एकदिवसीय अन्तर्राष्ट्रिय: पहिलो जित

आदर्श ढकाल

एमस्ट्राडम — नेपालले अन्तिम बलसम्म पुगेको खेलमा नेदरल्यान्ड्सलाई एक रनले पराजित गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो जित हात पारेको छ । एमस्टलभिनस्थित भीआरए मैदानमा शुक्रबार दोस्रो खेलमा जित दर्ता गरेसँगै दुई खेलको शृंखला १–१ को बराबरीमा टुंगिएको छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय: पहिलो जित

पहिलो ब्याटिङ गरेको नेपालले ४९ औं ओभरमा अलआउट हुनुअघि टिमले २ सय १६ रन जोड्दा कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक बनाएका थिए । नेदरल्यान्ड्सलाई ४३.३ ओभरमा १८५–९ को स्थिति राखे पनि अन्तिम विकेटको साझेदारी नेपालका लागि टाउको दुखाइ बनेको थियो । डच टोलीका फ्रेड क्लासेन र पल भान मिकेरेनले अन्तिम बलसम्म जितको आशा कायम राखेका थिए ।

अन्तिम ओभरमा ६ रन चाहिएको स्थितिमा कप्तान पारसले पहिलो बलमा एक
रन दिए । दोस्रो बलमा डट फ्याँकेका उनले तेस्रो बलमा १ रन खर्चे । चौथो बलमा २ रन दिएपछि घरेलु टोलीलाई अन्तिम २ बलमा २ रन चाहिएको थियो । पाँचौं बलमा कुनै रन नदिएका पारसले अन्तिम बलमा रनआउट गर्न सफल रहे ।

पारसको अन्तिम बल सिधा प्रहार गरेका क्लासेनको प्रहार सिधै नन–स्ट्राइकरको विकेटमा लागेपछि पारसले फर्केको बल टिप्दै स्टम्प उखालेर नेपालको जित पक्का गरे ।

प्रतिस्पर्धात्मक लक्ष्य बचाउने क्रममा सोमपालले नेपालका लागि उत्कृष्ट सुरुआत दिलाए । उनले ओपनर स्टेफन माइबर्गलाई दोस्रो बलमा बोल्ड गरेका थिए । तीव्र गतिका बलर ललितसिंह भण्डारीले आफ्नो पहिलो एकदिवसीय विकेट लिने क्रममा १९ रन जोडेका बेन कुपरलाई पेभेलियन फर्काए ।

तेस्रो विकेटमा बरेसी र ओपनर ड्यानियल टर ब्राकले ८४ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सलाई बलियो स्थितिमा पुर्‍याएका थिए । तर लेग स्पिनर सन्दीप लामिछानेले ब्राक र बास डे लिड (शून्य) लाई एउटै ओभरमा आउट गर्दै नेपाललाई खेलमा फर्काए । वसन्त रेग्मीले पहिलो खेलको म्यान अफ द म्याच माइकल रिप्पोनलाई ३ रनमा आउट गरे ।

दीपेन्द्रसिंह ऐरीले बरेसीलाई पेभेलियन फर्काउँदै नेदरल्यान्ड्सलाई १४३–६ को स्थितिमा पुर्‍याए । उनले ८९ बलमा ८ चौका मद्दतले ७१ रन बनाए । ललितले स्कट एडवार्ड्सलाई ९ तथा कप्तान पारसले सिलारलाई २१ रनमा आउट गर्दै नेपाललाई खेलमा बलियो बनाए । सन्दीपले स्नेटरलाई १२ रनमा आउट गर्दै १८५–९ को स्थितमा ल्याए । अन्तिम विकेटमा ३० रनको साझेदारी गरे पनि क्लासेन र मिकरेनले जित दिलाउन सकेनन् ।

त्यसअघि नेपालले सुवास खकुरेल, रोहितकुमार पौडेल र ललितसिंह भण्डारीलाई एकदिवसीयमा डेब्यु दिएको थियो ।

ज्ञानेन्द्र मल्लले आउट हुनुअघि सुवाससँग पहिलो विकेटमा २९ रनको साझेदारी गरे ।
क्लासेनले मल्लसँगै अनिल साह (४) र सुवास (१९) लाई पनि आफ्नो सिकार बनाए । एकसमय ११.१ ओभरमा ४७–३ को स्थितिमा थियो ।

पारस र दीपेन्द्रले राम्रो साझेदारी गरेको अवस्थामा दीपेन्द्र १९ रनमा रनआउट भएपछि नेपाल समस्यामा परेको थियो । डेब्यु गरिरहेका रोहित रिप्पोनको बलमा आउट हुँदा नेपाल ८८–५ को कमजोर स्थितिमा पुग्यो । आरिफ शेख र पारसले छैटौं विकेटमा ४७ रन जोडेर इनिङ्सलाई बढाए । ६५ बलमा अर्धशतक पूरा गरेका पारस त्यसै ओभरको अन्तिम बलमा क्याचआउट भए । उनले ६९ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

आरिफ र वसन्तलाई छोटो अवधिमा गुमाए पनि सोमपालले नेपालको इनिङ्स सम्हाले । उनले नवौं विकेटमा कुनै रन नजोडेका सन्दीपसँग ४१ रनको साझेदारी गरे ।

३८ बलमा अर्धशतक पूरा गरेका सोमपालले ६१ रन जोडे । उनले त्यसक्रममा ५ चौका र ३ छक्का प्रहार गरेका थिए । क्लासेनले शीर्ष ३ ब्याट्सम्यानलाई आउट गर्दा रिप्पोन र सिलारले २–२ विकेट हात पारे ।

नेदरल्यान्ड्सविरुद्ध शुक्रबार दोस्रो वान–डे अन्तर्राष्ट्रियमा ब्याटिङ गर्दै नेपालका सोमपाल कामी ।

अर्धशतक बनाएपछि कप्तान पारस खड्का ।

वान–डे अन्तर्राष्ट्रियमा डेब्यु गर्ने चौथा कान्छा खेलाडी बनेका रोहितकुमार पौडेल

ओपनिङ ब्याटिङमा जाँदै सुवास खकुरेल र ज्ञानेन्द्र मल्ल  ।

प्रकाशित : श्रावण १९, २०७५ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?