कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

प्रदेश २ मा क्यान्सर अस्पताल बन्दै, विश्वस्तरीय सेवा दिने दावी

अतुल मिश्र

रामगोपालपुर (महोत्तरी) — प्रदेश २ मा ५० शैय्याको नाफारहित क्यान्सर अस्पताल खुल्ने भएको छ । रामगोपाल नगरपालिकाद्वारा प्रदान गरिएको ४ विघा जग्गामा ‘विनयतारा फाउन्डेसन क्यान्सर सेन्टर’खोल्न लागेको हो । यो यस प्रदेशको पहिलो क्यान्सर अस्पताल हुनेछ ।

प्रदेश २ मा क्यान्सर अस्पताल बन्दै, विश्वस्तरीय सेवा दिने दावी

यस अस्पतालबाट मुलुकभित्रकाले मात्र नभई विहार, उत्तरप्रदेश, पश्चिम वंगालका केहि भागका विरामीलेसमेत सेवा पाउने छन् । यो क्यान्सर सेन्टर विनयतारा क्यान्सर ट्रष्ट नेपाल, विनयतारा फाउन्डेसन, युएसए र रामगोपालपुर नगरपालिकाले मिलेर बनाउन लागेको हो ।


तीन वटै पक्षवीच अस्पताल सञ्चालन बारे समझदारी पत्रमा हस्ताक्षर भएको छ । गत विहीबारदेखि नगरपालिकाभित्र तत्कालको लागि भाडाको कोठामा क्यान्सर क्लिनिक समेत सञ्चालन गरिएको छ ।


‘यो अस्पताल ३/४ वर्षमा सकिने गरी निर्माण कार्य शुरू गरिने छ’, नगरपालिकाका मेयर अशोक कुमार मण्डलले बताए । उनले अस्पताल नगरपालिकासहितका तीन वटै संस्था मिलेर सञ्चालन गरिने बताए ।


विनयतारा फाउन्डेसन, युएसएका अध्यक्ष एवं अंकोलजिष्ट डा. विनय साहले क्यान्सर अस्पताललाई एशियाकै महत्वपुर्ण अस्पतालको रुपमा स्थापित गर्ने बचन दिएकोसमेत मेयर मण्डलको भनाई छ ।

‘यहाँ अन्तराष्ट्रियस्तरको क्यान्सर केन्द्र सञ्चालन गर्ने योजना छ’, विनयतारा क्यान्सर ट्रष्टका अध्यक्ष एवं ग्यास्ट्रो सर्जन डा. राकेशप्रसाद साहले भने । उनका अनुसार ५० शैय्याको अस्पताल निर्माण गरी क्रमिक रूपमा आवश्यकता अनुसार शैय्या बढाउँदै लगिने छ ।

डा. साहका अनुसार विनय तारा फाउन्डेसन, युएसएले काठमाडौं र जनकपुरमा हस्पिस सेवा संञ्चालन गर्दै आएको छ । यस्तै फाउन्डेसनले नाइजेरिया र भारतको मध्य प्रदेशमा समेत हस्पिस सेवा संञ्चालन गर्दे आएको छ । फाउन्डेसनले निजामति अस्पतालमा वोन म्यारो प्रत्यारोपनको लागिसमेत सघाउँदै आएको छ ।

हाल क्यान्सर सेन्टरले गत बुधवारदेखि समय मै रोग पहिचानको लागि क्यान्सर स्क्रिनिङ्ग सेवा र क्यान्सर रोगीलाई अन्तिम अवस्थामा दिइने उपचार ‘पैलेटिभ केयर’ समेत शुरु गरेको छ ।

डा. साहका अनुसार अगामी एक महिनाभित्र क्यान्सर सेन्टरमा प्रयोगशाला, अल्ट्रासाउन्ड, एकस–रे, मेमोग्राम, कोलोनोस्कोपी, इन्डोस्कोपी सेवा शुरु हुनेछ । त्यस्तै पाठेघरको मुखको क्यान्सर पहिचानको लागि पैप स्मेयर परीक्षण सेवासमेत एक महिना भित्र शुरु हुनेछ ।

‘हामी साढे चार महिनापछि (डिसेम्बरदेखि) शल्यक्रिया सेवासमेत सुरु गर्नेछौं’, डा. साहले भने । क्यान्सर केन्द्रमा डिसेम्वर महिनादेखि एक जना अमेरिकी चिकित्सकलेसमेत सेवा दिन बताइएको छ ।


सन २०१९ देखि आफ्नो भवनबाट सिटि स्कयान, रेडियोथेरापीलगायतका सेवा दिने लक्ष्यसमेत राखिएको छ । ‘यो केन्द्र विश्वस्तरको बनाउने अवधारण अनुसार निर्माण थालिएको हो, अमेरिका र यहाँ उस्ता उस्तै उपचार विधि होस् भन्ने अवधारणमा हामी अगाडि बढ्दै छौं’, डा. साहले भने, ‘हामीले यहाँको प्रयोगशालामा गरेको विभिन्न परीक्षणको स्लाइडलाई अमेरिकामासमेत परीक्षण गरिनेछ । अर्थात यसको विश्वसनीयता विश्वस्तरको हुनेछ ।’


प्रदेश २ मा क्यान्सर विरामीहरु तेश्रो/चौथा अवस्थामा चिकित्सक नजिक पुग्ने गरेको औल्याउदै जनकपुर अञ्चल अस्पतालका कन्सलटेन्ट क्यान्सर शल्य चिकित्सक डा. अवधेश कुमार साहले क्यान्सरप्रति सजगता, जागरुकता धेरै न्युन रहेको बताए ।

जनकपुरमा कार्यरत डेन्टल सर्जन डा. सन्तोष पञ्जियारले प्रदेश २ मा बढी मात्रामा मुखको क्यान्सरका रोगीहरू देखिने गरिएको बताए । डा. साहका अनुसार क्यान्सर अस्पताल खुलेपछि गरिब, बाहिर गएर उपचार गराउन नसक्नेलाई मात्र नभई स्थानीय जनतामा क्यान्सर स्क्रिनिङ्गलगायतका उपचार गर्न सकिने अवस्था मै रोगको पहिचान गर्न समेत मद्दत पुग्ने बताए ।

प्रकाशित : भाद्र ३, २०७५ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?