२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

तोकिएको सुविधा पाउँदैनन् ज्येष्ठ नागरिक

बुटवल — ऐनमा ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारीमा दुई सिट सुरक्षित राख्न र भाडामा कम्तीमा ५० प्रतिशत छुट दिन उल्लेख छ । उपचारमा ५० प्रतिशतसम्म छुट गर्नुपर्ने प्रावधान छ । तर, ज्येष्ठ नागरिक जताततै अपमान खेप्न बाध्य छन् ।

तोकिएको सुविधा पाउँदैनन् ज्येष्ठ नागरिक

बुटवल–७, दीपनगरका ८० वर्षीय नित्यानन्द पाण्डेय न्यायका लागि सर्वोच्च अदालतसम्म पुगे । स्थानीय, प्रदेश, संघीय सरकार र मातहतका सरकारी संस्थामा धाउँदा गुनासो सुनुवाइ भएन । ‘राज्यले अधिकार दियो, सुविधा दियो । तर, मातहत कार्यालयले मानेनन्,’ उनले भने, ‘अधिकार खोसिएपछि चुप लागिनँ ।’ ज्येष्ठ नागरिकका हैसियतमा सुविधा खोज्दा अपमान, दुव्र्यवहार र आक्रमण खेप्नुपरेको उनले बताए ।

पाण्डयेका अनुसार उनी ०७३ पुस २० गते अर्घाखाँचीको चिदिकाबाट लु१ख ५९५६ नम्बर बस चढेर बुटवल आउँदै थिए । बसमा परिचयपत्र देखाउँदै ५० प्रतिशत कटाई १ सय ६५ रुपैयाँ भाडा दिए । तर, सहचालकले छुटको साटो गाली गरे । बसबाट झारिदिन्छु भन्दै धम्क्याए । बुटवल पुगेर काउन्टरका कर्मचारीसामु गुनासो गर्दा परिचयपत्र च्यातिदिए ।

०७४ असार १२ गते उनी बुटवलबाट सन्धिखर्क जान ना४ख ६६९२ नम्बरको गाडी चढे । ३ सय पूरा भाडा थियो । सहुलियत दाबी गर्दै १ सय ५० रुपैयाँ दिए । यसपटक पनि छुट दिएनन् । ‘बस कर्मचारीले आक्रमण गरी लुगा च्यातिदिए,’ उनले गुनासो गरे, ‘ममाथि आक्रमण हुँदा पनि अरू यात्रु छुट दिनुपर्छ भन्ने पक्षमा देखिएनन् ।’

पाण्डेय सुविधाको साटो अपमान बेहोर्नुपरेपछि न्यायका लागि बस समिति, यातायात व्यवस्था कार्यालय, प्रहरी र प्रशासनसमक्ष पुगे । तर, कार्यालयहरू उनको पक्षमा देखिएनन् । ‘संविधानमा लेखियो भन्दैमा अधिकार पाइँदैन भनेर हप्काए,’ उनले भने, ‘न्याय नपाएपछि सर्वोच्च अदालत पुगें ।’

अधिकार खोसिएको र सुविधा माग्दा शारीरिक, मानसिक हिंसा र आक्रमण भएको भन्दै गत फागुन ६ गते सर्वोच्चमा रिट निवेदन दिए । त्यसमा ९ सरकारीसहित ११ कार्यालयलाई विपक्षी बनाए । ज्येष्ठ नागरिक ऐनअन्तर्गत सुविधा माग गर्दा दुव्र्यवहार, शारीरिक–मानसिक अपमान सहनुपरेका १३ घटनाका तथ्यगत प्रमाणसमेत पेस गरे ।

रिटमा गत फागुन ९ गते सुनुवाइ गर्दै सर्वोच्चले ज्येष्ठ नागरिकलाई बिनाभेदभाव स्वास्थ्य उपचार एवं सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा न्यूनतम ५० प्रतिशत छुटको सुविधा उपलब्ध गराउन अन्तरिम आदेश जारी गरेको थियो ।

आदेशपछि पनि पाण्डेयले सुविधा नपाएको गुनासो गरेका छन् । गत चैत ५ गते उनी काठमाडौंबाट भैरहवा आउने बस चढे । कर्मचारीले छुट दिएनन् । असार ८ गते भैरहवास्थित बुद्धचोकबाट छपिया जाँदै गरेको लु१ख ४६२५ नम्बरको बस चढे । उनीसँगै ७९ वर्षीया पत्नी विष्णु थिइन् । छुट खोज्दा बसबाटै झारिदिए । न्यायका लागि इलाका प्रहरी छपिया पुगे । त्यहा पनि राम्रो व्यवहार नपाएको गुनासो उनको छ ।

प्रकाशित : भाद्र ४, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?