चिरिएकै जमिनमा घर

कान्तिपुर संवाददाता

रामेछाप — भुजीका ४ परिवारले भूगर्भविद्ले जोखिमयुक्त प्रमाणीकरण गरेकै ठाउँमा घर बनाएका छन् । सल्लेपानीपाखा माथिको भीरबाट पहिरो झरिरहेको र तल खोलाबाट जमिन चिरिएकाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको टोलीले उक्त बस्तीलाई जोखिमयुक्त सूचीमा राखेको थियो । टोलीले स्थानीयलाई नजिकै कोलडाँडामा बसोबास गर्न सुझाएको थियो ।

स्थानीय धनकुमारी सुुनुवारका अनुसार ७ परिवार जोखिमयुक्त सूचीमा थिए । तीमध्ये चार परिवारले त्यहीँ घर बनाएका छन् । तर, उनीहरूलाई भूकम्पपीडित आवास अनुदानको दोस्रो र तेस्रो किस्ता दिइएको छैन । ‘दोस्रो किस्ता पाइएला भनेर हामीले पनि गएको असोजमै डीपीसी हालेका थियौं,’ सुनुवारले भनिन्, ‘तर अहिलेसम्म दिएको छैन ।’


जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा जग्गा खरिद गरी घर बनाउन प्राधिकरणले २ लाख उपलब्ध गराउने सूचीमा समावेश गरेको छ । स्थानीयले वडा कार्यालयमा पुगेर उक्त २ लाख नलिने कागज गरेका छन् । कागजमा आगामी दिनमा धनजनको क्षति भए पनि क्षतिपूर्ति र पुनर्निर्माणका लागि राज्यका कुनै पनि तहमा दोष नलगाउने बेहोरा उल्लेख छ । जोखिमयुक्त स्थानमा बनाइएको घरको किस्ता उपलब्ध गराउन पनि माग भएको वडाध्यक्ष रुद्र नेवारले बताए ।


स्थानीयको माग राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसम्म पुर्‍याइएको छ । प्राधिकरणलाई जोखिमयुक्त क्षेत्रमा घर बनाउन मिल्ने/नमिल्ने वा बनेका घरलाई किस्ता दिन मिल्ने/नमिल्नेबारे सोधेकोमा जवाफ नआएको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) ले जनाएको छ । ‘एक हिसाबले त्यो दिन मिल्लाझैं लाग्दैन,’ इकाईका कार्यालय प्रमुख कृष्णलाल पियाले भने ।


हरिबहादुर सार्की सरकारले पैसा नदिए पनि आफू त्यही थलोमा बस्ने बताउँछन् । ‘सुरक्षित स्थानमा घर मात्र बनाएर के गर्नु ?’ उनले भने, ‘अन्न उमार्ने जग्गा यतै छ ।’ प्राधिकरणले विभिन्न जोखिमयुक्त बस्तीका १ सय ५० परिवारलाई सुरक्षित स्थानमा जग्गा खरिद गर्न २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । हालसम्म ७७ जनाले मात्र पैसा लगेका छन् ।

प्रकाशित : श्रावण २५, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्

जोखिम बस्तीमै लाप्राकी

हरिराम उप्रेती

गोरखा — माथि पहिरो, तल गाउँ । भूगर्भविद्ले २०५६ सालमै खतरा औंल्याएको बस्ती २०७२ को भूकम्पले चिराचिरा पार्‍यो । तर लाप्राकबासी अझै त्यहीं बसिरहेका छन् । उनीहरूले थातथलो छोड्नै नमान्नुको कारण हो– खेतीपाती, घरबारी त्यही ठाउँमा हुनु ।

बस्ती स्थानान्तरण गर्ने भनिएको गुप्सीपाखामा अझै घर बनिसकेका छैनन् । ‘भत्किएको घरको पुरानै काठपात थियो,’ पुरानो गाउँका जित गुरुङले भने, ‘पुरानै गाउँमा सबैजसोले औकातअनुसार घर बनाएका छन् ।’ वर्षभरिलाई अन्नबाली उब्जाउने जग्गा छाडेर गुप्सीपाखामा स्थायी रूपमा बस्न गाह्रै पर्ने उनले बताए ।

‘मेरो तल गाउँमा ७ रोपनी जग्गा छ । त्यहाँको उब्जनी राख्न पनि एउटा धन्सार त चाहियो,’ उनले भने । पुरानो बस्तीबाट गुप्सीपाखा आउन आधा घण्टा लाग्छ । ‘गुप्सीपाखामा घर बनिसक्न दुई–तीन वर्ष लाग्न सक्छ,’ उनले भने, ‘चाँडो सकिन्छ त भनेका मात्र हुन् । हामी कति टेन्टमुनि बस्ने भनेर पुरानै ठाउँमा घर बनाएका हौं ।’ गुप्सीपाखामा हिउँ पर्ने र अत्यधिक चिसो हुने भएकाले बाह्रै महिना त्यहाँ बस्न नसकिने गुरुङले बताए । जोखिम बस्तीका ५ सय ७३ घरधुरी स्थानान्तरणका लागि गुप्सीपाखामा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एकीकृत आवास निर्माण गरिरहेको छ ।


भूकम्पपछि भूगर्भविद्ले उक्त बस्तीमा जुनसुकै बेला पहिरो जान सक्ने भन्दै स्थानीयलाई सुरक्षित ठाउँमा सर्न सुझाव दिएका थिए । धार्चे गाउँपालिका–४ लाप्राकको सिरानमा २०५६ सालमा पूरै जमिन तलतिर सरेको थियो । मणिकामादेवी माध्यमिक विद्यालय लाप्राक बस्तीबाट सुरक्षित मानिएको कालगङमा सारिएको छ ।


