मुलुक समृद्ध बनाउन उत्पादनमा लाग्नुस् : प्रधानमन्त्री ओली

अर्जुन राजवंशी

दमक — प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादनमुखी पेशामा लाग्न आग्रह गरेका छन् । उनले कृषिमा आधुनिकीकरण गर्न सके ठूलो फड्को मार्न सकिने दाबी गर्दै त्यसतर्फ लाग्न आग्रह गरेका हुन् । बुधबार झापाको गौरादहमा प्रधानमन्त्री ओलीलाई गरिएको नागरिक अभिनन्दन कार्यक्रम गरिएको छ । अभिनन्दनपछि बोल्दै प्रधानमन्त्री ओलीले ठूलो स्केलमा उत्पादन हुने गरी कृषिमा लाग्न आम किसानलाई आग्रह गरे । 

मुलुक समृद्ध बनाउन उत्पादनमा लाग्नुस् : प्रधानमन्त्री ओली

उनले कृषिमा आधुनिकीकरण गर्न सके, मुलुकलाई समृद्ध बनाउन धेरै समय नलाग्ने बताए । ओलीले किसानले आधुनिक कृषि पेशा गर्न चाहे सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । ‘आधुनिक हिसाबले खेती गर्ने हो भने, समृद्धिको ढोका त्यहीबाट खोल्न सकिन्छ । त्यसैले कृषिमा लागौं । प्राकृतिक उत्पादन गरौं, जमिन पर्याप्त छ । अब सबै मिलेर उत्पादन बढाउनेतिर लागौं’ उनले भने ।


प्रधानमन्त्री ओलीले कृषिका लागि झापा र मोरङमा कुनै समस्या नभएको दाबी गरे । उनले उच्च बाँध बाँधेर तमोरको पानी चिसाङमा ल्याएर मोरङमा तथा कनकाईको पानीले झापामा सिँचाइको व्यवस्था गर्न सकिने बताए । प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासको बाटोमा हिडेको बताए । उनले कानुनको गलत प्रयोग गर्न नदिन सरकार कटिबद्ध भएर लागेको बताए । उनले भने,‘एक हिसाबले म राजनीतिक जोगी जस्तै भईसकेको छु । हामीलाई कुनै ढाट–छल गर्नु छैन । त्यसैले सरकार कानुनी राज्य स्थापित गर्न लागिपरेको छ ।’


प्रधानमन्त्री ओलीले आफूले विकास कसरी गर्नुपर्छ भन्ने कुरा राम्ररी बुझेको बताए । ‘मैले जेल–नेल भोगेको छु । लात–सलाद खाएको छु । ७७ वटै जिल्ला घुमेको छु । सबै जिल्लाका भूगोल बुझेको छु । देश–विदेश सबै देखेको छु । मलाई राम्ररी थाहा छ, विकास कसरी गर्नुपर्छ,’ उनले भने । उनले केही गरेर देखाउने राम्रो अवसर पाएकाले त्यसको भरपूर उपयोग गर्ने बताए । उनले भने,‘मेरा लागि यो एउटा ठूलो अवसर बनेको छ । यतिबेला राजनीतिक रुपले, स्वास्थ्यको हिसाब पनि यो मेरा लागि अवसर हो । त्यसैले मैले यो अवसरलाई पूरा उपयोग गर्न राम्रा कामहरु गर्नुको विकल्प छैन ।’


उनले आफूले भनेका सबै कुराहरु पूरा गराएरै छाड्ने उद्घोष गरे । अघिल्लो पटक राम्रा काम गर्ने योजना बनाउदै गर्दा पदबाट हटाएकाले देखिने गरी काम गर्न नसकेको बताए । तर, यस पटक त्यो अवस्था नरहेकाले विस्तारै सबै प्रतिबद्धताहरु पूरा हुदै जाने बताए । ‘तपाईहरु हेर्दै जानुस्, अबको दुई वर्षपछि पूर्वपश्चिम रेल कसरी गुड्छ । तुइन अबको केही समयमा विस्थापित हुँदैछ,’ उनले भने,‘घर घरमा पाइपबाट ग्यास पुग्ने सिस्टमको मैले विराटनगरमा उद्घाटन गरिसके ।’


ओलीले हल्ला भएजस्तो कर वृद्धि नभएको बताए । उनले जनप्रतिनिधिलाई जनताको सेवामुखी भएर काम गर्न निर्देशन दिए । अनुभवको अभावमा वा भुलचुक कतै करको मात्रा बढेको भए, त्यसलाई समायोजन गर्न पनि जनप्रतिनिधिलाई निर्देशन दिए । उनले स्थानीय सरकारसँग कर वृद्धि गर्ने अधिकार भएकाले कर वृद्धि भएको टिप्पणी गरे । सरकारबाट सेवा सुविधा लिदा कर पनि तिर्नुपर्छ भन्ने मानसिकताबाट विचलित नहुन आग्रह गरे ।


प्रधानमन्त्री ओलीले बुधबार नै कमल गाउँपालिकास्थित प्रादेशिक आयुर्वेद चिकित्सालय भवनको शिलान्यास गरेका थिए । निर्धारित समयभन्दा करीब ३ घण्टा ढिला गरी आएका प्रधानमन्त्री ओलीले बाटो हिलो भएकाले कार्यक्रम स्थलमै नपुगी शिलान्यास गरेका थिए । पानीमा भिज्दै ३ घण्टाभन्दा बढी समयसम्म बसेका स्थानीय प्रधानमन्त्री कार्यक्रम स्थलसम्म नआउदा रुष्ट बनेका थिए । शिलान्यास कार्यक्रममा आउनुअघि प्रधानमन्त्री ओलीले नेकपाको जिल्ला कमिटी चयनबारे जिल्ला नेताहरुसँग छलफल गरेका थिए ।


अध्यक्ष, सचिवसहित तत्कालीन एमाले र माओवादी केन्द्रबाट कति जना नेता जिल्ला कमिटीमा बस्ने भन्ने विषयमा सहमति जुटेपनि नेतृत्व तहमा को–को जानेबारे टुंगो लागेको छैन । त्यस विषयमा कमल गाउँपालिकास्थित सशस्त्र प्रहरीको पाथीभरा गणमा जिल्लास्तरीय नेताहरुसँग करीब ३ घण्टा छलफल गरेका थिए ।


प्रधानमन्त्री ओलीले बुधबार बिहान मोरङको पथरीशनिश्चरे नगरपालिकामा कार्यकर्ता भेटघाट गरेका थिए । मोरङ ३ बाट निर्वाचित भानुभक्त ढकाल कानुन मन्त्री भएकोमा बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा ओलीले मुलुकलाई समृद्ध बढाउने प्रतिज्ञासहित सरकारको नेतृत्व गरिरहेको बताएका थिए ।


उनले आफूले मुलुकको बागडोर सम्हाले पनि समृद्ध मुलुक निर्माणमा सबैको सहयोग आवश्यक रहेको बताएका छन् । उनले आफ्नो कार्यकालमा कुनै किसिमको भ्रष्टाचार हुन नदिने बताए । उनले विगतमा शासकले बैमानीले गर्दा मुलुक पछि परेकाले अब त्यस्तो हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित : भाद्र ६, २०७५ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?