३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

अस्पतालमा भर्ना नपाउँदा मृत्यु

अस्पतालमा बिरामीको मृत्यु भएको भन्दै आफन्तले विरोध गरेपछि पाँच दिनदेखि उपचार ठप्प छ ।
हरि गौतम

रुकुम पश्चिम — भेरी नगरपालिका–४, जाजरकोटका ४२ वर्षीय शेरबहादुर विकलाई दमको व्यथाले च्यापेपछि आफन्तले चौरजहारी अस्पताल ल्याए । चौरजहारी अस्पताल बन्द भएकाले उनलाई अस्पतालमा भर्ना गरिएन । आफन्त नेपालगञ्ज लैजाने खर्चको जोहोमा लागे, यहीबीच शेरबहादुरको मृत्यु भयो ।

अस्पतालमा भर्ना नपाउँदा मृत्यु

अस्पतालमा उपचारको क्रममा एक विरामीको मृत्यु भएपछि उत्पन्न तनावले अस्पतालमा पाँच दिनदेखि विरामीले उपचार पाएका छैनन् ।


अस्पताल प्रशासनले अस्पतालमा भर्ना लिन नसक्ने भन्दै शेरबहादुरलाई नेपालगञ्ज जान भनेको थियो । तर नेपालगञ्ज जाने मेसो मिलाइ नसक्दै उनको मृत्यु भयो । नेपालगन्ज जानका लागि रकमको व्यवस्था गर्दागर्दै उनको मृत्यु भएको आफन्तले जनाएका छन् ।


‘नजिक अस्पताल भएर पनि अकालमै ज्यान गयो,’ उनका ज्वाँइ अमृत विकले भने, ‘अस्पतालको समस्याका कारण उहाँ जस्तै अरुले पनि ज्यान गुमाउनु नपर्ला भन्न सकिन्न ।’ उनले तत्कालै समस्या समाधन गरेर सेवा सुचारु गर्न माग गरेका छन् ।


अस्पतालमा समस्या भएपछि शेबहादुर जस्तै अन्य थुप्रै जटिल रोगका विरामी फर्काइएका छन् । पाँच दिनदेखि विरामीले उपचार पाएका छैनन् । अस्पतालको कामकाज पाँच दिनदेखि बन्द छ ।

स्थानीयका अनुसार वर्षाका कारण सजिलै गाडी पाइदैनन् । अस्पताल भर्ना नभएपछि गाडी चढ्न जाजरकोट पुग्नुपर्छ । चौरजहारीबाट सोझै दाङ, नेपालगन्ज वा जिल्ला सदरमुकाम चल्ने सबै सडक अवरुद्ध छन् । अस्पतालमा देखिएको समस्या समाधान नहुँदा हरेक दिन दु:ख पाउनेहरुको संख्या बढै गैरहेको छ ।

उपचारको क्रममा अस्पतालमै भेरी नगरपालिका–१३, कुदु जाजरकोटकी २९ वर्षीया यसोदा मल्ल आरसीको मृत्यु भएपछि अस्पतालमा तनाव सुरु भएको हो । उनी मृगौलाको संक्रमण भएर अस्पताल भर्ना भएकी थिइन् । स्वास्थ्यकर्मीको लापरबाहीको कारण विरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरे । २० र २१ गते अस्पताल र त्यस आसपासमा ठूलो प्रर्दशन भयो । अस्पतालका झ्याल, ढोका, मेसिन र औषधिमा क्षति पुग्यो । तोडफोड रोक्न प्रहरीले दुई दिनमा १० राउण्ड अश्रुग्याँस तथा चार राउण्ड हवाइ फायर गर्नुपरेको थियो ।

आफन्तले आफ्नो माग सम्बोधन नभएको भन्दै शव समेत बुझ्न मानेका छैनन् । यसोदाको शव पाँच दिनदेखि आइसीयूमै छ । मंगबारको छलफलपछि जाजरकोट गएका मृतकका आफन्त फर्केर चौरजहारी पनि आएका छैनन् । उनीहरु नभै छलफल अघि बढ्न नसकेको हो । पीडित पक्ष र अस्पताल प्रशासन आ–आफ्नै अडानमा रहेका कारण समस्या समाधान हुन सकेको छैन । मंगबालर तीन पटक दुवै पक्षबीच भएको छलफल विना निश्कर्ष सकिएको थियो । त्यसयता छलफलै हुन सकेको छैन ।

घटना छानविनका लागि छानविन समित बनाउने विषयमा दुवै पक्ष सहमत भएपनि क्षतिपूर्तिका विषयमा दुवै पक्षका फरक फरक धारणा छन् । पीडित पक्षले छानविन समिति पनि बनाउने र मृतकका बालबालिकाको पठनपाठनका लागि अस्पतालले क्षतिपूर्ति दिनुपर्ने माग राखेको छ । अस्पताल प्रशासनले भने छानविन समितिको प्रतिवेदन अनुसार अघि बढ्ने अडान कायमै राखेको छ ।


पीडित तर्फका टीकाराम आरसीले मृतकका बालबच्चाको पठनपाठनका लागि अस्पतालले क्षतिपूर्ति नदिएसम्म छलफल नगर्ने बताए । अस्पताल प्रशासक डिलबहादुर गिरीले छानविन समिति बनाएर घटनाको छानविन गर्नुपर्ने बताए । छानविन समितिको प्रतिवेदन नआइ क्षतिपूर्तिको विषयमा सोच्नै नसकिने भनाई प्रशासक गिरीको छ ।

प्रकाशित : श्रावण २४, २०७५ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?