१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सिक्टामा अख्तियारको छानबिन

सिक्टाको मूल नहर परीक्षणकै क्रममा पटकपटक भत्किएपछि त्यसको गुणस्तर जाँचका लागि नागरिक समाजले दबाब दिँदै आएको थियो
ठाकुरसिंह थारू

नेपालगन्ज — सिक्टा सिँचाइ आयोजनाको मूल नहर परीक्षणकै क्रममा दुई पटक भत्किएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले स्थलगत अध्ययन सुरु गरेको छ । काठमाडौंबाट आएको अख्तियार टोलीले नहर भत्किएको स्थानमै पुगेर निरीक्षण गरेको हो ।

सिक्टामा अख्तियारको छानबिन

अख्तियारका अधिकारीहरूले नेपालगन्जस्थित सिँचाइ आयोजना प्रमुखलगायतसँग आर्थिक तथा प्राविधिक पक्षका बारेमा जानकारीसमेत मागेका छन् । सिक्टाको मूल नहर परीक्षणकै क्रममा पटकपटक भत्किएपछि त्यसको गुणस्तर जाँचका लागि नागरिक समाजले दबाब दिँदै आएको थियो । सरकारले पनि त्यसको अध्ययनका लागि समिति गठन गरिसकेको छ ।


अख्तियार केन्द्रीय कार्यालयका प्रवक्ता रामेश्वर दंगालले सिक्टा आयोजनाको भत्किएको नहरबारे अध्ययनका लागि टोली नेपालगन्ज गएको बताए । उनले हाल अध्ययन र अनुसन्धानकै क्रममा रहेकाले त्यसबारे विस्तृत जानकारी दिन नमिल्ने जनाए । ‘हाम्रो टोली छानबिनका लागि नेपालगन्ज पुगेको छ । विस्तृत अध्ययनपछि सबै कुरा खुल्दै जान्छ,’ उनले भने ।


सिक्टाको मूल नहर पहिलोपल्ट ०७३ असार १४ गते परीक्षण गर्दा अगैया ब्यारेजदेखि पश्चिमतर्फको २६ किलोमिटर दूरी झिझरी नजिकै भत्किएको थियो । निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनले हस्तान्तरण नगरिसकेका कारण भत्केको मूल नहर तत्कालै मर्मत गरेको थियो । यो वर्षामा पनि नहर फेरि भत्किएपछि गुणस्तर जाँचका लागि आवाज उठेको हो ।


सरकारी लगानीमा मुलुककै बहुचर्चित आयोजना भएका कारणले पनि बाँकेवासीले बढी चासो देखाएका छन् । २५ अर्ब बढीको लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाको मूल नहर र स्लोभ पटकपटक भत्किने गरेको छ । हाल उक्त आयोजनाका लागि १४ अर्ब खर्च भइसकेको आयोजनाले जनाएको छ । आयोजनाले मूल नहरमा उत्तरदक्षिण बग्ने खोलानाला अत्यधिक रहेकाले वर्षामा प्राविधिक समस्या भएर नहरमा क्षति हुने गरेको दाबी गर्दै आएको छ ।


आयोजनाका निर्देशक रमेश बस्नेतका अनुसार दायाँबायाँ दुवै मूल नहरको चुरे र फुटहिल क्षेत्रबाट दर्जनौं खोलानाला बगेका कारण वर्षामा पानीले नहरमा क्षति पुर्‍याउने गरेको छ । दायाँ मूल नहरको डिजाइन चरणमा नहरको रेखांकन गर्दा चेनेज २० किलोमिटरदेखि ३५ किलोमिटरसम्म नहर अत्यधिक कटिङ तथा फिलिङमा रहेको उनको दाबी छ । यसका साथै दायाँ मूल नहरको उक्त खण्डको रेखांकन विषम प्रकृतिको घुलनशील माटो भएर गएको पाइएको छ ।

प्रकाशित : श्रावण ३०, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?