२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

जोशीका प्रमाणपत्र थप शंकाको घेरामा 

कृष्ण ज्ञवाली

काठमाडौँ — प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ सामना गरिसकेका दीपकराज जोशीका शैक्षिक प्रमाणपत्र थप शंकाको घेरामा परेका छन् । जोशी र निवर्तमान प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको ‘प्रोग्रेस रिपोर्ट’ का केही आधारभूत विवरण शंकास्पद भेटिएका हुन् । 

जोशीका प्रमाणपत्र थप शंकाको घेरामा 

‘दुवै जनाले पेस गरेका ल क्याम्पसका प्रोग्रेस रिपोर्ट भिडाउने हो भने एउटा गलत निस्कन्छ,’ दुवै जनाको अभिलेख रहेको संवैधानिक परिषद सचिवालय स्रोतले भन्यो, ‘संसदीय सुनुवाइका क्रममा उठेको यस्तो गम्भीर प्रश्नको छानबिन हुनुपर्छ ।’ बिहीबारको संसदिय सुनुवाइमा सांसद योगेश भट्टराईलगायतले जोशीको शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भेटिएको बारे प्रश्न उठाएका थिए ।


सचिवालय स्रोतले कान्तिपुरलाई उपलब्ध गराएको प्रतिलिपिअनुसार २०३० साउनमा नेपाल ल क्याम्पसमा ‘प्रमाणपत्र तह’ मा भर्ना भएका जोशीको प्रोग्रेस रिपोर्टमा क्रम संख्या ५३३८ उल्लेख छ । २०३१ साउनमा भर्ना भएका गोपाल पराजुलीको प्रोग्रेस रिपोर्टमा क्रम संख्या १३४७६ उल्लेख छ । दुवैको रिपोर्टको ढाँचा एउटै छ ।


एक वर्षमा प्रोग्रेस रिपोर्टको क्रम संख्या ८ हजार १ सय ३८ ले बढेको देखिन्छ । त्यति बेला कानुन पढेका जानकारहरूका अनुसार यति छोटो अवधिमा त्यति धेरै विद्यार्थीको चाप कुनै हालतमा सम्भव थिएन । ल क्याम्पसका एक अध्यापकले भने, ‘दुवै प्रोग्रेस रिपोर्टमा उल्लिखित क्रम संख्यामध्ये एउटा गलत हुन सक्छ । दुइटै सही कुनै हालतमा हुन सक्दैनन् ।’ उक्त कागजातको दायाँपट्टिसमेत अंक लेखिएको छ । पराजुलीकोमा ११८ र जोशीको रिपोर्टमा ४६ लेखिएको छ । दुवै कागजातमा त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रेसन नम्बरको ढाचा र स्वरुपसमेत मिल्दैन । जोशीको रजिष्ट्रेसन नम्बर २९-५०-०३ र अर्को वर्षको गोपाल पराजुलीको रजिष्ट्रेसन नम्बर ३१-५२३६४७-१ उल्लेख छ ।




सुनुवाइमा सांसद भट्टराईले शैक्षिक प्रमाणपत्रबारे उठेका प्रश्नमा स्पष्ट पार्न आग्रह गरेका थिए । ‘अलगअलग परीक्षा र पछि शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर कसरी रह्यो, सधै प्रधानन्यायाधीशहरुमा यस्तो किन हुन्छ ?’ उनले सोधे । जवाफमा जोशीले ‘मेरो शैक्षिक प्रमाणपत्रको कुरा उठेकाले यो सभापतिज्यूलाई देखाउन चाहन्छु’ भन्दै समितिको सभापतित्व गरिरहेका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णलाई फोटोकपी बुझाए । ‘पत्रपत्रिकामा जे जस्तो आएका छन्, त्यो होइन,’ उनले भने, ‘मैले यहाँहरूलाई बुझाएको छु, हेर्दा हुन्छ ।’


संसद् सचिवालय स्रोतले उपलब्ध गराएको उक्त कागजात ल क्याम्पसकै ‘प्रोग्रेस रिपोर्ट’ हो जुन गत बुधवार कान्तिपुर दैनिकमै प्रकाशित भएको थियो । उक्त रिपोर्टमा जोशीको प्रवेशिका र त्यसभन्दा अघि विद्यालय तहको सिम्बोल नम्बर एउटै छ । उक्त रिपोर्टले जोशीको प्रमाणपत्रमाथि उठेको प्रश्नको निरुपण गर्दैन । किनभने प्रोग्रेस रिपोर्टमै उल्लिखित ३६६७ नम्बरको सिम्बोल नम्बर दुईतिर भेटिएको भन्दै प्रश्न उठेको थियो ।


जोशी र पराजुलीका प्रोग्रेस रिपोर्टमा केही विषयवस्तु हुबहु मिलेका छन् । जस्तो कि भर्नाका लागि आवश्यक न्यूनतम योग्यता भर्नुपर्ने ठाउँमा जोशीले नेपाल राष्ट्रिय विद्यापीठको छोटो रुप एन.आर.भी. उल्लेख गरेका छन् । दुवैले क्लास उल्लिखित ठाँउमा रोमन लिपिमा तीन लेखेका छन् । दुवैले २०२९ सालमा प्रवेशिका दिएको खुल्छ ।


जोशीले विजय मेमोरियल स्कूलकै प्रमाणपत्रका आधारमा प्रवेशिका दिएकाले सिम्बोल नम्बर एउटै भएको कान्तिपुरलाई बताएका थिए । शनिबार भने जोशीको सचिवालय स्रोतले प्रवेशिकामा उल्लिखित सिम्बोल नम्बर नै स्कुल पढाको विवरणमा राखिएको प्रतिक्रिया दियो । स्रोतले भन्यो, ‘सबैकोमा यस्तै हुन्थ्यो । गोपाल पराजुलीकोमा पनि यसभन्दा फरक थिएन ।’ जोशीले प्रोग्रेस रिपोर्टमा विजय मेमोरियल स्कुलको नाम लेखेका थिए । कान्तिपुरसँगको प्रतिक्रियामा उनले टेस्ट परिक्षा पास गरेर नेपाल राष्ट्रिय विद्यापीठमा प्रवेशिका दिएको जनाएका थिए । प्रधानन्यायाधीश सचिवालयको दाबीअनुसार विजय मेमोरियलमा बुझाएको बिलदेखि खेलकुदका प्रमाणपत्रसमेत निवासमा सुरक्षित छन् ।


सुनुवाई समिति सचिवालय स्रोतका अनुसार परीक्षा नियन्त्रण कार्यालयको अभिलेखमा जोशीले उल्लेख गरेको सिम्बोल नम्बरमा अर्कै मानिसको नाम भेटिएको सूचना आएको छ । जोशीले आफ्नो प्रमाणपत्र अनावश्यक विवादमा तान्न खोजिएको प्रतिक्रिया दिए । ‘जथाभाबी लेखेर मलाई दु:ख दिने काम भयो,’ उनले भने, ‘संसदीय समितिमै कागजात पेस गरिसकेको छु । बजारमा अनावश्यक विवाद खडा गरिएको महसुस हुँदै छ ।’

प्रकाशित : श्रावण १२, २०७५ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?