२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पहिरोले गाउँमै थुनिए स्थानीय

राजेन्द्र मानन्धर

दोलखा — बिगु गाउँपालिकाको बुलुङ गाउँ पहिरोले घेरिएको छ । चारैतिर पहिरो गएपछि हिंड्ने बाटो छैन । मंगलबार रातिको पहिरोमा घाइते भएकाको बुधबार अपराह्न हेलिकप्टरबाट उद्धार गरिएको छ । घाइते एक दम्पतीलाई उपचारका लागि काठमाडौंस्थित वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

पहिरोले गाउँमै थुनिए स्थानीय

मंगलबार राति भीषण वर्षापछि पहिरो गएको थियो । प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकका अनुसार बुलुङ जाने बाटो क्षतिग्रस्त भएको छ । स्थलमार्गबाट घाइतेलाई उद्धार गर्न सम्भव नभएकाले गृह मन्त्रालयले पठाएको सेनाको हेलिकप्टरमार्फत घाइतेलाई काठमाडौं लगिएको छ । पहिरोले घर पुरिँदा बुलुङखानीका श्यामबहादुर श्रेष्ठ र दलमाया श्रेष्ठ घाइते छन् । वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छोरा सुशीलले जानकारी दिए ।

स्थानीय हरि श्रेष्ठले ठाउँठाउँमा पहिरो गएकाले स्थानीयवासी घेराबन्दीमा परेको बताए । ‘न गाउँ पस्न सकिन्छ, न त निस्कन नै,’ उनले भने । बिगु गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काका अनुसार पहिरोले बुलुङका विभिन्न ठाउँको जमिन चिराचिरा परेकाले हिंड्डुलमै समस्या छ । उनका अनुसार बुलुङ, लादुक र ओराङमा बाढी र पहिरोले ठूलो क्षति गरेको छ । लादुकस्थित सार्की गाउँमा ३० घरको सिरानबाट पहिरो खसेको छ । गाउँ तलबाट पनि पहिरो गएकाले स्थानीय उच्च जोखिममा छन् ।

प्रमुख जिल्ला अधिकारी पाठकले प्रहरीले उद्धार र घटना विवरण संकलन गरिरहेको बताए । बुलुङको ठाडो खोलामा आएको बाढीले २० परिवार विस्थापित भएका छन् । स्थानीय छत्रबहादुर तामाङले मानवीय क्षति नभए पनि चौपाया क्षति भएको बताए । केही परिवारका घर भत्किएपछि चौरमा पाल टाँगेर बसिरहेका छन् । सिंगटी बजारका दुई ठूला खोलामा बाढी आएपछि स्थानीय राति सुरक्षित स्थानमा गएका थिए । गाउँपालिका अध्यक्ष खड्काले सिंगटी बजारसम्म पुग्न पनि पहिरो बाधक बनेको जानकारी दिए ।

यस्तै उत्तरी गौरीशंकर गाउँपालिकाको खारेमा रहेको स्वास्थ्यचौकी भवनलगायत बस्तीमा पनि पहिरोले क्षति पुर्‍याएको छ । त्यहाँका केही घर, गोठ, चौपाया र बालीमा क्षति पुगेको जिल्ला प्रशासनले जनाएको छ ।

सडकमा बढी क्षति
जिल्लाको उत्तरी भूभाग जोडने दोलखा–लामाबगर सडकमा क्षति हुँदा सिंगटीदेखि लामाबगरसम्म यातायात सञ्चालन अवरुद्ध भएको छ । लादुक र बुलुङ जाने सडकका दर्जनौँ खण्ड बगाएको छ । बिगु गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काले उत्तरका मुख्य र ग्रामीण सडकहरू मंगलबार रातिको पहिरोले क्षतिग्रस्त बनाएको बताए । सिंगटीदेखि लामाबगरसम्मको सडक सञ्चालनमा ल्याउन डोजर पठाइएको उनले बताए ।

प्रकाशित : श्रावण २४, २०७५ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?