कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

केसीको पक्षमा प्रबुद्ध समुदाय

काठमाडौँ — डा. गोविन्द केसी अनशनको २२ औं दिन शनिबार राजधानीमा नागरिक समाजका प्रबुद्ध व्यक्तिहरूले उनका मागको समर्थनमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् । ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ को आह्वानमा माइतीघर मण्डलाबाट जुलुस निकाली नयाँ बानेश्वरमा कोणसभा गरियो ।

केसीको पक्षमा प्रबुद्ध समुदाय

त्यसमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वउपकुलपति केदारभक्त माथेमा, मानव अधिकारकर्मी कृष्ण पहाडी, अभिनेत्री मनीषा कोइराला, श्याम श्रेष्ठ, रवीन्द्र मिश्रलगायत सहभागी थिए । प्रदर्शनकारीले ‘सत्याग्रही डा. गोविन्द केसीको माग पूरा गर’, ‘हाम्रो स्वास्थ्य हाम्रो हातमा’, ‘हामी डा. केसीको साथमा’ जस्ता नारा लगाएका थिए ।

कोणसभामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डा. केसीका माग सर्वसाधारणका पक्षमा भएकाले पूरा गर्न सरकारलाई आग्रह गरिन् । ‘उनका मागबारे सरकारले बुझ पचाएर नजानेजस्तो गरे पनि जनताले बुझेका छन्,’ उनले भनिन्, ‘आमजनता त्यसै सडकमा आएका होइनन् । यी सरकारका विरोधी होइनन् । सरकार खसोस् भन्ने पनि हाम्रो कुरा होइन । तर सरकारले जनताले भनेको मान्नुपर्छ । नत्र अलोकप्रिय हुन्छ । डा. केसीको माग पूरा नभए देशमा आगो बल्छ ।’

मानव अधिकारकर्मी कृष्ण पहाडीले समयमै माग सम्बोधन नगरे यो आन्दोलन सामूहिक सत्याग्रह र गिरफ्तारीमा जान सक्ने चेतावनी दिए । पहाडीले २०६२/६३ को आन्दोलन पनि यसैगरी सुरु भएको बताउँदै त्यसको परिणाम सम्झिन आग्रह गरे । लेखक खगेन्द्र संग्रौलाले चिकित्सा क्षेत्रका व्यापारीसँगै उभिएर प्रधानमन्त्री केपी ओली र नेता पुष्पकमल दाहालले आफ्नो नाक काटेको आरोप लगाए ।

सरकारले सत्याग्रहीको माग नसुन्ने चेष्टा गरेको भन्दै उनले प्रश्न गरे, ‘के सरकार डा. केसीको मृत्युको प्रतीक्षामा छ ?’ नेकपाका सदस्य गौतम राईले डा. केसी जनताका लागि लडिरहेको व्यक्ति भएको बताउँदै उनले भने, ‘ओली र दाहाल सत्तामा बसेर प्रहसन गर्दैछन् ।’ डा. विशद दाहालले जुम्ला अस्पतालमा अत्यधिक बल प्रयोग भएको र प्रहरीले सहकर्मीको मृत्यु भएको झूटो खबर फैलाएपछि नरसंहार हुन नदिन केसी काठमाडौं जान तयार भएको उल्लेख गरे । ‘जुम्ली आमाहरूले गहभरि आँसु पार्दै डा. केसीलाई माला लगाइदिएर बिदाइ गरे,’ उनले भने ।

सामूहिक सत्याग्रह
कोणसभाअघि प्रदर्शनकारीहरूले हातमा लिएका रंगीचंगी बेलुन उडाएका थिए । कार्यक्रम सञ्चालक अधिवक्ता ओमप्रकाश अर्यालले मेडिकल माफियाको प्रतीकका रूपमा बेलुन उडाइएको बताए । प्रदर्शनकारीहरूले सरकारको स्वेच्छाचारिता र अनशनप्रतिको सरकारी दृष्टिकोणको विरोध गरेका थिए । उनीहरूले ‘यो सरकार कस्तो छ, श्री ३ जस्तो छ’, ‘हरेक प्रदेशमा सरकारी कलेज, चाहिएन नेताहरूको निजी कलेज’, ‘रैती होइन म नागरिक हुँ’, ‘ध्यान उनको कुर्सीमा, समाजवाद बिक्यो मार्सीमा’ जस्ता नारा लेखिएका टोपी लगाएका थिए ।

