१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

निजी क्षेत्रप्रति दृष्टिकोण परिवर्तन आवश्यक : दाहाल

भूषण यादव

वीरगन्ज — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक समृद्धि र देश विकासका लागि उद्योगी व्यवसायीप्रति राज्यको परम्परागत दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक रहेको बताएका छन् । 

निजी क्षेत्रप्रति दृष्टिकोण परिवर्तन आवश्यक : दाहाल

वीरगन्जमा नेपाल उद्योग वाणिज्य सहासंघले मंगलबार गरेको जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले निजी क्षेत्रले नाफा कमाउने, उत्पादन वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने विषयमा राज्यले सकारात्मक सोच नबनाएसम्म देश विकास नहुने धारणा राखेका थिए । ‘नाफा कमाउने उद्योगी व्यवसायीलाई सक्दो निचोर्ने प्रवृत्ति हटाउन आवश्यक छ,’ उनले भने, ‘कमी कमजोरी समीक्षा गर्दै समाधानतर्फ बढ्नुपर्छ ।’ उनका अनुसार लामो अस्थिरता पछि मुलुकमा पहिलोपटक स्थिर सरकार बनेकाले धेरै आशा, भरोसा र अपेक्षा छन् । छोटो समयमा ती आशा, भरोसा र अपेक्षा पूरा नहुँदा धेरैमा चिन्तासमेत छाएको उनले बताए ।


बढ्दो आयातलाई प्रतिस्थापन गर्न र निर्यात प्रवर्द्धनका लागि वैदेशिक लगानी अपरिहार्य बनेको दाहालले बताए । ‘वैदेशिक लगानीबिना विकासको भावनालाई सम्बोधन गर्न असम्भव छ,’ नेकपा अध्यक्ष दाहालले भने, ‘त्यसका लागि आफ्नै देशभित्रका पूँजीको सुरक्षा गरी ऐन कानुनको झन्झट हटाई वैदेशिक लगानीको वातावरण बनाउनुपर्छ ।’ उद्योगी व्यवसायीलाई उत्साहका साथ नयाँ लगानी गर्न उनले आग्रहसमेत गरे ।


जनताको सुविधाका लागि ल्याइएको संघीयताले जनता नै मारमा परेको उनले टिप्पणी गरे । ‘स्थानीय र प्रादेशिक सरकारले लगाएको विभिन्न करले उद्योगी, व्यवसायी मारमा परेका छन्,’ उनले भने, ‘संघीयता ल्याएको सुविधाका लागि हो, तर, झन् जनता नै मारमा परेका छन् ।’ लामो संघर्षपछि आएको संघीयता करकै कारण उल्टिने पो हो कि भन्ने चिन्तासमेत दाहालले व्यक्त गरे ।

अर्का वक्ता उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मुलुकमा विद्यमान बेथिति अन्त्यका लागि नयाँ ऐन–कानुन बनाउँदैमा निजी क्षेत्र त्रसित बन्नु नपर्ने धारणा राखेका थिए । ‘हामीले बनाएको नयाँ ऐन–कानुनले थप बेथिति निम्त्याउँछ भने छलफल गर्न तयार छौँ,’ मन्त्री यादवले भने, ‘गल्ती नगर्नेलाई ऐन कानुनले केही गर्दैन् । बजारको मूल्य, वस्तुको गुणस्तरको ग्यारेन्टी निजी क्षेत्रले लिएमा सरकारले अनुगमन नै गर्नुपर्दैन् ।’ आफ्ना कर्मचारी र सचिवालयलाई नबिगारिदिन उनले उद्योगी/ व्यवसायीका नेतालाई आग्रहसमेत गरेका थिए ।


नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कर प्रणालीले निजी क्षेत्र त्रसित बनेको बताइन् । ‘कर प्रणाली राम्रो भएको मुलुकले तीव्र विकास गरेका छन्,’ उनले भनिन्, ‘संघीयतापछि स्थानीय र प्रदेश सरकारले लगाएको जथाभावी करले उद्योगी/व्यवसायीमा त्रास फैलिएको छ ।’ करले व्यवसायी वर्गलाई त्रास नहोस् भनी गम्भीर रुपमा सोचिदिन उनले आग्रहसमेत गरिन् ।


मुलुकमा स्थायी सरकार बनेपछि विदेशमा राम्रो संकेत गएको उनले सुनाइन् । ‘वैदेशिक लगानी आउने सम्भावना बढेर गएको छ,’ उनले भनिन्, ‘यसका लागि नीतिगत सुधार गरी राज्यले वातावरण बनाउन आवश्यक छ ।’

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले राज्यले वीरगन्ज र आसपासका क्षेत्रलाई हेला गरेको गुनासो पोखे । ‘यो क्षेत्रबाट ठूलो परिमाणमा राजस्व संकलन हुन्छ,’ उनले भने, ‘तर, त्यो अनुरुप राज्यको लगानी हुन सकेको छैन ।’

प्रकाशित : श्रावण २२, २०७५ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?