‘सहमति त्यागे १६ औं सत्याग्रह’

अतुल मिश्र

काठमाडौँ — प्रा.डा. गोविन्द केसीले आफूसँग भएका सहमति अक्षरश: पालना गर्दै चिकित्सा शिक्षा ऐन शीघ्र जारी गर्न माग गरेका छन् । सरकारले गरेको सहमति तोडे कडा कदम चाल्न बाध्य हुने र १६ औं पटक सत्याग्रह बस्ने चेतावनीसमेत उनले दिएका छन् । 

‘सहमति त्यागे १६ औं सत्याग्रह’

‘प्रधानमन्त्री केपी ओलीले अनशन बस्ने स्थिति आउँदैन भनेका छन्, यसमा हामी विश्वस्त छौं,’ शिक्षण अस्पतालमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘१३ दिनको अस्पताल बसाइपछि क्वाटरमा आराम गर्न जाने बेलामा सम्झौताबारे तपाईं (पत्रकार) हरूमार्फत सरकारलाई पुन: स्मरण गराएको हुँ ।’


उनले कुनै पनि बहाना वा ढिलाइ नगरी छिट्टै संसद्बाट ऐन जारी गर्नसमेत माग गरे । सरकारसँग भएको सम्झौता कार्यान्वयन हुने विश्वास पनि उनले व्यक्त गरे । डा. केसीले आफूले कुनै राजनीतिक दलका लागि नभई विशुद्घ रूपमा जनताको सामाजिक न्यायका लागि सत्याग्रह गर्दै आएको पनि बताए । ‘१५ चोटि लडें । म सबै दलका सरकारविरुद्घ लडेको छु,’ उनले भने, ‘कांग्रेसको सरकार भएका बेला लडा अरू दलले हाम्रो आन्दोलन भने, माओवादी, एमाले र संयुक्त सरकार हुँदा पनि त्यसैगरी भनियो ।’


सम्झौता अनुमोदन भएन

डा. केसी र सरकारबीच ९ बुँदे सहमति भएको मंगलबार १३ औं दिनसम्म्म पनि मन्त्रिपरिषद्बाट अनुमोदन भएको छैन । केसीले आफूसँग भएको सहमतिको आठौं बुँदामा सरकारले मन्त्रिपरिषद्बाट अनुमोदनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रस्ताव पेस गर्ने सहमति भए पनि हालसम्म केही नभएको गुनासो गरे ।

‘यदि छलछाम हुने कोसिस भयो भने हामी कडा कदम चाल्न बाध्य हुनेछौं,’ उनले भने । दुई साताअघि नै सहमति अनुमोदन भइसक्नुपर्ने औंल्याउँदै उनले भने, ‘मैले जे भनें, त्यो गर्छु, राज्यले जे भन्यो, त्यो गर्नुपर्छ ।’ यसैगरी, सरकारले डा. केसीसँग विश्वविद्यालय र प्रतिष्ठान पदाधिकारी नियुक्ति गर्ने मापदण्ड निर्धारणका लागि १५ दिनभित्र कार्यदल गठन गर्ने सहमति गरे पनि कार्यान्वयन भएको छैन । दुई साताभित्र कार्यदल बनाउने सहमति भएकामा अब दुई दिन बाँकी रहेको औंल्याउँदै डा. केसीले भने, ‘विश्वास गरौं, दुई दिनभित्र कार्य दल गठन हुनेछ, अन्य सबै सम्झौता पनि अनुमोदन हुनेछ ।’


डा. केसीले केही दिन आराम गरेर तंग्रिएपछि मात्र बिरामी हेर्ने र पढाउन जाने बताएका छन् । हाल आफू पूर्ण रूपमा निको नभएको अनुभूति भइरहेको जनाउँदै उनले भने, ‘छुट्टी पनि छैन, सकिइसकेको छ, त्यसैले छिट्टै तंग्रिएर काममा फर्किनुपर्छ ।’ डा. केसी हरेक पटक बिदा लिएर अनशन गर्ने गर्छन् ।


उपचार गर्न नपाएकामा क्षमा मागे

उनले आफ्नो अनशनले गर्दा बिरामीको सेवा गर्न नपाएको भन्दै बिरामीसँग क्षमा मागेका छन् । २७ दिन लामो अनशन र त्यसपछि तंग्रिन लागेको समयका कारण बिरामीलाई उपचार गर्न नपाएकामा आफू दु:खित भएको समेत उनले बताए । यसो भन्दै गर्दा उनी भक्कानिएका पनि थिए ।


‘मलाई बिरामी हेर्न दिनोस्, पढाउन दिनोस्, तपाईंहरू (सत्ता पक्ष) जनपक्षीय नियम कानुन बनाउनुस्,’ डा. केसीले भने, ‘जनताको हितकारी नियम कानुन बनाउनु, जनहितमा काम गर्नु उहाँहरूको दायित्व हो ।’


प्रकाशित : श्रावण २२, २०७५ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?