कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

केसीको समर्थनमा एकातर्फ नागरिक अगुवाको भद्र प्रदर्शन, अर्कोतर्फ तरुण दलको उग्र प्रदर्शन

देउवाले प्रधानमन्त्रीलाई भने– तत्काल माग सम्बोधन नभए थप आन्दोलन चर्काउँछौं

काठमाडौँ — चिकित्सा शिक्षा र सेवा सुधारका लागि २२ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा बृहत प्रदर्शन भएको छ ।

केसीको समर्थनमा एकातर्फ नागरिक अगुवाको भद्र प्रदर्शन, अर्कोतर्फ तरुण दलको उग्र प्रदर्शन
‘सोलिडारिटी फर डा. केसी अलायन्स’ को आह्वानमा शनिबार राजधानीको माइतीघर मण्डलाबाट निस्केको जुलुसमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, अभिनेत्री मनीषा कोइराला, मानवअधिकारकर्मी कृष्ण पहाडी, खगेन्द्र संग्रौलासहित विभिन्न पेसा, व्यवसायमा आबद्ध र नागरिक समाजका हजारौं अगुवाको सहभागिता थियो ।


प्रदर्शनकारीले ‘सत्याग्रही डा. गोविन्द केसीको माग पूरा गर’, ‘हाम्रो स्वास्थ्य हाम्रो हातमा’, ‘हामी डा. केसीको साथमा’ जस्ता नारा लगाएका थिए । जुलुस बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो ।


‘सोलिडारिटी फर डा. केसी अलायन्स’ को प्रदर्शन सुरु भएको केही समयपछाडि नै केसीले उठाएका मागप्रति ऐक्यबद्धता जनाउँदै प्रमुख प्रतिपक्षी कांग्रेसको भातृसंस्था तरुण दलले निकालेको जुुलुसमा झडप भएको छ । झडपमा प्रहरी र आन्दोलनकारी दुवैतर्फका दर्जनौं घाइते भएका छन् ।


घटनालगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई भेटेर तत्काल केसीको माग सम्बोधन नगरे आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् । उच्चस्तरीय कार्यदल बनाउँदा तत्कालीन एमाले र आफ्नो नेतृत्वको सरकारले ल्याएको अध्यादेशमा तत्कालीन माओवादी केन्द्र सामेल रहेको पृष्ठभूमि जोडदै देउवाले पुरानै अध्यादेशलाई विधेयकको रूपमा ल्याउन ओलीको ध्यानाकर्षण गराए ।


‘केसीको जीवन जोखिममा परिसकेको छ, तपाईंले माग पूरा गर्नुभएन भने हामी संघीय र प्रदेश संसदसमेत चल्न दिँदैनौं, सडकमा पनि सबैलाई लिएर आन्दोलन चर्काउँछौं’, देउवाले प्रधानमन्त्रीसँग भनेको उद्धृत गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।


प्रधानमन्त्रीले जवाफमा संसदीय प्रक्रियामा अघि बढेको विधेयक नरोक्न कांग्रेसलाई आग्रह गरेका थिए । ‘संसदबाट सहमति खोज्नुपर्छ, एउटा व्यक्तिको अनशनले संसदलाई बन्धक बनाउन हुन्न’ प्रधानमन्त्रीको भनाई थियो ।


यसरी भयो बानेश्वरमा झडप
बानेश्वर चोकमा डा केसीका समर्थकहरुको शान्तिपूर्णसभा सभा सुरु मात्रै भएको थियो । तरुण दलले अगुवाई गरेको जुलुस माईतीघर मण्डलाबाट त्यहिँ सभास्थलतिर सोझियो । बबरमहलमा प्रहरीले रोक्न प्रयास गर्‍यो । जुलुस ठूलो भएकाले प्रहरीले त्यहाँ रोक्न सकेन र जुलुश अघि बढ्यो ।


डा. केसी समर्थकको सभा एभेरेष्ट होटल अगाडि बायाँ लेनतर्फको सडकमा चल्दै थियो । तरुण दलको जुलुश पनि त्यही सभामा मिसिने झै गरी अघि बढदै गयो । सभाभन्दा करिब डेढ सय मिटर वर प्रहरीले जुलुशलाई रोक्ने प्रयास गर्‍यो । मूल सडकबाट अघि बढ्न नदिएपछि जुलुश दाहिने तर्फको लेनतर्फ मोडिएर अघि बढ्यो ।


बानेश्वर चोक नजिकै काँडेतारसहित घेरा बनाएर बसेका प्रहरीको अन्तिम निषेधित क्षेत्र तोड्ने क्रममा केही छिन प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भयो । निषेधित क्षेत्र तोडेरै अघि बढने ‘मिसन’ आन्दोलनकारीले लिएपछि प्रहरीले एकैसाथ लाठी चार्ज र अश्रुग्यास हान्न थाल्यो । त्यसपछि आन्दोलनकारीले पनि ढुंगा र इट्टा बर्साउन थाले । प्रहरी र आन्दोलनकारीबीचको झडपले करिव आधा घण्टा बानेश्वर, विजुलीबजार र बबरमहल तनावग्रस्त बन्न पुगेको थियो ।


प्रहरीले प्रहार गरेको अश्रु ग्याँस केसीको सर्मथनमा भएको सभास्थलसम्म आइपुगेको थियो । त्यसपछि केही छिन सभाका सहभागिबीच समेत भागदौड मच्चिएको थियो । सभामा बोल्नका लागि आएकी अभिनेत्री मनिषा कोईराला अश्रु ग्यासको पिरो सहन नसकेपछि बाहिरिएकी थिईन । तरुण दलको जुलुशलाई लखेटेपनि प्रहरीले केसी समर्थनको शान्तिपूर्ण सभालाई विथोलेन । झडप चलीरहदा पनि सभा रोकिएको थिएन ।


