कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नारायणगढ–मुग्लिङ सडक: दिनदिनै पहिरो

पहिरो रोकथामका लागि सुरुमा बायो इन्जिनियरिङ मात्रै गरेको आयोजनाले पछिल्लो समय भने रक नेकिङ र रक बोल्टिङ गरिरहेको छ
रमेशकुमार पौडेल

चितवन — तीन वर्ष लगाएर स्तरोन्नति गरिएको नारायणगढ–मुग्लिन सडकको अवस्था विकराल बन्दै गएको छ । स्तरोन्नतिको काम चलुन्जेल कष्टपूर्ण यात्रा गर्न विवश यात्रु एसियाली मापदण्डअनुरूप फराकिलो सडक बनेपछि झन् सास्ती खेप्न बाध्य छन् ।

नारायणगढ–मुग्लिङ सडक: दिनदिनै पहिरो

सडक नियमित सञ्चालनमा आएयता दिनैजसो पहिरो खसिरहेको छ । जलवीरे, घुमाउने, टोपेखोलालगायत स्थानमा पानी पर्‍यो कि सडक अवरुद्ध हुन्छ । नयाँ–नयाँ ठाउँमा पहिरो खस्नेक्रम पनि जारी छ । केही दिनदेखि टोपेखोलामा दिनदिनै पहिरो खसिरहेको छ ।


नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार सडक विस्तार क्रममा अनुमान गरिएभन्दा कैयौं गुणा ठूलो पहिरो खस्न थालेको छ । आयोजनाको काम सुरु गर्दा तीन हजार घनमिटर हाराहारीमा पहिरो खस्ने अनुमान गरिएकोमा दुई लाख घनमिटर खसिसकेको छ । टोपेखोलामा मात्रै २० हजार घनमिटर हाराहारी पहिरो खसेको उनले जानकारी दिए । ‘ठेक्का लगाउँदा भएको अध्ययनमा तीन हजार घनमिटरसम्म पहिरो खस्ने अनुमान गरिएको थियो तर दुई लाख घनमिटर पहिरो खसिसकेको छ,’ खनालले भने, ‘सामान्य खालको बायो इन्जिनियरिङ मात्रै गर्ने योजना थियो ।’


पहिरो धेरै नखस्ने अनुमानका साथ सुरु भएको आयोजनाले नियन्त्रणका लागि पनि ठूलो तयारी पनि गरेन । सुरुमा पहिरो नियन्त्रणका लागि १ करोड २० लाख रुपैयाँ बजेट छुट्याइएको र आयोजनाले पनि त्यहीअनुसार तयारी गरेको खनालले जानकारी दिए ।


दैनिक करिब १० हजार गाडी ओहोरदोहोर गर्ने सडक नियमित चल्न छाडेको तीन वर्षभन्दा बढी भइसकेको छ । अघिल्लो वर्ष साउनमा पहिरो खसेर निरन्तर ४३ घण्टासम्म बाटो रोकिएको थियो । २०७३ चैतमा घुमाउनेमा सुक्खा पहिरो खसेर दुई यात्रुको ज्यान गयो । गत वर्ष वर्षायाममा कालीखोलाको पहिरो खस्दा प्रहरीको भ्यान नै बग्यो । तीन जनाको शव भेटियो तर गाडीसहित एक प्रहरी बेपत्ता भए ।


२०३६ सालमा गोरखा–नारायणगढ सडकको रूपमा निर्माण हुँदा यो साढे पाँच मिटर चौडा थियो । विश्व बैंकको सहयोगमा विस्तार गरिएपछि ९ देखि ११ मिटरसम्म फराकिलो पारिएको छ । फराकिलो बनाउँदा त्रिशूली नदीतर्फ ठाउँ नभएकाले पहाड काटिएको थियो । भूकम्पले थर्काएको पहाड सडक विस्तार क्रममा गहिरो गरी काटिएका कारण अहिले पहिरो खसिरहेको इन्जिनियर खनाल बताउँछन् । गत वर्ष साउनमा सडक निर्माण अनुगमनका लागि आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्कालीन आयोजना प्रमुख चन्द्रनारायण यादवले ‘भित्तातर्फ गरेको कटिङले त्यो भू–भागमा केही विचलन ल्याउने भएकाले प्राकृतिक कोण नबनेसम्म फुटेका अस्थिर चट्टानका कारण पहिरोको जोखिम भइरहने’ जानकारी गराए ।


