१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

एक सातामा सवा ५ अर्ब छलीका मुद्दा

कृष्ण ज्ञवाली

काठमाडौँ — सरकारले करिब आधा दर्जन घटनामा ५ अर्ब २२ करोड रुपैयाँ राजस्व छली भएको दाबीसहित विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

एक सातामा सवा ५ अर्ब छलीका मुद्दा

एक साताको अवधिमा राजस्व अनुसन्धान विभागले काठमाडौं, रूपन्देही, पर्सा र बारा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । घटनामा ६ जना सरकारी कर्मचारीसमेत मुछिएका छन् ।

व्यापारी विनोदकुमार गुप्ता र उनी संलग्न फर्म तथा कम्पनीहरूबाट भएको राजस्व छलीका दुई मुद्दा शुक्रबार जिल्ला अदालत काठमाडौंमा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जनाए । ‘उनीलगायत परिवार सदस्य र फर्ममा संलग्न व्यक्तिहरूमाथि आयकर छली र नक्कली प्रज्ञापनपत्र बनाएको आरोप छ,’ मैनालीले भने, ‘एउटा ट्रकमा ल्याइएको सामानमाथि अनुसन्धान हुँदा २२ जनामाथि १० करोड रुपैयाँभन्दा बढीको बिगो मागदाबी छ । अन्य घटनाको पनि अनुसन्धान गर्दैछौं ।’

हिमालयन कार्गोका नाममा सामान ढुवानी/पैठारी गर्ने गुप्ता भारतीय नागरिक हुन् । उनले आव २०६५/६६ देखि हरेक वर्ष वार्षिक ५ हजार रुपैयाँ आयकर बुझाउँदै आएका थिए । पछिल्लो तीन वर्ष भने एक रुपैयाँ पनि आयकर नतिरेको विभाग स्रोतले बतायो । विभागले उनको खाता अनुसन्धान हुँदा हरेक वर्ष ५० करोडदेखि एक अर्ब रुपैयाँसम्म कारोबार भएको भेट्यो । विभागले गुप्तासहित पत्नी मधुकुमारीविरुद्ध ५४ करोड ४२ लाख ४७ हजार ७५२ रुपैयाँ बिगो र त्यति नै जरिवाना माग गरेको छ । गुप्ता दम्पतीमाथि मात्रै २ अर्ब ७२ करोड १२ लाख ३८ हजार ७६० रुपैयाँ बिगो र जरिवाना मागदाबी भएको देखिन्छ । उनीहरूमाथि ३ वर्ष कैद हुनुपर्ने मागदाबी अभियोगपत्रमा गरिएको छ ।

गुप्ताले शृंखलाबद्ध रूपमा राजस्व छली र भन्सार चुहावट गरेको थाहा पाएपछि विभागले उनीमाथि निगरानीसमेत बढायो । दूध र घ्युको नक्कली भन्सार प्रज्ञापनपत्र बनाई सामान ल्याउँदै गरेको अवस्थामा उनको गाडी बरामद भयो । २३ लाख २० हजार रुपैयाँको उक्त सामान ल्याउन २२ जना संलग्न रहेको विभागको दाबी छ । गुप्ताका दाइ रवीन्द्र र वीरेन्द्र, छोरा राहुल, श्रीमती मधुलाई राजस्वले ४६ लाख ४० हजार रुपैयाँका दरले बिगो र जरिवाना मागदाबी गरेको छ ।

उक्त छलीमा रवीन्द्र वनवारी माता ट्रेडर्समा जोडिएको फेला परेको विभागस्रोतले जनायो । गुप्ताको फर्ममा काम गर्ने र अन्य सहयोगी गरी १० जना उक्त मुद्दामा मुछिएका छन् । गुप्ता गत असोजमा समेत नक्कली राजस्व स्टिकरसहित पक्राउ परेका थिए । तर बन्दी प्रत्यक्षीकरणको निवेदनमार्फत सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले २०७४ असोज १८ मा दिएको आदेशमा उनी रिहा भएका थिए । उनीमाथि वीरगन्जको राजस्व कार्यालयले जरिवानासमेत गरेको थियो ।