भूकम्पअघि गुप्सीपाखानजिकैको सानो र ठूलो रिन्जुलिङमा चार/पाँच घर थिए । अहिले ८० घरधुरी छन् । ‘समझदारीमा साढुदाइको जग्गामा भाडा तिरेर सानो रिन्जुलिङमा बस्दै आएको छु,’ गणेश गुरुङले भने, ‘एक वर्षमा सात हजारजति बुझाउँछु ।’ पुरानो बस्तीनजिकै पहिरो रहेकाले अधिकांश घरपरिवार सरेको उनले बताए । ‘बस्तीमुनि र साइडमा पहिरो गएको छ,’ उनले भने, ‘२०५६ सालबाटै नबस भन्दाभन्दै बसेका थियौं, अहिले बाध्य भएर यहाँ सर्नुपर्‍यो ।’


गुप्सीपाखाको घरमा बस्न साँघुरो हुने उनको तर्क छ । ‘तल पनि रेड जाने भनिएको छ, माथि ६ आनाजति जग्गामा कहाँ बाख्रा बाँध्ने, कहाँ भकारो फाल्ने ?’ उनले भने ।


धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ लाप्राकीको दुईवटै घर हुने भएपछि गाउँपालिकाले ‘गामबेंसी’ अवधारणा ल्याएको बताउँछन् । ‘तल बेंसीमा घर त अनिवार्य चाहियो,’ उनले भने, ‘अहिलेको गुप्सीपाखामा बनेको घरलाई कम्युनिटी होमस्टेका रूपमा विकास गर्छौं । तलको घरमा आर्गानिक चिज उत्पादन गर्ने अनि माथि ल्याएर बेच्ने अवधारणा ल्याएका छौं ।’ ‘रेड जोन’ भनिए पनि तत्काल बस्ती पहिरोले लाने अवस्था नदेखेकाले स्थानीयले पुरानै बस्तीमा घर बनाएको उनको भनाइ छ ।


६० प्रतिशत काम सकियो
गुप्सीपाखामा निर्माणाधीन नमुना बस्तीको काम ६० प्रतिशत सम्पन्न भएको एनआरएनएले जनाएको छ । ३ सय ३२ रोपनी जग्गामा बस्ती बनाइँदै छ । मंगलबारसम्म ४ सय २० घरको झ्यालभन्दा मुनिको काम सकिएको साइट म्यानेजर लक्ष्मण अर्यालले बताए । उनका अनुसार २ सय २० घरमा ढोकासम्मको काम सकिएको छ भने २ सय ३० वटामा ट्रस्ट हालेर छाउन मात्र बाँकी छ । ‘धेरैजसो घरको सेकेन्ड फ्लोरको वाल लगाउने काम बाँकी छ,’ उनले भने, ‘हालसम्म नौ वटामा मात्र लगाएका छौं ।’ अक्टोबरसम्म घर निर्माणको काम सक्ने लक्ष्य लिए पनि पूरा नहुने देखिएको छ । ‘मौसम यस्तो छ, असार १५ यता रड र सिमेन्ट ढुवानी गर्नै सकेका छैनौं,’ उनले भने, ‘अक्टोबरमा नसकिए पनि भूकम्प दिवसअगावै ह्यान्डओभर गर्छौं ।’ ५ सय ७३ वटै घरको जग खन्ने काम भने सकिएको उनले बताए । एकीकृत बस्ती निर्माणमा एनआरएनएलाई नेपाली सेनाले पनि सघाएको छ । सेनाका १ सय १० र एनआरएनएका तर्फबाट सयजना खटिएका छन् । ‘राङरुङबाट सामान ढुवानी गर्न सकेका छैनौं,’ अर्यालले भने, ‘भदौ १५ सम्म बाटो खुल्छ भन्ने हो । बाटो खुलेपछि कामले तीव्रता पाइहाल्छ ।’ एक घरबापत १० लाख खर्चिइएको एनआरएनएले जनाएको छ ।


जोखिम बस्ती स्थानान्तरण भएन
जिल्लामा भूकम्पपछिको पहिरो र धाँजाले २२ भन्दा बढी बस्ती जोखिममा छन् । धार्चे गाउँपालिका–२ केरौंजाका ४१ जना भूकम्पपीडितले जग्गा खरिदका लागि रकम पाएका छन् । साबिक केरौंजा गाविसका १, २, ३ र ४ नम्बर वडाका बस्ती पहिरोले बगाएपछि ३ सय ४८ घरधुरी विस्थापित भएका छन् । अन्य घरधुरीलाई सुरक्षित स्थानमा सार्ने प्रक्रिया अन्योलमै छ । केरौंजाका स्थानीयलाई डोङगान, लामाबेंसी र वाम्लाक्चोमा स्थानान्तरण गर्न लागिएको हो । भूगर्भविद्ले सुरक्षित भनेको डोङगान र वाम्लाचोकमा अझै पहिरोको जोखिम रहेको स्थानीय बताउँछन् । डोङगानमा १ सय ४०, लामाबेंसीमा सय र वाम्लाक्चोमा ५२ घरधुरीलाई स्थानान्तरण गर्न लागिएको वडाध्यक्ष सुकबहादुर गुरुङले बताए । भूकम्पपछिको अध्ययनले आरुआर्वाङ राना गाउँका १७, बारपाक स्यामेरका २२, कोजेका ३४, मान्द्रेका २०, स्नानको ५ र बल्खेका ७८ घरधुरी जोखिममा देखाएको थियो । मुच्चोक, घोप्टेका १४, सवदुरका १७, राम्चेका ६, छोप्राक थुम्काको १ घरधुरी जोखिममा छन् ।

प्रकाशित : श्रावण २५, २०७५ ०७:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्