वीर अस्पतालको सफाई गर्दा अपुग भएको भन्दै धुर्मुस सुन्तली फाउन्डेशनलाई ६९ लाख अनुदान
काठमाडौँ — वीर अस्पताल रंगरोगन तथा सरसफाई गरेबापत सरकारले धुर्मुस सुन्तली फाउन्डेशनलाई ६९ लाख ८६ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ । उक्त रकम वीर अस्पतालको नियमित बजेटबाट उपलब्ध गराएको हो ।
वीर अस्पताल रंगरोगन गर्दा रकम अपुग भएको भन्दै फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले उक्त रकम माग गरेका थिए । पूर्वस्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालसँगको मौखिक सहमतिमा काम गरेको भन्दै धुर्मुसले रकम माग गरेपछि सार्वजनिक खरिद ऐनअनुसार भुक्तानी गर्न नमिल्ने भन्दै वीरकै बजेटबाट अनुदान दिएको हो ।
अर्थ मन्त्रालयले वीर अस्पतालकै बजेटबाट उपलब्ध गराउने गरी सहमति दिएपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा १० साउनमा बसेको मन्त्रिपरिषद् बैठकले अनुदान दिने निर्णय गरेको थियो ।
फाउण्डेशनको निवेदन
सुरुमा वीर अस्पतालका पदाधिकारीले बजेटमा विनियोजन नगरेको काम र सम्झौता नगरी गरिएको काममा रकम उपलब्ध गराउन नसकिने जनाएको थियो । पूर्वराज्यमन्त्री अर्यालको दबाबपछि वीरले स्वास्थ्य मन्त्रालयमा सिफारिस गरेको थियो भने सचिवस्तरीय निर्णयबाट मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको थियो ।
स्वास्थ्य सचिवको प्रस्ताव
त्यही प्रस्तावअनुसार साउन १० गतेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको समेत स्वीकृति लिई वीरकै नियमित बजेटबाट अनुदान दिने निर्णय गरेको हो ।
स्वास्थ्यका सचिव डा. पुष्पा चौधरीले हस्ताक्षर गरेको प्रस्तावमा वीर अस्पताल र फाउण्डेसनवीच सुरुमा शौचालय सफा गर्ने सहमति भएपनि अस्पतालको पुरानो र भित्रि भाग जीर्ण भएको कारण देखाउँदै मौखिक सहमतिमा रंगरोगन र सरसफाइ गरिएको उल्लेख छ । ‘तर प्रचलित ऐनले भुक्तानी गर्ने पूर्व तयारी नभएकोले फउण्डेशनले खर्च भए मध्ये ६९ लाख ६८ हजार रकम माग गरे बमोजिम अनुदान स्वरुप रकम उपलब्ध गराउनुपर्ने देखिन्छ’ प्रस्तावमा चौधरीले लेखेकी छन् ।
अर्थ मन्त्रालयको सहमति पत्र
मन्त्रिपरिषद्को निणयपछि भने मुख्य सचिव लोकदर्शन रेग्मीले फाउण्डेसनलाई अनुदान उपलब्ध गराउन स्वास्थ्य सचिवलाई निर्देशन दिएका छन् ।
१५ लाखको खाजा/खानाः
फाउण्डेसनका अध्यक्ष कट्टेलले वीर अस्पताल सरसफाइ गर्दा ९९ लाख ७९ हजार चार रुपैयाँ खर्च भएको दावी गरेका छन् । जसमा २९ लाख ९२ हजार ६ सय ७४ रुपैया विभिन्न स्थानबाट अनुदान पाएको र अपुग ६९ लाख ८६ हजार तीन सय ३० रकम उपलब्ध गराइदिन सरकारसंग माग गरेका हुन् ।
मुख्य सचिवको निर्देशन
उनले खर्च गरेको रकममा ४३ लाख २२ हजार ४ सय ज्याला खर्च, १५ लाख १ हजार २ सय ८० खाना/खाजा खर्च, ३९ लाख ६१ हजार ३ सय ७२ रंग खर्च, १ लाख ९३ हजार ९ सय ५२ यातायात, टेलीफोन, पानीलगायतमा खर्च भएको पनि उल्लेख गरेका छन् ।
प्रकाशित : श्रावण २३, २०७५ १८:४२