नक्कली प्रज्ञापनपत्रका आधारमा सामान ल्याउन सहयोग गरेको आरोपमा भन्सार एजेन्टसहित ६ जना कर्मचारीविरुद्ध समेत राजस्वले मुद्दा दायर गरेको छ । प्रमुख भन्सार अधिकृत जनार्दन आचार्य, भन्सार अधिकृत बटुकृष्ण अधिकारी, भन्सार जाँचकी वसन्तकुमार सुवेदी, कम्प्युटर अधिकृत चन्द्रबहादुर क्षत्री, नासु जितबहादुर श्रेष्ठ र भन्सार संकेत निरीक्षक रामबहादुर थापाविरुद्ध राजस्वले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियारले सक्रियता देखाए यी ६ कर्मचारीमाथि भ्रष्टाचार आरोपमा समेत छानबिन हुन सक्छ । दूध र घ्युको नक्कली प्रज्ञापनपत्र तयार गरिएको मुद्दाको कुल बिगोमात्रै १० करोड २० लाख रुपैयाँँ छ ।

राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय बुटवलले अर्कै व्यक्तिको कागजात लिई फर्म खडा गरी राजस्व चुहावट गरेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । भन्सार एजेन्ट नवराजप्रसाद उपाध्याय खनालले कमला रसाइलीको कागजात लिई शिव इन्टरप्राइजेज नामक फर्म खडा गरेको भेटिएको हो । उक्त कम्पनीका सञ्चालकमाथि भन्सार चोरी पैठारी, नक्कली भ्याट बिल र झूटा कागजातका आधारमा राजस्व छलेको आरोप छ । रसाइली सामान्य टेलरिङ सञ्चालन गरी बस्ने व्यक्ति रहेको अनुसन्धानका क्रममा खुलेको राजस्वको दाबी छ ।

यो घटनामा एक अर्ब २३ करोड ४५ लाख ५८ हजार ७२८ रुपैयाँ बिगो मागदाबी गरिएको छ । उनीहरूमाथि तीन वर्ष कैदको मागदाबी छ ।

राजस्वले मण्डला अजिमा इन्टरप्राइजेज खडा गरी राजस्व छलेको आरोपमा शशांक खनाल र राजकुमार गुप्तामाथि ६ करोड ७९ लाख ४६ हजार ३१९ रुपैयाँ बिगो मागदाबी गरेको छ । राजस्वले ६ किलो र ३ किलो सुन तस्करीको आरोपमा ५० करोड ५५ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ । उक्त घटनामा तेन्जिङ तामाङ, दीपककुमार मौर्यसहित ६ जनालाई प्रतिवादी बनाई काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

कालो हिराको भन्सार चोरी निकासीको आरोपमा ४४ करोड ६५ लाख ४४ हजार रुपैयाँ बिगो मागदाबी गरी रमेश रजकसहित ८ जनामाथि मुद्दा चलाइएको छ ।

छाला उल्लेख गरी मरिचको चोरीनिकासी गरेको आरोपमा सञ्जय अग्रवालसहित ४ जनामाथि ६ करोड ७३ लाख रुपैयाँ बिगो र जरिवाना मागदाबी गरिएको छ । उनीहरूमाथि डेढ वर्षका दरले कैद सजाय हुनुपर्ने राजस्वको दाबी छ । रसुवा र वीरगन्ज भन्सार नाकाबाट सेन्डिल, वाई–फाई राउटर, विभिन्न कपडालगायतका सामानको नाममा एक करोड ८४ हजार रुपैयाँको बिगो मागदाबी भएको छ ।

सुन तस्करी र फोटोकपी मेसिनको राजस्व छलेको आरोपमा राजस्वले करिब साढे ७ करोड रुपैयाँको बिगो मागदाबी गरेर ४ जनामाथि मुद्दा दायर गरेको छ ।

प्रकाशित : भाद्र १, २०७५ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?