कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कक्षा १२ को नतिजा: मध्यमस्तरको जीपीए ल्याउने धेरै

सुध्रिएन नतिजा, धेरै विद्यार्थी अंग्रेजीमा कमजोर
सुदीप कैनी

काठमाडौँ — कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै विद्यार्थीले मध्यमस्तरको जीपीए प्राप्त गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार पहिलोपटक ग्रेडिङ प्रणाली (अक्षरांकन पद्धति) अनुसार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा मध्यमस्तरको जीपीए २.०१ देखि २.४० ल्याउने परीक्षार्थीको संख्या ९० हजार २ सय ९९ छ ।

कक्षा १२ को नतिजा: मध्यमस्तरको जीपीए ल्याउने धेरै

यो जीपीए ४० देखि ४९ अंक प्राप्त गर्नेको हो ।


गत वैशाख १४ देखि २७ सम्म सञ्चालित परीक्षामा कुल ४ लाख १७ हजार ८९ परीक्षार्थी सम्मिलित थिए । नियमित २ लाख ९९ हजार ६ सय ७५ जना सहभागी थिए, जसमध्ये ३.६१ देखि ४.० जीपीए प्राप्त गर्नेको संख्या १ हजार १ सय ६९ छ । ३.२१ देखि ३.६० जीपीए प्राप्त गर्ने ११ हजार २ सय २१ जना रहेको बोर्डले जनाएको छ । २७ हजार ६ सय ४३ जनाले २.८१ देखि ३.२० जीपीए ल्याएका छन् । ५८ हजार ३ सय ४५ विद्यार्थीले २.४१ देखि २.८० जीपीए प्राप्त गरेका छन् । १.६१ देखि २.०० जीपीए ल्याउने परीक्षार्थी २२ हजार ७ सय ३४ जना छन् ।


४ हजार ४ सय ८७ जनाले ०.८१ देखि १.२० जीपीए प्राप्त गरेका छन् । सबभन्दा थोरै १ सय ९९ जनाले ०.०० देखि ०.८० जीपीए ल्याएका छन् । ९ वटा जीपीए रेन्जमा नतिजा प्रकाशन गरिएको हो । नियमिततर्फ १७ हजार ४० विद्यार्थी विभिन्न कारण परीक्षामा अनुपस्थित देखिएकाले कुल जीपीएमा नतिजा प्रकाशन गरिएको छैन ।


आंशिकतर्फ ३५ दशमलव २ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी १ लाख १७ हजार ४ सय १४ मध्ये ४१ हजार ३ सय २५ उत्तीर्ण भएको परीक्षा बोर्डले जनाएको छ । परीक्षा सकिएको ८१ औं दिनमा नतिजा सार्वजनिक भएको हो । यो वर्ष पहिलोपटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गरिएको हो । ‘आंशिकतर्फ गत वर्षको भन्दा नतिजामा सुधार भएको छैन,’ बोर्डकी प्रवक्ता जयन्ती सत्यालले भनिन्, ‘अंकलाई अक्षरमा रूपान्तरण गरेर ग्रेडिङ पद्धतिमा नतिजा प्रकाशन गरेका हौं ।’


नतिजाअनुसार अनिवार्य अंग्रेजी विषयमा विद्यार्थी कमजोर देखिएका छन् । २ लाख ९८ हजार ९ सय २९ जनाले अंग्रेजीको परीक्षा दिएका थिए, जसमध्ये एक सय ७० जनाले मात्रै ए प्लस प्राप्त गरेका छन् । अंग्रेजीमा पनि मध्यस्तरको ग्रेड प्वाइन्ट प्राप्त गर्ने विद्यार्थीको संख्या सबैभन्दा बढी ४८ हजार एक सय छ । अंग्रेजी विषयमा मात्र डी प्लसभन्दा थोरै ग्रेड प्राप्त गर्ने एक लाख ४५ हजार परीक्षार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । एउटा विषयमा डी प्लस वा त्योभन्दा कम ग्रेड आएमा विद्यार्थीले ग्रेड वृद्धिको परीक्षा दिन पाउँछन् । उक्त परीक्षा भदौ १६ मा हुने जानकारी बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले दिए । पुनर्योगका लागि भदौ १ भित्र निवेदन दिनुपर्नेछ ।

प्रकाशित : श्रावण १८, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?