कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

कोसी ब्यारेजमा अर्धसैनिक बल राख्न भारतको दबाब

अवधेशकुमार झा

सप्तरी — कोसी ब्यारेजमा सुरक्षा चुनौती देखाउँदै भारतीय अधिकारीहरूले यहाँ आफ्ना अर्धसैनिक बल राख्न दबाब बढाएका छन् । इस्लामिक आतंकवादी संगठन लस्कर–ए–तोयबा, जैस–ए–मोहम्मद र पाक मुल इन्डियन मुजाहिद्धिनबाट सुरक्षा चुनौती रहेको भारतीय अधिकारीहरूको दाबी छ ।

कोसी ब्यारेजमा अर्धसैनिक बल राख्न भारतको दबाब

‘कोसी ब्यारेजलाई आतंकवादीबाट थ्रेट छ,’ बिहारको कोसी योजनाअन्तर्गत कोसी ब्यारेज प्रभाग प्रमुख रहेका प्रमुख इन्जिनियर विजयकुमार सिंहले भने, ‘नेपालका तर्फबाट दिइएको सुरक्षा पर्याप्त छैन ।’ उनले ब्यारेजको संरचना र आफूहरूसमेत थ्रेटमा रहेको दाबी पनि गरे । थ्रेट बढेकैले कोसी ब्यारेजको सुरक्षाका लागि भारतको केन्द्र सरकारले अर्धसैनिक बल राख्ने तयारी गरेको उनले खुलाए । ‘ब्यारेजको सुरक्षामा केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) राख्ने तयारी गरिएको छ,’ सिंहले भने ।


‘यसका लागि तीन पटक उच्च तहको अनुगमन भइसकेको छ,’ उनले भने ।


सीआईएसएफ भारतको केन्द्र सरकार मातहतको अर्धसैनिक बल हो । सन् १९६९ बाट अस्तित्वमा आएको सीआईएसएफलाई भारतमा बहुकौशलयुक्त सुरक्षा एजेन्सी मानिन्छ । उक्त सुरक्षा दस्ताले भारतमा परमाणु संस्थान, सामुद्रिक संस्थान, हवाई अड्डा, विद्युत् संयन्त्र, संवेदनशील सरकारी भवन तथा पुराना महत्त्वपूर्ण स्मारकको सुरक्षा दिँदै आएको छ ।


सीआईएसएफको टोली तत्कालै कोसी ब्यारेजको सुरक्षामा खटिने तयारी गरे पनि नेपाल सरकारसित उच्च तहमा कुरा हुन नसकेका कारणले मात्रै रोकिएको सिंहले जनाए । नेपाल र भारतबीच सहमति भई सन् १९५२ बाट सुरु भई १० वर्ष लगाएर सन् १९६२ मा कोसी ब्यारेज निर्माण भएको हो । ५६ वटा ढोका रहेको यसको आधा पुल सप्तरीमा छ भने नियन्त्रण कक्षसहित आधा पुल सुनसरीमा पर्छ । कोसी ब्यारेज नेपालमा भए पनि सम्पूर्ण नियन्त्रणको काम भारतको बिहार सरकारअन्तर्गतको कोसी योजनाको हातमा छ ।


इन्जिनियर सिंहका अनुसार ब्यारेजको सुरक्षा थ्रेटकै कारण कोसी पूर्वी नहरको बाटोमा ब्यारेजनजिकै भारतीय सीमा सुरक्षा बल (एसएसबी) को पोस्ट राखिएको छ । भारत सरकारले दसगजाभन्दा ३ सय मिटर मात्र दक्षिण सीमावर्ती भीमनगरमा ५ हजारभन्दा बढी सुरक्षाकर्मी रहने गरी अर्धसैनिक बल बिहार मिलिट्री पुलिस गणकै स्थापना गरेको छ ।


पूर्व–पश्चिम राजमार्गको कोसी ब्यारेज भान्टाबारी खण्डबाट उक्त गणका संरचना सहजै देख्न सकिन्छ । सञ्चारकर्मीलाई प्रवेश निषेध रहेको उक्त गण क्षेत्रमा २५–३० वटा चारतल्ले घर निर्माण गरिएका छन् । ‘सीमा क्षेत्रमै ५ हजारभन्दा बढी अर्धसैनिक बल राख्ने गरी गण निर्माण गरिनुले भारतको निश्चित स्वार्थ हुन सक्छ,’ एक सुरक्षा अधिकारीले कान्तिपुरसित भने, ‘यसबारे नेपाल सरकार समयमै चनाखो हुनु जरुरी छ ।