तरुण दलको प्रदर्शनमा झडप
बानेश्वर चोकमा डा. केसी समर्थकको शान्तिपूर्ण सभा सुरु हुँदै थियो । तरुण दलले अगुवाइ गरेको जुलुस माइतीघर मण्डलाबाट त्यतैतिर सोझियो । बबरमहलमा प्रहरीले रोक्न प्रयास गर्‍यो । जुलुस ठूलो भएकाले प्रहरीले त्यहाँ रोक्न सकेन । डा. केसी समर्थकको सभा एभरेस्ट होटल अगाडि बायाँ लेनतर्फको सडकमा चल्दै थियो ।

तरुण दलको जुलुस पनि त्यही सभामा मिसिन खोजेझैं अघि बढ्यो । सभाभन्दा करिब डेढ सय मिटर वर प्रहरीले जुलुसलाई रोक्ने प्रयास गर्‍यो । मूल सडकबाट अघि बढ्न नदिएपछि जुलुस दाहिने लेनतर्फ मोडियो । बानेश्वर चोक नजिकै अन्तिम निषेधित क्षेत्र तोड्ने क्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भयो । निषेधित क्षेत्र तोडेर अघि बढ्न चाहेपछि प्रहरीले लाठीचार्ज गर्‍यो । प्रदर्शनकारीतर्फबाट इँटा, ढुंगा प्रहार भएपछि प्रहरीले अश्रुग्यास छाड्यो ।

झडपले करिब आधा घण्टा बानेश्वर, बिजुलीबजार र बबरमहल क्षेत्र तनावग्रस्त बन्न पुग्यो । प्रहरीले प्रहार गरेको अश्रुग्यासको प्रभाव केसीको समर्थनमा भएको सभास्थलसम्मै पर्‍यो । केहीबेर सभाका सहभागीको भागदौड मच्चियो । सभालाई सम्बोधन गर्न आएकी अभिनेत्री मनीषा कोइराला अश्रुग्यासको पीडा सहन नसकेपछि बाहिरिइन् । प्रहरीले केसी समर्थकको शान्तिपूर्ण सभालाई भने बिथोलेन । झडप चलिरहँदा पनि सभा रोकिएन ।

झडपमा प्रहरी निरीक्षक खेम नेपालसहित दर्जन प्रहरी र तरुण दल अध्यक्ष जितजंग बस्नेतसहित दर्जनौं आन्दोलनकारी घाइते भएका छन् । आन्दोलनकारीले प्रहरी निरीक्षक नेपालको घाँटीमा रडले हानेको प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोख्रेलले बताए । एसएसपी पोख्रेलका अनुसार आन्दोलनकारीले उनलाई नियन्त्रणमा लिएर प्रहार गरेका थिए । उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीका अनुसार अध्यक्ष बस्नेतसहित ५४ जना तरुण दलका नेता तथा कार्यकर्ता घाइते भएका छन् । बस्नेतको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । घाइतेमध्ये धेरैजसो सिभिल र एभरेस्ट अस्पतालमा उपचार भई घर फर्केका छन् । प्रहरी परिसर काठमाडौंका अनुसार दरबारमार्ग वृत्तका डीएसपी दानबहादुर मल्ल र कमलपोखरी वृत्तका डीएसपी कुलदीप चन्द सामान्य घाइते भएका छन् । परिसरले घाइते भएका ८ जवान र हवल्दार उपचारपछि फर्केका छन् । तरुण दलका महासचिव शाहीका अनुसार डा. केसी समर्थकको सभामा सहभागी हुने नभई बानेश्वर चोकमा छुट्टै कोणसभा आयोजना गर्ने कार्यक्रम तरुण दलको थियो ।

सम्बोधनका लागि पार्टी संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड र राष्ट्रिय सभा संसदीय दलका नेता सुरेन्द्र पाण्डे जुलुससँगै पुगेका थिए । ‘काँडेतारबाट अघि बढेरै कोणसभा गर्ने योजना थियो,’ शाहीले भने, ‘प्रहरीले हस्तक्षेप गरेपछि सम्भव भएन ।’ शाहीले प्रहरी हस्तक्षेपविरुद्ध आइतबार देशभर विरोध प्रदर्शन गरिने बताए ।

प्रहरीका अनुसार प्रदर्शनकारीले पार्किङमा राखेका मन्त्रीका तीनवटा गाडीमा समेत क्षति पुर्‍याएका छन् । उनका अनुसार प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले २३ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । एसएसपी पोख्रेलले उत्तेजित प्रदर्शनकारीले प्रहरीको हतियार सेट खोस्न खोजेको बताए ।

घटनालगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई भेटेर तत्काल केसीको माग सम्बोधन नगरे आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् । उच्चस्तरीय कार्यदल बनाउँदा तत्कालीन एमाले र आफ्नो नेतृत्वको सरकारले ल्याएको अध्यादेशमा तत्कालीन माओवादी केन्द्र सामेल रहेको पृष्ठभूमि जोडदै देउवाले पुरानै अध्यादेशलाई विधेयकका रूपमा ल्याउन ओलीको ध्यानाकर्षण गराए । ‘केसीको जीवन जोखिममा परिसकेको छ, तपाईंले माग पूरा गर्नुभएन भने हामी संघीय र प्रदेश संसद्समेत चल्न दिँदैनौं, सडकमा पनि सबैलाई लिएर आन्दोलन चर्काउँछौं,’ देउवाको भनाइ उद्धृत गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

प्रधानमन्त्रीले जवाफमा संसदीय प्रक्रियामा अघि बढेको विधेयक नरोक्न कांग्रेसलाई आग्रह गरेका थिए । ‘संसद्बाट सहमति खोज्नुपर्छ, एउटा व्यक्तिको अनशनले संसद्लाई बन्धक बनाउन हुन्न,’ उनको भनाइ थियो ।

कांग्रेसद्वारा भत्र्सना
तरुण दलको जुलुसमा प्रहरीले हस्तक्षेप गरेको भन्दै कांग्रेसले भत्र्सना गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा संसद् बैठक ८ दिनपछि सार्ने र सडक प्रदर्शनमा पनि दमन गर्ने सरकारको नियत समस्या समाधान गर्नेतर्फ नभएको भन्दै भत्र्सना गरिएको छ । ‘कांग्रेस नेतृत्वको सरकारले जारी गरेको चिकित्सा अध्यादेश नै समस्याको वास्तविक समाधान हो भन्नेमा हामी प्रस्ट छौं,’ कांग्रेसले भनेको छ, ‘त्यसलाई हुबहु विधेयकका रूपमा ल्याउनु नै डा. केसीका मागको समाधान हो ।’ उसले डा. केसीको जीवन रक्षा र माग सम्बोधन गर्ने विषयमा सरकार गैरजिम्मेवार भएको बताएको छ । ‘चिकित्सा विधेयक, चर्को मूल्यवृद्धि, संविधानको कार्यान्वयन, निषेधाज्ञालगायत मुद्दाहरूमा आन्दोलन जारी छ,’ कांग्रेसले भनेको छ, ‘रबैया यस्तै रहे अधिनायकवादउन्मुख सरकारविरुद्ध अझै प्रभावकारी र एकीकृत आन्दोलनको ज्वारभाटा झेल्नुपर्नेछ ।’

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले छुट्टै विज्ञप्ति निकाल्दै तरुण दलको जुलुसमाथि बल प्रयोग गरी सरकारले अधिनायकवादउन्मुख चरित्र प्रदर्शन गरेको बताएका छन् । ‘डा. केसीको जीवन जोखिममा पर्दै गएको छ र उहाँको माग सुनुवाइ नगरेर सरकार संवेदना शून्य देखिएको छ,’ पौडेलले भनेका छन्, ‘तत्काल वार्ता गर्ने, माग पूरा गर्ने र केसीको जीवन रक्षा गर्ने सन्दर्भमा देशव्यापी रूपमा आन्दोलनको भावना बढिरहेका बेला त्यसलाई नजरअन्दाज गरेर सरकार रोम जल्दा निरोले बाँसुरी बजाएको मुद्रामा देखिएको छ ।’

डा. गोविन्द केसीको समर्थनमा आइतबारदेखि वसन्तपुर डबलीमा आमनागरिकको सहभागितामा सामूहिक सत्याग्रह हुने भएको छ । सोलिडारिटी फर डा. केसी अलायन्सले गर्न लागेको सत्याग्रह बिहान १० देखि साँझ ५ बजेसम्म जारी रहने छ ।

सामूहिक सत्याग्रह
डा. गोविन्द केसीको समर्थनमा आइतबारदेखि वसन्तपुर डबलीमा आमनागरिकको सहभागितामा सामूहिक सत्याग्रह हुने भएको छ । सोलिडारिटी फर डा. केसी अलायन्सले गर्न लागेको सत्याग्रह बिहान १० देखि साँझ ५ बजेसम्म जारी रहने छ ।
माग पूरा नभए आगो बल्छ
– सुशीला कार्की, पूर्वप्रधानन्यायाधीश
...


२०६२/६३ को आन्दोलन पनि यसरी नै भएको हो, परिणाम सम्झिनुस्
– कृष्ण पहाडी, मानव अधिकारकर्मी
...


के सरकार केसीको मृत्युको प्रतीक्षामा छ ?
– खगेन्द्र संग्रौला, लेखक

प्रकाशित : श्रावण ६, २०७५ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?