१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

केसी समर्थकद्वारा प्रधानमन्त्री र शीर्ष नेताहरुलाई एसएमएस र टेलिफोन

विद्या राई

काठमाडौँ — डा. गोविन्द केसीको समर्थनमा वसन्तपुर डबलीमा सुरु भएको सामूहिक सत्याग्रहका सहभागीले प्रधानमन्त्री केपी ओली र सत्तापक्षका शीर्ष नेताहरुलाई टेलिफोन तथा एसएमएस गरी ध्यानाकर्षण गराएका छन् ।

केसी समर्थकद्वारा प्रधानमन्त्री र शीर्ष नेताहरुलाई एसएमएस र टेलिफोन

नेतृत्वपंक्तिलाई उत्तरदायी बनाउन टेलिफोन तथा एसएमएसमार्फत ध्यानाकर्षण गराएको सांसद तथा डा. केसी समर्थक विराज भट्ट श्रेष्ठले बताए । उनीहरुले प्रधानमन्त्री ओलीलाई पहिलोपटक टेलिफोन गर्दा व्यस्त भएको जानकारी दिएका थिए । दोस्रोपटक प्रयास गर्दा स्वकीय सचिवले उठाएर ‘रङ नम्बर’ भनेका थिए ।

तेस्रो पटकदेखि ‘कल डाइभर्ट’ भएको डा. केसी समर्थक प्रितम सुवेदीले बताए । ‘हामीले सचिवालयबाट टेलिफोन नम्बर लिएका थियौं, फोन नउठाउने अनेक बहाना भए,’ उनले भने । प्रधानमन्त्रीसँग फोन सम्पर्क नभएपछि उनीहरुले ‘हामीले कहिलेसम्म अनशन बस्नुपर्ने हो ?’ भनेर एसएमएस गरेका थिए । त्यसको उत्तर भने अझै नआएको उनीहरुको भनाइ रहेको छ ।


नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पनि टेलिफोन र एसएमएसको जवाफ दिएका छैनन् ।


शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई फोन गरी प्रधानमन्त्रीलाई गरेकै प्रश्न सोधेका थिए । पोखरेलले ‘जहाँ जसका लागि बस्नुभएको छ, उसैलाई सोध्नुहोस्,’ भन्ने जवाफ दिएर बीचैमा फोन काटेको सुवेदीले बताए ।

‘सोलिडारिटी फर डा. केसी अलायन्स’ को आयोजनामा आइतबार बिहान १० बजेबाट सुरु सत्याग्रहमा प्रा.डा. केदारभक्त माथेमा, अधिवक्ता ओमप्रकाश अर्याल, कृष्ण पहाडीलगायत ७० बढी नागरिक समाजका अगुवाहरुको सहभागिता छ ।

सत्याग्रहमा ऐक्यबद्धता जनाउन कांग्रेस र विवेकशील साझा पार्टीका नेताहरु पनि पुगेका छन् ।

प्रकाशित : श्रावण ६, २०७५ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?