करको विरोधमा कांग्रेसको प्रर्दशन

घनश्याम गौतम

रुपन्देही — जथाभावी कर संकलनको नीति ल्याएको भन्दै नेपाली कांग्रेसले बुटवल उपमहानरपालिका बिरुद्ध शुक्रबार बुटवलमा प्रर्दशन गरेको छ ।

करको विरोधमा कांग्रेसको प्रर्दशन

नगरपालिकाले यस वर्षदेखि लिन थालेको घरबहालदेखि पार्किङ शुल्कसम्म ५ सय प्रतिशतले बृद्धि गरेको भन्दै कांग्रेस विरुद्धमा उत्रिएको हो । गत वर्ष तिर्दै आएको करमा १० देखि १५ प्रतिशत मात्र थप गर्न कांग्रेसको माग छ ।


आज बुटवलको अस्पतालाइनदेखि हाटबजार हुँदै नगरपालिकासम्म प्रदर्शन गरिएको थियो । नेपाली कांग्रेस नगरसमितिको आह्वानमा भएको विरोध प्रर्दशनपछि र्‍याली नगरपालिका गेटमा पुगेर कोणसभामा परिणत भएको थियो । त्यस लगत्तै नगरसभापति खेलराज पाण्डेले बुटवल उपमहानगरपालिकाका मेयर शिव सुवेदीलाई ज्ञापन पत्र बुझाएका थिए ।


ज्ञापन पत्र बुझाउँदै सभापति पाण्डेले बृद्धि गरिएका सबै कर दर फिर्ता लिएर पुन: निर्धारण गर्न आग्रह गरे ।


नगरप्रमुख सुवेदीले नगरको विकास सबैको साझा विकास भएकाले त्यसले लिने नीति र निर्णयलाई पनि सबैको साझा बनाउने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । नगरपालिकाले व्यवस्थित गर्न थालेका अव्यवस्थित बसोबासीलाई जग्गा दर्ताको नाममा थप मारमा पार्न थालिएको भन्दै त्यसमा पनि १ सय देखि ५ सय रुपैंया मात्र कायम गर्न कांग्रेसले आग्रह गरेको छ ।


विरोध प्रर्दशनपछिको कोण सभामा सभापति पाण्डे, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठ लगायतले बोलेका थिए ।

प्रकाशित : भाद्र १, २०७५ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?