कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

घर बनाउन किनेको पानी

भूकम्पपीडित
विमल खतिवडा

हलेसी (खोटाङ) — हलेसी तुवाचुङ नगरपालिका ७, कात्तिकेका बडीराज राई एक रुपैयाँ लिटरका दरले पानी किनेर घर ठड्याउँदै छन् । उनलाई ढुंगाको पनि उस्तै समस्या छ । भूकम्पले घर भत्किएको ३ वर्ष पुग्दा पनि पुनर्निर्माण गर्न सकेका छैनन् । ‘पानीको हाहाकार छ, ढुंगा पनि पाइँदैन,’ उनले भने ।

घर बनाउन किनेको पानी

पानी अभाव उनको मात्र होइन, सिंगै गाउँको समस्या हो । ‘पिउने पानीसमेत छैन,’ स्थानीय थामबहादुर राईले भने, ‘पानी अभावले गर्दा निर्माणमा ढिलाइ भएको हो ।’ उनले असार लागेपछि मूल फुटेकाले घर बनाउन थालेको बताए । उनले घरको डीपीसी मात्र उठाएका छन् । ‘३ वर्षदेखि पानीको समस्या छ,’ पहिलो किस्ताको ५० हजार बुझेका थामबहादुरले भने, ‘घर पूरा हुन ५ लाख लाग्ने अनुमान गरेको छु ।’ हलेसी क्षेत्रमा भूकम्पपछि खानेपानीको समस्या थपिएको स्थानीयको बुझाइ छ । घन्टौं टाढाका कुवा, खोला र धाराबाट पानी ल्याउनुपर्ने बाध्यता छ ।

आइतबहादुर विकले घर पुनर्निर्माणका लागि दोस्रो किस्ता बुझे । तर निर्माण डीपीसीमै अड्किएको छ । ‘सधैं पानीकै पीर छ,’ उनले भने, ‘खानेपानी छैन, घर बनाउन कहाँबाट ल्याउनु ?’ यो समस्या हलेसी मन्दिर क्षेत्रमा बढी छ । भौगोलिक विकटता छ । नगरपालिकाका मेयर इवन राईका अनुसार वडा नम्बर ८ धितुङका ४ परिवार खानेपानी अभावले बसाइँ सर्न बाध्य भएका छन् । ‘नगरपालिकाका १ देखि ७ वडा सुक्खा क्षेत्रभित्र परेका छन्,’ उनले भने, ‘ती वडालाई मध्यनजर गर्दै कोसीको पानी लिफ्टिङमार्फत ल्याउने गरी टेन्डर भइसकेको छ ।’

राईका अनुसार भूकम्पपीडितले घरछेउ ठूलो खाल्डो बनाएर वर्षाको पानी जम्मा गरेका छन् । त्यही पानीले घर बनाउने तयारी गरेका छन् । उनले खानेपानी वितरण गर्न नगरपालिकाले ट्यांकर व्यवस्था गरेको बताए । नगरपालिकाले स्थानीयले पानी लिएबापत ट्यांकरलाई तेल भाडा दिने गरेको जनाएको छ । अधिकांशले एक रुपैयाँ लिटरमा पानी लिने गरेको बताए ।

‘हामी कार्यविधि बनाउँदै छौं,’ मेयर राईले भने, ‘त्यसपछि प्रतिलिटर पानीको ३० देखि ३५ पैसा पर्नेछ ।’ उनका अनुसार ०७१ सालमा सरकारको नीति तथा कार्यक्रममार्फत हलेसीलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको थियो । १ देखि ७ वडामा करिब २० हजार जनसंख्या छ जसमध्ये ५० प्रतिशतले पानी किनेर घर बनाउनुपर्ने बाध्यता रहेको राईले बताए । यहाँका ११ वटा वडामध्ये १० वटामा कोसी बग्छ । तर, अहिले कोसीको पानी लिफ्टिङ माध्यमबाट वितरण गर्न स्रोतसाधन छैन ।

छिमेकी जिल्ला ओखलढुंगामा पनि यही समस्या छ । सिद्धिचरण नगरपालिका २ निशंखेका श्यामकुमार कटवालले अहिलेसम्म एक किस्ता मात्र पाएका छन् । दोस्रो किस्ताका लागि निवेदन दिइसकेका छन् । दुईतले घर बनाउने तयारीमा रहेका उनले ठूलो समस्या पानीकै रहेको बताए । ‘अहिलेसम्म पानीको मात्र १८ हजार तिरिसकें,’ उनले भने, ‘ट्याक्टरमा हिल ट्यांकमा राखेर पानी ल्याउने गरिएको छ, एक लिटरको १ रुपैयाँ पर्छ ।’ उनका अनुसार ६ किमि टाढा छरछरेबाट हिलटेकमा पानी भरेर ट्याक्टरमा ल्याउने गरिएको छ ।

यो समस्या सिंगो वडाभरि छ । ‘वडाका सबै गाउँमा पानी किन्नु र बोक्नुपर्ने बाध्यता छ,’ २ नम्बर वडासचिव माधवप्रसाद भट्टराईले भने, ‘१ सय ३ लाभग्राहीमध्ये ५० जनाले यो समस्या झेल्नुपरेको छ ।’ पानी अभावले गर्दा भूकम्पपीडितले समयमै निर्माणको काम सक्न पाएका छैनन् । अधिकांशले घर बनाउन वर्षात कुरेर बस्नुपर्‍यो । ‘मुहान तल छ, बस्ती माथि छ,’ भट्टराईले भने, ‘जसले गर्दा गाउँलेसामु पानी बोक्नु र किन्नुको विकल्प छैन ।’

प्रकाशित : श्रावण ६, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?