भारतीय अधिकारीहरूले कोसी ब्यारेजको सुरक्षामा थ्रेट रहेको विषय उठाएको यो पहिलो पटक होइन । यसअघि २०१६ को जुलाई १४ का दिन कोसी योजनाको मुख्य कार्यालय वीरपुरले सप्तरी र सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई पत्र नै पठाएर इस्लामिक आतंकवादी संगठन लस्कर–ए–तोयबा, जैस–ए–मोहम्मद र पाक मुल इन्डियन मुजाहिद्धिनबाट कोसी ब्यारेजमाथि आक्रमण हुन सक्ने बताएको थियो ।


सो पत्रमा ब्यारेजसहितका प्रमुख संरचनाको सतर्कता र सुरक्षात्मक विषयमा ध्यान दिन आग्रह गर्दै ब्यारेज क्षेत्रमा माछा मार्न प्रतिबन्ध लगाउन, ब्यारेजको पुल भएर चल्ने हरेक सवारी साधनको पूर्ण चेकजाँच गर्न र सुरक्षामा कुनै चुक हुन नदिन सचेत रहन आग्रह गरिएको थियो । कोसी योजनाले बिहारको सुपौल जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेटको आदेशमा उक्त पत्र लेख्ने काम गरेको उल्लेख गरेको थियो ।


कान्तिपुरलाई प्राप्त उक्त पत्रको छायाकपीमा कोसी ब्यारेजमा रहेको नेपाल प्रहरीको गतिविधिमाथि पनि निगरानी गरी प्रतिवेदन दिन निर्देशन दिइएको छ । नेपाल सरकारलाई जानकारी नै नदिई नेपाली सुरक्षाकर्मीको गतिविधि निगरानी गर्ने भारतीय कार्य शंकास्पद रहेको सुरक्षा अधिकारीहरूको बुझाइ छ ।


सन् २०१६ मा भारतीय अधिकारीले लिखित पत्र नै पठाएर अन्तर्राष्ट्रिय आतंकवादी संगठनबाट सुरक्षा थ्रेट रहेको जानकारी दिएलगत्तै सप्तरी र सुनसरी प्रशासनले ब्यारेज पुलको दुवैतर्फ सशस्त्र प्रहरी बलको पोस्ट नै स्थापना गरेका थिए । यसका अतिरिक्त ब्यारेजको नियन्त्रण कक्ष रहेको स्थानभन्दा १० मिटरकै दूरीमा मात्र कोसी ब्यारेज प्रहरी चौकी अवस्थित छ । तर नेपालको सशस्त्र प्रहरी र नेपाल प्रहरी पर्याप्त संख्यामा हुँदाहुँदै पनि भारतीय अधिकारीहरूले ब्यारेज असुरक्षित रहेको बताउँदै आएका छन् ।


सिंहले अब दूतावासमार्फत नेपाल सरकारस्तरमा छलफल गरी सीआईएसएफ राख्ने तयारी रहेको पनि बताए । नेपाल र सशस्त्र प्रहरीको सुरक्षा हँ‘दाहँ‘दै भारत सरकारले सीआईएसएफ राख्ने तयारी गर्नु, त्यसका लागि नेपाल सरकारलाई जानकारी नै नदिई तीन–तीन पटकसम्म अध्ययन अनुगमन गर्ने कार्य शंकास्पद रहेको सुरक्षा अधिकारीहरूको भनाइ छ ।


सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले कोसी ब्यारेजमाथि कुनै सुरक्षा थ्रेट नरहेको दाबी गरे । उनले कहींकतैबाट सुरक्षा थ्रेटका विषयमा जानकारीसमेत नआएको बताए । तर सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कोसी ब्यारेजको पुलमा सुरक्षा थ्रेट रहेको बारे भारतीय अधिकारीहरूले ६ महिनाअघि पत्राचार गरेको बताए ।


उनले सप्तरी र सुनसरी दुवैतर्फ पुल नजिकै सशस्त्र प्रहरी बल राखेर सुरक्षा दिइरहेको बताए । तर भारतले सीआईएसएफ राख्ने तयारी गरेको र तीन पटकसम्म ब्यारेजमै आएर अनुगमन गरेर गएको विषयमा कुनै जानकारी नभएको प्रजिअ पौडेलले बताए ।


प्रकाशित : श्रावण ३०, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?