प्रहरीले आन्दोलनकारीलाई अश्रु ग्याँस प्रहार गर्दै खेदेको थियो । दोहरो झडपमा प्रहरी नीरिक्षक खेम नेपालसहित एक दर्जन प्रहरी र तरुण दलका अध्यक्ष जितजंग बस्नेतसहित दर्जनौ आन्दोलनकारी घाइते भएका छन । आन्दोलनकारीले प्रहरी नीरिक्षक नेपालको घाँटीमा रडले हानेको प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोख्रेलले बताए । एसएसपी पोख्रेलका अनुसार आन्दोलनकारीले उनलाई नियन्त्रणमा लिएर प्रहार गरेका थिए । नेपालको गुप्तांगमा पनि चोट लागेको छ । उनको सिभिल अस्पतालमा उपचार भईरहेको छ ।


प्रहरी परिसर काठमाडौंका अनुसार दरबारमार्ग बृत्तका डिएसपी दानबहादुर मल्ल र कमलपोखरी वृत्तका डिएसपी कुलदिप चन्द सामान्य घाईते भएका छन । परिसरले घाईते भएका ८ जवान र हवल्दार सामान्य उपचारपछि फर्केका छन । तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीका अनुसार अध्यक्ष बस्नेतसहित ५४ जना तरुण दलका नेता तथा कार्यकर्ता घाइते भएका छन । बस्नेतको टाउको र खुट्टामा गम्भिर चोट लागेको छ । घाइते मध्ये धेरैजसो सिभिल र एभरेष्ट अस्पतालमा उपचार भई घर फर्केका छन ।


तरुण दलका महासचिव शाहीका अनुसार डा. केसीको समर्थकहरुको सभामा सहभागि हुने नभई बानेश्वर चोकमा छुट्टै कोण सभा आयोजना गर्ने कार्यक्रम तरुण दलको थियो । सम्वोधनका लागि पार्टीका तर्फबाट संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड र राष्ट्रिय सभा संसदीय दलका नेता सुरेन्द्र पाण्डे जुलुश संगै पुगेका थिए । कोणसभा गर्ने भनिएको स्थानभन्दा वरै प्रहरीले काँडेतार लगाएर निषेधित क्षेत्र तोकेको थियो । ‘काँडेतारबाट अघि बढेर नै कोणसभा गर्ने भन्दै थियौं’ शाहीले भने,‘प्रहरीले हस्तक्षेप गरेपछि संभव भएन ।’ शाहीले प्रहरी हस्तक्षेपको बिरुद्ध आइतबार देशभर विरोध पदर्शन गरिने बताए ।


प्रहरीका अनुसार प्रदर्शनकारीले पार्किङमा राखेका मन्त्रीका तीनवटा गाडीमा समेत क्षति पुर्‍याएका छन । उनका अनुसार प्रर्दशनकारीलाई नियन्त्रणमा लिन प्रहरीले २३ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । एसएसपी पोख्रेलले उत्तेजित प्रर्दशनकारीले प्रहरीको हतियार सेट समेत खोस्न खोजेको बताए ।


कांग्रेसद्धारा भत्र्सना
तरुण दलको जुलुसमा प्रहरीले गरेको हस्तक्षपको कांग्रेसले भत्र्सना गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञिप्तीमा संसद बैठक ८ दिनपछि सार्ने र सडक प्रदर्शनमा पनि दमन गर्ने सरकारको नियत समस्या समाधान गर्नेतर्फ नभएको भन्दै भत्र्सना गरेको छ ।


‘कांग्रेस नेतृत्वको सरकारले जारी गरेको चिकित्सा अध्यादेश नै आजको समस्याको बास्तविक समाधान हो भन्ने बिषयमा हामी प्रष्ट छौं’ कांग्रेसले भनेको छ, ‘त्यसलाई हुबहु विधेयकको रुपमा ल्याउनु नै डा. केसीको मागको समाधान हो ।’ उसले डा. केसीको जीवन रक्षा र माग सम्वोधन गर्ने विषयमा सरकार गैर जिम्मेबार भएको बताएको छ ।


‘चिकित्सा विधेयक, चर्को मुल्यबृद्धि, संविधानको कार्यन्वयन, निषेधाज्ञालगायतका मुद्दाहरुमा आन्दोलन जारी छ’ कांग्रेसे भनेको छ,‘रवैया यस्तै रहे अधिनायकवाद उन्मुख सरकारका बिरुद्ध अझै प्रभावकारी र एकीकृत आन्दोलनको ज्वारभाटा झेल्नुपर्नेछ ।’


कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले छुट्टै विज्ञप्तिी निकाल्दै तरुण दलको जुलुशमाथि बल प्रयोग गरी सरकारले अधिनायकवाद उन्मुख चरित्र प्रदर्शन गरेको बताएका छन ।


‘डा. केसीको जीवन जोखिममा पर्दै गएको छ र उहाँको माग सुनुवाई नगरेर सरकार संवेदना शून्य देखिएको छ’ पौडेलले भनेका छन, ‘तत्काल वार्ता गर्ने, माग पुरा गर्ने र केसीको जीवन रक्षा गर्ने सन्दर्भमा देशव्यापी रुपमा आन्दोलनको भावना बढीरहेको बेला त्यसलाई नजरअन्दाज गरेर सरकार रोम जल्दा निरोले बाँसुरी बजाएको मुद्रामा देखिएको छ ।’


प्रकाशित : श्रावण ५, २०७५ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?