दुई कामु प्रधानन्यायाधीश !

काठमाडौँ — मुलुकी ऐनलाई विस्थापित गर्दै नयाँ कानुन लागू भएको दिन शुक्रबार दुई जनाले कामु प्रधानन्यायाधीशको हैसियतमा शुभकामना दिएका छन् ।

दुई कामु प्रधानन्यायाधीश !

प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि १५ दिन बिदामा रहेका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले घरबाटै शुभकामना दिएका थिए । कामु प्रधानन्यायाधीशको हैसियतमा सर्वाेच्चको दैनन्दिनको काम सम्हाल्दै आएका ओमप्रकाश मिश्रले भने सिंहदरबार पुगेर औपचारिक समारोहमा नयाँ कानुनले आम मानिसको व्यवहारलाई सुधार्ने अपेक्षाका साथ यसको थालनी शुभ होस् भनी कामना गरेका थिए ।

प्रधानन्यायाधीशको स्वकीय सचिवालय बालुवाटारका तर्फबाट भन्दै जोशीका छोरा अधिवक्ता प्रवीन्द्रराज जोशीले सञ्चारकर्मीहरूलाई शुभकामना मन्तव्यको प्रति इमेल पठाएका थिए । उक्त मन्तव्यमा संविधान र कानुनको उचित पालना हुनुपर्ने भनी उल्लेख छ । मन्तव्यमा उनले भनेका छन्, ‘संविधान, कानुनको उचित पालना नगरी आफूखुसी गरिने व्याख्याको कुसंस्कार कायमै रहेमा जतिसुकै नयाँ संविधान, कानुन बने पनि हामी न्यायको गन्तव्यमा पुग्न सक्दैनौं ।’ करिब डेढ पेज लामो वक्तव्यमा जोशीले आफूलाई कामु प्रधानन्यायाधीश तथा न्यायपरिषद्का अध्यक्ष भनी परिचय गराएका छन् ।

तर यता सर्वोच्च अदालतको वेबसाइटमा कायममुकायम प्रधानन्यायाधीश भनी ओमप्रकाश मिश्रको नाम उल्लेख छ । सर्वाेच्चको नेतृत्व पनि कामुका हैसियतमा मिश्रले नै गरिरहेका छन् । नयाँ कानुन लागू भएको अवसरमा कानुन मन्त्रालयले शुक्रबार आयोजना गरेको समारोहमा पनि न्यायालयको प्रतिनिधित्व गर्दै मिश्र नै पुगेका थिए र मन्तव्य पनि दिए ।

तर मिश्रले शुभकामनाका केही शब्द बोल्ने पालो आउनुअघि नै कामु प्रधानन्यायाधीशको नाममा जोशीको वक्तव्य सञ्चार गृहहरूमा पुगिसकेको थियो । राजीनामा नदिइसकेकाले आफू प्राविधिक रूपमा कामु प्रधानन्यायाधीशै छु भन्ने दाबी जोशीमा देखिन्छ । तर सर्वाेच्चले न्यायाधीशहरूको नामावलीको सूचीमा जोशीको नाम पहिलो क्रममा रहे पनि उनलाई कामुका रूपमा नभएर न्यायाधीशका रूपमा मात्रै परिचय गराएको छ ।

प्रकाशित : भाद्र २, २०७५ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?