देउवाद्वारा डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सभापति देउवाले शुक्रबार दिउँसो त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत डा.केसीको स्वास्थ्य अवस्था बुझेको उनको सचिवालय जानकारी दिएको छ ।

देउवाद्वारा डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले डा. केसीको मागप्रति कांग्रेसको ऐक्यबद्धता रहेको बताएका थिए । आफू सरकारमा हुँदा चिकित्सा शिक्षा अध्यादेश जारी गरेको अवगत गराउँदै देउवाले त्यही अनुसार संसद्‌मा दर्ता भएको विधेयक परिमार्जन हुनपर्नेमा कांग्रेस अडिग रहेको केसीलाई विश्वास दिलाएका थिए । 'स्वास्थ्य ठूलो कुरा हो, तपाईंलाई राम्रो हुनुपर्‍यो' सभापति देउवाले भनेका थिए, 'हामीले अध्यादेश अनुसार चिकित्सा शिक्षा विद्येकलाई परिवर्तन गराउन सदन र सडकमा विरोध जारी राखेर सरकारलाई दबाब दिइरहेका छौं ।'


जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनको आमरण अनशनका कारण उनको स्वास्थ्य बिग्रिएपछि सरकारले उपचारका लागि बिहीबार काठमाडौं ल्याएको हो ।


चिकित्सा शिक्षा सुधारको माग गर्दै उनी जुम्लामा असार १६ देखि अनशन बसेका थिए । केसीको माग सुनुवाईबारे भने अझै गहन वार्ता हुन सकेको छैन् । यसअघि केसी पक्षले प्रतिनिधिसभामा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने अडान राखेको र सरकार त्यसमा सहमत नभएपछि वार्ता स्थगन भएको थियो । डा केसीले अधिकारसहितको वार्ता टोलीको पनि माग गरेका छन् ।


सरकारले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । डा केसी र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको अघिल्लो सरकारले ल्याएको १० वर्षसम्म काठमाडौँ उपत्यकामा नयाँ मेडिकल कलेजको सम्बन्धन रोक्काको व्यवस्था भएको चिकित्सा शिक्षा अध्यादेशको मर्मअनुसार नै विधेयक आउनुपर्ने अडान छ भने सरकार विधेयकलाई संसदीय प्रक्रियाबाट टुंगो लगाउने पक्षमा छ ।

प्रकाशित : श्रावण ४, २०७५ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?