कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्राविधिक नहुँदा पुनर्निर्माण प्रभावित

विमल खतिवडा

अर्खौले (खोटाङ) — इन्जिनियर सुनील यादवले हलेसी तुवाचुङ नगरपालिकाको भूकम्प प्रभावित ३ वटा वडा ५ महिनासम्म एक्लैले हेरे । ३ वडामा गरेर भूकम्पबाट घर भत्किएका ३ सय ८८ परिवार छन् । भौगोलिक विकटताले गर्दा सबै ठाउँमा पुग्न समस्या छ । स्थानीयले खोजेको बेला इन्जिनियर भेटदैनन् । वडा नम्बर ९ को सल्ले, १० को अर्खौले र ११ को राजापानी उनको कार्य क्षेत्रभित्र पर्छ ।

प्राविधिक नहुँदा पुनर्निर्माण प्रभावित

‘प्राविधिक पुग्न ढिलो हुँदा घर निर्माणमा समेत ढिलाइ भइरहेको छ,’ उनले भने । एउटा वडामा १ इन्जिनियर, १ सब इन्जिनियर र १ असिस्टेन्ट इन्जिनियर गरी ३ जना प्राविधिक आवश्यक पर्छ । तर ११ वटा वडामा ७ जना मात्रै प्राविधिक छन् । जेठमा मात्र थप एक जना इन्जिनियर आएका छन् । ‘एक्लैले ५ महिना काम गरें, नयाँ साथी जेठमा आए पनि उनलाई काम र ठाउँबारे सिकाइरहेको छु,’ उनले भने, ‘भौगोलिक विकटताले गर्दा समयमै भूकम्पपीडितसम्म पुग्न गाह्रो छ ।’


वडा ७ का अध्यक्ष चइन्द्र राईले प्राविधिक अभावबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा जानकारी गराएको बताए । ‘प्राविधिक आउनै ढिला भयो,’ उनले भने, ‘पुनर्निर्माणले गति लिन सकेन ।’ कस्तो घर बनाउँदा भूकम्प प्रतिरोधी हुन्छ भन्ने सिकाउने जिम्मोरी प्राविधिकलाई दिइएको छ । केही भूकम्पपीडितले भने प्राविधिक सल्लाह पाए पनि कामदार नपाउँदा समस्या भएको बताए । ‘प्राविधिक सल्लाह पाए पनि कामदार पाउन सकिएको छैन,’ स्थानीय थामबहादुर राईले भने । उनले घर पूरा हुन ५ लाख रुपैयाँ खर्च लाग्ने बताए । खोटाङ भूकम्प कम प्रभावित जिल्लामा पर्छ ।


मेयर इवन राईका अनुसार ११ वटा वडामा १ हजार ७ सय २ भूकम्पपीडित परिवार छन् । ‘हामी निर्वाचित भएर आउँदासम्म एक जना पनि प्राविधिक थिएनन्, त्यो बेलासम्म जिल्लामा पुनर्निर्माण प्राधिकरण नै थिएन, ओखलढुंगाले हेथ्र्यो,’ उनले भने, ‘अहिले पनि प्राविधिकको अभाव छ ।’ घर कस्तो बन्यो, भूकम्प प्रतिरोधी छ/छैन हेरेर प्राविधिकले सिफारिस नगर्दा दोस्रो र तेस्रो किस्ता लिन समस्या परेको स्थानीयको गुनासो छ ।

एउटा वडामा १ इन्जिनियर, १ सब इन्जिनियर र १ एसिस्टेन्ट इन्जिनियर गरी ३ जना प्राविधिक आवश्यक पर्छ तर हलेसी तुवाचुङ नगरपालिकाका ११ वटा वडामा ७ जना मात्रै प्राविधिक छन् ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका १ र २ मा पनि यस्तै समस्या छ । त्यहाँ एक जना इन्जिनियरले २ वडा हेरिरहेका छन् । १ मा २ सय ४१ र २ मा १ सय ४ परिवार भूकम्पपीडित छन् । ‘एक जना मात्र इन्जिनियर हुँदा लाभग्राहीले बोलाएको समयमा पुग्न समस्या छ,’ वडा २ का सचिव माधवप्रसाद भट्टराईले भने, ‘चाहिएको समयमा प्राविधिक सल्लाह दिन कठिन भएको छ ।’


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार भूकम्प प्रभावित प्रत्येक जिल्लाका हरेक वडामा इन्जिनियर खटाइएको छ । ‘प्रत्येक वडामा प्राविधिक पठाउने नीति लिएका छौं, केही ठाउँमा अहिले छाड्नुभएको होला, हामी पठाउँछौं,’ उनले भने, ‘खोटाङ र सोलुखुम्बु कम प्रभावित जिल्ला हुन्, त्यहाँका प्रत्येक स्थानीय तहमा एक जना इन्जिनियर खटाउने व्यवस्था गरेका छौं ।’ पाँच सय परिवार भूकम्पपीडित बराबर एकजना प्राविधिक खटाउने नीति रहेको उनले बताए । ‘न्यूनतम मापदण्ड ५ सय लाभग्राही बराबर एक जना प्राविधिक बनाएका छौं,’ उनले भने । पहिला बनाइएका घर सुधार गरेर भूकम्प प्रतिरोधी बनाए त्यहीअनुसार लाभग्राहीले रकम पाउने उनले जानकारी दिए ।

प्रकाशित : श्रावण ८, २०७५ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?