३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

स्थानीय तहमा विपद् व्यवस्थापन समिति 

प्रतिक्षा काफ्ले

स्याङजा — जिल्लाका प्रत्येक स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गर्नुपर्ने कानुनी प्रावधान छ । समितिसँगै विपद् व्यवस्थापन कोष र विपद् व्यवस्थापनका लागि स्वयंसेवक गठन गर्नुपर्ने हुन्छ ।

स्थानीय तहमा विपद् व्यवस्थापन समिति 

जस अनुसार स्याङजाका ५ नगर र ६ वटा गाउँपालिकामा विपद् व्यवस्थापन समिति गठन भएका छन् । वर्षात्‌को समय आइपर्ने दैवी प्रकोपलाई मध्यनजर गर्दै कार्यपालिकाहरुले केही महिना अगाडि मात्र समिति गठन गरेको बताएका छन् ।


विपद् व्यवस्थापन समिति र विपद् व्यवस्थापन कोष समिति गठन गरिएको भएपनि ११ वटै स्थानीय तहले विपद् व्यवस्थापनका लागि स्वयंसेवक भने गठन गरेका छैनन् ।


कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश खनाल भन्छन्, ‘हामीले विपद् व्यवस्थापन समिति गतवर्ष नै गठन गरेका हौँ ।


समिति गठन भएसँगै कोषको पनि स्थापना गर्यौ । स्वंमसेवक भने नियुक्ति गरिएको छैन ।’ उनले विपद् व्यवस्थापन कार्यविधि बनाएर नै काम गरेको बताए ।


पुतलीबजार नगरप्रमुख सीमा क्षेत्रीका अनुसार गतवर्ष नै विपद् व्यवस्थापन समिति गठन भएको हो । ‘विपद् व्यवस्थापनका लागि यसवर्ष ३ लाख बजेट विनियोजन गरेका छौँ’ उनले भनिन्, ‘विपद् कोषमा बजेट अड्कल्ने होइन ।


दैवी प्रकोप भनेको जुन समयमा जेपनि हुन सक्छ । हामी यसतर्फ सचेत छौँ ।’ उनले आफ्नो नगर क्षेत्रभित्र भएको दैवी प्रकोप र हुन सक्ने समस्या साथै जोखिम स्थानलाई मध्यनजर गर्दै काम गरेको बताइन ।


यस्तैगरी वालिङ, भीरकोट, चापाकोट र गल्याङ नगरपालिकाले पनि विपद् व्यवस्थापन समिति, विपद् व्यवस्थापन कोष गठन गरेको बताएका छन । हरिनास, विरुवा, अर्जुनचौपारी, आँधीखोला र फेदीखोला गाउँपालिकामा पनि समिति गठन भएका छन् ।


तर कुनैपनि स्थानीय तहले स्वंमसेवक नियुक्ति गरेका छैनन् । वालिङ नगरपालिकाले भने विपद् व्यवस्थापनका लागि आवश्यक उद्धार सामाग्रीसमेत खरिद गरेको बताएको छ ।


यहाँका सबै स्थानीय तहले विपद् व्यवस्थापनको कार्यविधि नै बनाएर समिति गठनसँगै कार्य गर्दै आएको बताएका छन् । विपद् व्यवस्थापन कोषको लागि बजेट नै विनियोजन गरिएको छ ।


जिल्ला प्रशासन कार्यालयले विपद् व्यवस्थापनका लागि उद्धार सामाग्री समेत संकलन गरिसकेको बताएको छ । जिल्ला प्रशासनका प्रशासकीय अधिकृत यादवराज शर्माका अनुसार ४० घरपरिवारलाई पुग्ने उद्धार सामाग्री पूर्वतयारीका साथ संकलन गरिएको छ ।

प्रकाशित : श्रावण २, २०७५ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?