१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कर्णाली मन्त्रिपरिषद् बैठक : गृहमन्त्रीको नेतृत्वमा बाढीपीडितका समस्या समाधान समिति

प्रकाश अधिकारी

सुर्खेत — चार वर्ष अघिको बाढीपहिरोबाट विस्थापित समुदायको पुनर्स्थापनाका लागि कर्णाली प्रदेश सरकारले उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले प्रदेशका गृह अर्थात् आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको हो ।

कर्णाली मन्त्रिपरिषद् बैठक : गृहमन्त्रीको नेतृत्वमा बाढीपीडितका समस्या समाधान समिति

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाका अनुसार समितिमा यज्ञप्रसाद ढकाल, खड्कबहादुर विक, ललितजंग महत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव, आर्थिक मामिला मन्त्रालयका सचिव, उद्योग, पर्यटन वन तथा वातावरण, भूमि व्यवस्था तथा कृषि, भौतिक पूर्वाधार र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवहरु सदस्य रहेका छन् ।


समितिले कार्यविधि निर्माण गरेर बाढीपीडित परिवारलाई राहत तथा पुनर्स्थापनाका लागि दीर्घकालीन कार्ययोजना तयार पार्नेछ । प्रदेश सरकारले सुर्खेतका बाढीपीडितको पुनर्स्थापनाका लागि ठोस कार्यक्रम सञ्चालन गर्न नसकेको भन्दै आलोचना हुँदै आएको थियो । यसवर्ष प्रदेश सरकारले १० वटै जिल्लाका आगजनी, बाढीपहिरो पीडितको पुन:स्थापनाका लागि ७ करोड बजेट छुट्याइसकेको छ ।

बैठकले कर्णाली सरकारको आफ्नै प्रतीक चिहन् निर्माण गर्ने निर्णय गरेको छ । प्रदेशसभाले भने आफ्नै प्रतीक चिहन् बनाइसकेको छ । सरकारले नेपालको नक्सा, झन्डा, कर्णाली प्रदेशको नक्सा आउने गरी प्रतीक चिहन् बनाउने भएको हो । त्यस्तै, बैठकले निर्माण व्यवसाय, खरिद प्रक्रियामा देखिएका समस्या समाधान गर्न सार्वजनिक खरिद ऐनको मस्यौदा तयार पार्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ ।

प्रकाशित : श्रावण ६, २०७५ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?