१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

प्रधानन्यायाधीशको सुनुवाइ बिहीबार

काठमाडौँ — संघीय संसद्को संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको सुनुवाइ आगामी बिहीबार गर्ने भएको छ । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले साउन १० (बिहीबार) मा सुनुवाइ गर्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीशको सुनुवाइ बिहीबार

समितिले जोशीविरुद्ध परेका उजुरीमाथि सोमबारबाटै छानबिन सुरु गरेको छ । जोशीविरुद्ध ५ वटा उजुरी परेका छन् । उजुरीमध्ये दुइटा बेनामी छन् । समितिले उजुरीको यथार्थ बुझ्न मंगलबार उजुरीकर्तासँग छलफल गर्ने निर्णय गरेको जानकारी समिति सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले दिए ।

आफ्नो नाम खुलाई उजुरी दिएका उजुरीकर्ताले जोशीले जग्गा र क्यासिनो मुद्दामा विवादास्पद फैसला गरेको र छोराछोरीको बिहेमा अत्यधिक खर्च गरेको दाबी गर्दै उनलाई प्रधानन्यायाधीश बनाउन नहुने उल्लेख गरेका छन् । समितिको यसअघिको बैठकले जोशीमाथि सुनुवाइ प्रक्रिया सुरु गरी उनीविरुद्ध गुनासो र उजुरी भए संसद् सचिवालयमा दिन सार्वजनिक आहान गरेको थियो ।

संविधानत: संसदीय सुनुवाइ समितिको दुई तिहाइले मात्र संवैधानिक परिषदबाट सिफारिस भएका व्यक्तिलाई अस्वीकृत गर्न सक्छ । एक तिहाइभन्दा बढीले समर्थन गरेमा नाम अनुमोदन हुन्छ । दुई तिहाइको समर्थनप्राप्त प्रधानमन्त्री केपी ओली अध्यक्ष र प्रतिपक्षी दल कांग्रेसका नेता शेरबहादुर देउवासमेत सदस्य रहेको संवैधानिक परिषदले जोशीको नाम सिफारिस गरेकाले उनको नाम अस्वीकृत हुने सम्भावना छैन ।

संसदीय सुनुवाइबाट जोशीको नाम अनुमोदन भएपछि राष्ट्रपति विद्या भण्डारीले उनलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछिन् । २०११ असोज २४ मा जन्मेका उनी २०७६ असोज २३ सम्म प्रधानन्यायाधीश हुनेछन् ।

प्रकाशित : श्रावण ८, २०७५ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?