त्यसलगत्तै जोखिम रोक्ने वैकल्पिक विधि अपनाइएको थियो । जसअनुसार एक करोड २० लाख रुपैयाँ खर्च गरेर बायो इन्जिनियरिङ (काँस, बाँस, बाबियो जस्ता माटो समाउने बिरुवा रोपेर पहिरो रोकथामको प्रयास) गर्ने योजनाका साथ काम सुरु गरेको सडक विस्तार आयोजनाले पहिरो नियन्त्रणका लागि थप १४ करोड रुपैयाँ खर्च भइसकेको छ । पहिरो नियन्त्रणको काम गर्दै आएका इन्जिनियर टुकलाल अधिकारीले अध्ययन गरेर प्रतिवेदन दिएपछि आयोजनाले नियन्त्रणका लागि नयाँ विधि सुरु गरेको हो ।


नयाँ विधिअनुसार रक नेटिङ र रक बोल्टिङको काम भएको छ । रक नेटिङमा ग्याबियन जालीले पहाड छोपेर राखिन्छ । जालीलाई दुई मिटरसम्म भित्र छिराएको रडमा बाँधिन्छ । रक बोल्टिङमा सडकमा झर्ने अवस्थामा रहेका चट्टानका ठूला भागलाई आठ मिटरसम्म रड छिराएर अर्को स्थिर सतहसँग जोडेर राखिन्छ ।


‘योबाहेक १४ करोड रुपैयाँको नयाँ काममा बायो इन्जिनियरिङ पनि भएको छ तर त्यो पहिलाकोभन्दा अलि फरक खालको छ,’ सूचना अधिकारी खनालले भने । वैशाखदेखि असारसम्म नयाँ विधिबाट पहिरो नियन्त्रणको काम गरिएको थियो । काम भएको ठाउँमा यो वर्ष पहिरो नगएको उनले जानकारी दिए । सुरुको अध्ययनमा २९ ठाउँमा पहिरोको जोखिम थियो । अधिकारीले अध्ययन गर्दा ३२ ठाउँमा जोखिम देखिएको सूचना अधिकारी खनालले बताए ।


‘नियन्त्रणको काम सुरु गर्दा ३३ वटा ठाउँ भेटियो तर ६ ठाउँको पहिरो आफैं स्थिर भयो,’ उनले भने, ‘आयोजनाले २७ ठाउँमा नयाँ विधिबाट पहिरो नियन्त्रणको काम गरिरहेको छ ।’


६ ठाउँमा अझै पहिरो
पहिरो नियन्त्रण गर्नुपर्ने भनेर पहिचान गरिएको चार किलो र २७ किलोको भालु ढुंगामा यो वर्ष काम नै भएन । काम गर्ने अवस्था नभएका कारण यो वर्ष त्यसै छाडेको खनालले बताए । यी ठाउँमा पहिरो गइरहेको छ । गत वर्ष पहिरो गएको टोपेखोलामा यो वर्ष रक नेटिङ भएको थियो । रक नेटिङ भएको ठाउँमा पहिरो खसेन तर त्यसको आडैबाट खसेको पहिरोले सबैभन्दा धेरै दु:ख दिइरहेको छ । जलवीरे र घुमाउनेमा नयाँ पहिरो सुरु भएको छ ।


सडक भासिएको १७ किलोमा पनि पहिरोको समस्या आउन सक्ने आयोजना प्रमुख रोहितकुमार बिसुरालले बताए । उनका अनुसार पहिरोको जोखिम क्षेत्रहरू निकै घटेका छन् । पहिरो खसेर सडक बन्द हुने समय पनि कम भएको छ । यो वर्ष पहिरोले लगातार १२ घण्टासम्म गाडी बन्द भएको छ ।


‘पहिरोको समस्या निर्मूल नभए पनि निकै घटेको छ । काम गरेको ठाउँमा नियन्त्रण भएको छ । त्यसैले अवस्था निकै खराब छ भन्ने होइन,’ आयोजना प्रमुख बिसुरालले भने । यो वर्ष पहिरो जान थालेको ठाउँमा नियन्त्रणको उपायबारे वर्षा सकिएपछि मात्रै अध्ययन हुने र त्यसअनुरूप नियन्त्रणको काम हुने बिसुरालले बताए ।


प्रकाशित : श्रावण २३, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?