएको घटनाको छानबिनको अवस्था कहाँ पुग्यो, ३३ किलो सुन कहाँ गयो भने । सांसद राजेन्द्रकुमार राईले छिन्ताङ घटनाका शहिदका परिवारलाई राहत उपलब्ध गराउन माग गरे ।


सांसद राधाकुमारी ज्ञवालीले सरकार र राजनीतिक दललाई संविधान संशोधन गरेर भए पनि बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्न आवश्यक रहेको धारणा राखे । सांसद रामबहादुर विष्टले संसद्‌मा उठाएका विषयमा सरकार गम्भीर नभएको भन्दै सांसद निरुदेवी पालमाथि भएको घटनाको छानबिन कहाँ पुग्यो भने ।


सांसद रामेश्वर रायले सर्लाही जिल्लालगायतका उखु किसानको चिनी मिलले भुक्तानी गर्न ९ अर्ब बाँकी रहेकाले उक्त बक्यौताको तत्काल भुक्तानी गर्ने व्यवस्था मिलाउन विशेष पहल गर्न माग गरे । सांसद लक्ष्मीकुमारी चौधरीले बर्खायाममा नदीबाट बालुटा, गिट्टी निकाल्न नपाइने भनिए पनि अहिले मुलुकमा विभिन्न खोलाबाट ती वस्तु निकाल्ने काम भइरहेकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित : भाद्र ७, २०७५ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?